Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधमहिला हस्तकला मेला सम्पन्न

महिला हस्तकला मेला सम्पन्न


काठमाडौं ।
महिला हस्तकला मेला सम्पन्न भएको छ । १११औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ललितपुर महानगरपालिका र नेपाल हस्तकला महासंघको संयुक्त आयोजनामा भएको तीनदिने मेला आइतबार सम्पन्न भएको हो । ‘हस्तकलाको प्रवर्द्धन, महिला सशक्तीकरणको सम्वर्द्धन’ भन्ने मूल नाराका साथ ललितपुर महानगरपालिका परिसरमा यही फागुन २२ गतेदेखि २४ गतेसम्म चलेको मेलाको समापन ललितपुर महानगरपालिकाकी उप–प्रमुख तथा मेला संयोजक गीता सत्यालले गरेकी हुन् ।

उपप्रमुख सत्यालले महिला सबलीकरणमा जोड दिँदै महिलाको आर्थिक स्थिति सबल नभएसम्म महिला सबलीकरण हुन नसक्ने र त्यसको लागि पुरुषहरुको सहयोग अपरिहार्य हुने बताइन् । उनले हस्तकलाका सामग्री उत्पादनले महिलाको आर्थिक उपार्जनमा टेवा पुग्ने बताइन् । महिला सशक्तीकरणका लागि आर्थिक पाटो महत्वपूर्ण हुने भएकाले सर्वप्रथम महिलाको आर्थिक पक्ष बलियो बनाउनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा मेला संयोजक तथा नेपाल हस्तकला महासंघका कार्यसमिति सदस्य सबिता सिंहले जानकारी दिइन् । उनले महिला उद्यमीबाट उत्पादित नेपाली उत्पादन/नेपालको पहिचानअनुरुप स्थानीय हस्तकला वस्तुको बजारीकरण र प्रवर्द्धनले महिलाको आर्थिक पाटोलाई समेत टेवा पुग्ने भएकाले यस्ता कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने जोड दिइन् ।

नेपाल हस्तकला महासंघले हरेक वर्ष महिला उद्यमी हस्तकलामा मेला आयोजना गर्दैै आएको बताउँदै कोरोनाबाट व्यवसायमा परेको असरका कारण केहि समय असहज भए पनि अब छिट्टै सहज हुने विश्वास व्यक्त गरिन । उनले समय समयमा हुने यस्ता मेलाले महिला उद्यमीलाई राहत पुग्ने समेत बताइन् ।

कार्यक्रममा नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले बेलाबखत आयोजना हुने यस्ता मेलाले महिलाको आर्थिक पाटोसँगै समाजमा स्थापित हुन सहयोग पुग्ने बताए । मेलामा एकै छानामुनि प्राकृतिक रेसा केतुके, अलैंची, केरा, अल्लो र बाँसबाट निर्मित सामान, काष्ठकला, चाँदीका गरगहना तथा चाँदीका वस्तु, धातुका गरगहना, फेल्ट, क्रिष्टलका सामान, हाड र सिंगका वस्तु, बिड्सका सामान, उनी तथा सुती, ढाकाका सामान, पश्मिना, हाते कागजका सामान, सेरामिक तथा माटोका सामग्री, सिसाजन्य सामग्री गरी करिब ५० स्टल व्यवस्था गरेको थियो ।

मेलामा काठमाडौं उपत्यकाभित्रका जिल्लाको लघु, घरेलु उत्पादक एव कम आय भएका महिला, जनजाति आदिवासी उद्यमीका साथै अपांगता भएका महिलाका उत्पादनहरु रहने पनि उनले जानकारी दिए । महासंघका अनुसार कुल सदस्यमध्ये १० प्रतिशत महिला उद्यमीको सहभागिता रहेको थियो । मेलामा समापन कार्यक्रममा स्टल नं. ९ की रुक्मिणी श्रेष्ठलाई उत्कृष्ट महिला उद्यमी रुपमा सम्मान गरिएको थियो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया