Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधबैंकिङ कसुर मुद्दाका खड्का पक्राउ

बैंकिङ कसुर मुद्दाका खड्का पक्राउ


काठमाडौं ।
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी तेज बहादुर खड्का पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)की प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक गंगा पन्तका अनुसार चितवन रत्ननगर नगरपालिका वडा नं. १३ दयानगर भई हाल ललितपुर महानगरपालिकाको तिखिदेवल वडा नम्बर १४ बस्दै आएका ४४ वर्षीय खड्कालाई मंगलबार तिखिदेवलबाट पक्राउ गरिएको हो ।

‘पक्राउ परेका खड्काउपर उच्च अदालत पाटनको २०७६ असार २३ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा पाँच दिन कैद र २१ लाख रुपैयाँ जरिवाना ठहर गरेको थियो । उक्त सजाय बेरुजु रही फरार रहेका खड्कालाई केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीले ललितपुर तिखिदेवलमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो’, प्रवक्ता पन्तले भनिन् ।

खड्काले २०७५ सालमा आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी झुक्यानमा पारी आफैँले सञ्चालन गर्ने सफायर ट्रेडिङ कम्पनी प्रालि महालक्ष्मीस्थान, ललितपुरको नामबाट सञ्चालित सिभिल बैंक लिमिटेड, शाखा कार्यालय जावलाखेलको खाताबाट भुक्तान हुने गरी विभिन्न मितिका चेकहरू काटी पीडितलाई दिएर बैंकिङ कसुरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनबाट उक्त सजाय हुने गरी फैसला भएको थियो । उनीविरुद्ध अन्जनी नन्दन मारुको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी तेज बहादुर खड्का भएको बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले कैद तथा नगद जरिवानाको फैसला
गरेको थियो ।

प्रवक्ता पन्तका अनुसार पक्राउ परेका खड्कालाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत चितवनमा पेश गरिएको छ । उनीविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसुरमा दफा १५(१) बमोजिम उल्लिखित सजाय हुने गरी फैसला भएको सीआईबीको भनाइ छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया