Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधलाप्राक नमूनाबस्ती निर्माण एक महिनामा सकिने, वैशाख १२ मा हस्तान्तरण

लाप्राक नमूनाबस्ती निर्माण एक महिनामा सकिने, वैशाख १२ मा हस्तान्तरण


काठमाडौं ।
निर्माणाधीन लाप्राक नमूनाबस्तीको निर्माण कार्य एक महिनाभित्र सकिने बताइएको छ । उक्त परियोजनाका सहसंयोजक श्याम तामाङले बस्ती निर्माणसम्बन्धी भएका प्रगतिहरुबारे जानकारी गराउँदै बाँकी काम एक महिनाभित्र सहजै सम्पन्न गर्न सकिने बताए । गैरआवासीय नेपाली संघको प्रतिनिधिमण्डल र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिराम गेलालले निर्माणाधीन लाप्राक नमूनाबस्तीको निरीक्षण भ्रमणसमेत गरेको छ । उक्त बस्ती गैरआवासीय नेपाली संघले निर्माण गरिरहेको छ ।

संघका उपाध्यक्ष तथा परियोजना संयोजक, सोनाम लामाले लाभग्राहीहरुकै अनुरोधमा संघले ‘आफ्नो घर आफैं बनाऔँ’ अभियानअन्तर्गत लाभग्राहीहरुलाई थप आयआर्जनको अवसर प्रदान गर्न सहमतिको दररेटमा कामको जिम्मा दिइएको भएता पनि काम सम्पन्न हुन ढिलाइ भएको बताए । उनले समयमै काम सम्पन्न गर्न पुनः बाहिरबाट कामदारहरु लानुपर्ने अवस्था आएकोमा दुःख व्यक्त गरे ।

संघका संस्थापक अध्यक्ष, डा.उपेन्द्र महतोले, विश्वभर फैलिएका गैरआवासीय नेपालीहरुको सहयोगमा निर्माण भइरहेको नमूनाबस्तीको काम अन्तिम चरणमा पुगेकोमा निर्माण कार्यमा संलग्न हुने र सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरुलाई धन्यवाद दिँदै आवश्यकताअनुसार निर्माणका अन्तिम कामहरुमा सहभागी हुन लाभग्राहीहरुलाई सुझाव दिए । पूर्वअध्यक्ष जीवा लामिछानेले बस्तीको निर्माण कार्यमा केही ढिलाइ हुन गए पनि अब लगभग सकिएकोले घर तथा आँगनको सजिसजावट र निर्माण कार्यमा सहभागी हुने उपयुक्त अवसर भएकोले लाभग्राहीहरुलाई यस अवसरको उपयोग गर्न सुझाव दिए ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिराम गेलालले, विभिन्न कठिनाइका बाबजुद पनि यस्तो सुन्दर बस्ती निर्माण गरिदिएकोमा सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई धन्यवाद व्यक्त गर्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका तर्फबाट पूर्वाधार विकासका लागि प्रतिलाभग्राही प्राप्त हुने चार लाख रुपैयाँ अनुदान दिन प्राधिकरण कटिबद्ध रहेको बताए । त्यसमध्ये एक करोड ३५ लाखको लागतमा बस्तीको दक्षिणतर्फको रिटेनिङ्ग वाल र नाला निर्माण गरिसकेको उनले जानकारी गराए ।

गैरआवासीय नेपाली संघका अध्यक्ष, कुमार पन्तले, संघको अथक प्रयास र परिश्रमबाट यो बस्ती निर्माण भएको बताए । उनले लाभग्राहीहरुलाई लालपूर्जा उपलब्ध गराउने र पूर्वाधार निर्माणमा समेत संघले प्राधिकरणलाई घच्घचाइरहेको जानकारी गराउँदै १२ वैशाख २०७८ मा आधिकारिक रुपमा बस्ती हस्तान्तरण गर्ने कार्यक्रम तय भएको बताए । त्यसका लागि सो समयभित्रै बस्ती निर्माणका अन्तिम कामहरु सम्पन्न गर्न लाभग्राहीहरुलाई सचेत गराए ।

सो भ्रमण टोलीमा संघका उपाध्यक्ष डा.बद्री केसी, सल्लाहकार कूल आचार्य, क्षेत्रीय उपसंयोजकद्वय कृष्ण तिमिल्सिना र मनोज श्रेष्ठ, मध्यपूर्वका पूर्व क्षेत्रीय उपसंयोजक राजु शैयद, अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य, चिन्तामणि सापकोटा, राष्ट्रिय समन्वय परिषद युएसएका पूर्वअध्यक्ष केशव पौडेल र वर्तमान उपाध्यक्ष बुद्धि सागर सुवेदी, पूर्वपरियोजना निर्देशक सुवास अधिकारी तथा संघका कार्यकारी निर्देशकको सहभागिता रहेको थियो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया