Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधपाँच वर्षमा पनि बनेनन् दुई पुल

पाँच वर्षमा पनि बनेनन् दुई पुल


दार्चुला ।
महाकाली करिडोरअन्तर्गत पर्ने दार्चुला तिंकर सडकखण्डको लास्कु र नजाङगाड खोलामा मोटरेबल पुल निर्माण सुरु भएको पाँच वर्ष भयो तर अझैसम्म निर्माण सम्पन्न भएको छैन । सो सडकखण्डको मुख्य क्षेत्रमा पर्ने यी दुई पुल निर्माण समयमै नहुँदा सडक खण्ड वर्षात्मा सडक अवरुद्ध हुँदै आएको छ । झण्डै दुई वर्षभित्रै निर्माण सक्नुपर्ने पुल निर्माण पाँच वर्षपछि मात्रै अन्तिम चरणमा पुगेको छ ।

पुल निर्माणमा भएको ढिलाइले सर्वसाधारणले समेत सास्ती भोग्नुपरेको छ । पुल निर्माण नहुने तर पटक–पटक म्याद थपेको थप्यै गर्दा स्थानीयवासीले आवतजावतमै समस्या भोग्नुपरेको बताएका छन् । महाकाली– १ का स्थानीयवासी दानीराम लुहारले अहिले आएर पुल निर्माणले गति लिएको देख्दा पुल बन्छ भन्ने आशा पलाएको बताए ।

निजाङगाड खोला पुलमा राजेन्द्र मालिकार्जुन जेभीसँग २०७२ फागुन ५ गते निर्माण सम्झौता गरी २०७४ जेठ ४ गते सक्ने लक्ष्य थियो । सो पुल कुल दुई करोड ४६ लाख रुपैयाँको लागतमा निर्माण गर्ने सम्झौता भएको हो । लास्कु खोला पुलमा राजेन्द्र देवसिंह मालिकार्जुन जेभीसँग २०७२ चैत १५ गते सम्झौता गरी २०७४ असार १४ गते निर्माण सम्पन्न हुनुपर्ने थियो ।

सो पुल कुल तीन करोड ५८ लाख रुपैयाँको लागतमा निर्माण गर्नुपर्ने हो । दुवै पुलको काम समयमै सकिएन । पुल नहुँदा वर्षात्को समयमा सो सडक खण्डमा यातायातका साधनसमेत चल्नसक्ने अवस्था नरहेको श्रीवगडका स्थानीयवासी दिलीपसिंह कार्कीले बताए । उनका अनुसार वर्षात्को समयमा जहिल्यै सडक अवरुद्ध हुन्छ ।

एक दशक अघिबाट निर्माण सुरु भएको दार्चुला तिंकर सडकखण्डमा हालसम्म झण्डै ४३ किलोमिटर सडकको ट्र्याक खुलेको छ । अहिले सो सडक खण्ड व्यास गाउँपालिकाको केन्द्र सुनसेराभन्दा तीन किलोमिटर अघिसम्म मात्रै पुगेको छ ।

सडक निर्माणसँगै पुल निर्माणमा सरकारी पक्ष र निर्माण व्यवसायीकै लापरबाहीका कारण समयमै निर्माण नसकिएको व्यवसायी चक्रबहादुर बम बताउँछन् । ‘समयमै ध्यान दिएको भए अहिलेसम्म पुल बनिसक्थ्यो’, उनले भने, ‘सबै पक्षबाट लापरबाही भएकै कारण ढिलो गरी पुल निर्माण भइरहेको छ ।’ दुवै ठाउँमा पुल निर्माण नहुँदा स्थानीयबासीलाई आवतजावतमा निकै समस्या हुँदै आएको छ । हिउँदको चिसो महिनामा नदी भएर वारपार गर्न साह्रै अप्ठ्यारो हुन्छ ।

अहिले दुवै पुलको निर्माणकार्यले केही गति लिएको छ । निर्माण सामग्री समयमै आपूर्ति नहुनु तथा पुल निर्माणको लागि जिम्मेवारी दिएको व्यक्तिले समयमै काम गर्न नसक्नु पुल निर्माणको ढिलाइ भएको बताइएको छ ।  राजेन्द्र निर्माण सेवाका प्रतिनिधि अर्जुन गुर्दामीले यसै आर्थिक वर्षको असारभित्र दुवै पुलमा गाडी गुड्ने गरी काम भइरहेको जानकारी दिए । अहिले पुलको काम सन्तोषजनक प्रगति छ । निजाङगाडमा ९५ प्रतिशत र लास्कु खोलामा ६५ प्रतिशत भौतिक प्रगति भइसकेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया