Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधवीरगञ्ज–पथलैया सडकखण्ड निर्माणमा ढिलाइ

वीरगञ्ज–पथलैया सडकखण्ड निर्माणमा ढिलाइ


बीरगञ्ज ।
वीरगञ्ज–पथलैया ६ लेन सडकको निर्माण कार्यमा अति नै ढिलाइ भइरहेको छ । बढ्दो गर्मीसँगै सडक धुलाम्य हुँदा पनि ठेकेदार कम्पनीको लापरबाहीले यात्रीहरूले सास्ती खेप्नुपरेको छ । वीरगञ्ज–पथलैया, वीरगञ्ज–पोखरिया र सुक्खा बन्दरगाह–परवानीपुर सडकखण्डको काम भइरहेको लामो समय बितिसक्दा पनि अहिलेसम्म सडकको काम सम्पन्न भएको छैन ।

वीरगञ्ज–पथलैया सडकखण्डबाट दैनिक हजारौँको संख्यामा मालवाहक, यात्रुवाहक र निजी सवारीसाधनहरू ओहरदोहर गर्छन् । तर सडक निर्माणमा भएको ढिलाइसँगै ठेकेदार कम्पनीले आफ्नो दायित्वअनुसार सडकमा पानी छर्ने काम नगर्दा यो सडकखण्डमा गुड्ने सवारीसाधनहरूमा यात्रा गर्ने यात्री, चालकहरूले निकै समस्या भोग्नुपरेको एक यात्रुले बताए ।

उनले वीरगञ्जबाट पथलैया जाँदा पूरै कपडा बर्बाद हुने र धूलोले श्वासप्रश्वासमा समेत कठिनाइ भइरहेको बताए । ड्राइपोर्टको लक्ष्मी आयलदेखि आईसीपीसम्म सडक विस्तार तथा तिलावे पुलको काममा पनि ढिलाइ गरेको र गर्मी बढेर धुलाम्य सडकमा पानी नछर्दा सो सडकखण्ड प्रयोग गर्नेलाई समस्या भएको छ ।

सरकारले सडक विस्तार वा पुल निर्माणको काम गराउन ठेक्का सम्झौता गर्दा सडकमा पानी छर्केर धूलो नउड्ने गरी सडकको कामलाई पूरा गर्नुपर्ने सर्त राखेको हुन्छ । तर ठेकेदारले चरम लापरबाही गरिरहेको उनको भनाइ ।

वीरगञ्ज–पथलैया सडकखण्डमा पप्पु, एमआर कन्टेक, युनाइटेड, दिवा सपना जस्ता निर्माण कम्पनीहरूले काम गरिरहेका छन् । सडक विस्तारको नियमन गर्ने निकाय वीरगञ्ज–पथलैया व्यापारिक मार्ग परियोजना कार्यालय पथलैया हो । तर उसको पनि उदासीनताको कारण यस भेगका जनताले सास्ती भोग्नुपरेको सर्वसाधारणको गुनासो छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया