Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधभूकम्पले ध्वस्त विद्यालयको पुनर्निर्माण सुरु

भूकम्पले ध्वस्त विद्यालयको पुनर्निर्माण सुरु


दोलखा ।
भूकम्पले ध्वस्त भएको बैतेश्वर गाउँपालिका–३ मिर्गेमा रहेको कालिढुङ्गा माध्यमिक विद्यालयको पुनर्निर्माण सुरु भएको छ । भूकम्प गएको छ वर्षपछि विद्यालयको पुनर्निर्माण सुरु भएको हो । भारत सरकारको अनुदानमा अहिले विद्यालय निर्माणको काम भइरहेको विद्यालयले जनाएको छ । भारत सरकारले उक्त विद्यालयमा तीनवटा भवन निर्माण गर्न नौ करोड ६८ लाख चार हजार छ सय ६४ रूपैयाँ अनुदान दिएको हो । उक्त विद्यालयको भवन निर्माणको लागी केन्द्रीय आयोजना कार्यान्वयन इकाइ शिक्षा काठमाडौँ तथा आयोजना कार्यान्वयन इकाइ शिक्षा दोलखाले श्यामसुन्दर/प्रेरा जेरभिलाई २०६६ माघ १२ गते जिम्मा दिएको थियो ।

निर्माण कम्पनीले २०७८ जेठमा निर्माण सक्नेगरी ठेक्का सम्झौता गरी निर्माण गरिरहेको विद्यालयका प्रधानाध्यापक पुस्करकुमार दाहालले जानकारी दिए । चार महिनापछि विद्यालयको पुनर्निर्माण सक्नुपर्ने हुँदा अहिले विद्यालय निर्माणको काम तीव्र गतिमा भइरहेको उनले जानकारी दिए । निर्माण हुँदै गरेका तीनवटा भवनमा शौचालयसहित ३२ वटा कोठा बन्नेछन् । त्यसैगरी लामो समय जस्ताको अस्थायी टहरामा पठनपाठन हुँदै आएको सोही वडाको कालिदेवी आधारभूत विद्यालयको पनि पुनर्निर्माण भइरहेको छ ।

भूकम्पपछि जस्ताको टहरामा पठनपाठन हुँदै आएको विद्यालयको अहिले आठ कोठाको पक्की भवन निर्माण भइरहेको हो । जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा)ले आठ कोठे दुई तले पक्की भवन निर्माण गर्न रकम उपलब्ध गराएपछि भवन निर्माणको काम सुरु गरेको विद्यालयका प्रधानाध्यापक राम्जी घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार भवन निर्माण गर्न जिल्ला शिक्षा इकाइबाट एक करोड चौध लाख पाँच सय २० रूपैयाँ उपलब्ध गराइएको छ ।

गत कात्तिकदेखि भवन निर्माको कार्य सुरु भएको उनले जानकारी दिए । भवन निर्माणको जिम्मा विद्यालय व्यवस्थापन समितिले उपभोक्तालाई दिएको छ । भवन निर्माण तथा व्यवस्थापन समितिका संयोजक गणेश बस्नेतका अनुसार २०७८ वैशाखभित्र विद्यालयको पुनर्निर्माण सम्पन्न हुनेछ । निर्माण समितिले पहिलो तलाको काम सकेर दोस्रो तलाको ढलान गर्ने तयारी गरिरहेकाले वैशाख भित्र नै विद्यालय भवनको पुनर्निर्माण सकिने उनले जानकारी दिए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया