Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधइ–सेवा र पोखरा उद्योग संघले सहकार्य गर्ने

इ–सेवा र पोखरा उद्योग संघले सहकार्य गर्ने


काठमाडौं ।
इ–सेवा र पोखरा उद्योग वाणिज्य संघबीच विद्युतीय भुक्तानीका लागि सहकार्य भएको छ । पोखरा महानगरपालिकालाई डिजिटल बजार बनाउने उद्देश्यका साथ दुई संस्थाबीच सम्झौता भएको हो । सम्झौतापत्रमा इ–सेवाका प्रमुख रणनीतिक अफिसर रोशन लामिछाने र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै पोखरा उद्योग वाणिज्य संघमा आबद्ध हरेक सदस्य तथा अन्य पसलहरुमा विद्युतीय माध्यमबाट भुक्तानी गर्ने सुविधा प्रदान गरिनेछ । पोखरा उद्योग वाणिज्य संघमा ७१ वटा वस्तुगत संघ र ३५ सय बढी व्यवसाय तथा फर्म आबद्ध छन् । सम्झौता कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशसभा सदस्य विन्दु कुमार थापाले गरेका थिए । कार्यक्रममा उनले अनलाइन पेमेन्टले भ्रष्टाचार रोक्न सघाउ पु-याउने बताए ।

उनले नगद भुक्तानको लागि धेरै व्यक्तिहरु धेरै ठाउँमा खटिनुपर्ने बताउँदै अति नै मितव्ययी रहेकोले इ–सेवा डिजिटल पेमेन्टको क्षेत्रमा आजको आवश्यकता रहेको बताए । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले परिवर्तित समयअनुसार आफ्ना व्यापार व्यवसायलाई परिमार्जन गर्दै लैजाने क्रममा इ–सेवासँग साझेदारी सम्बन्ध गाँसेको बताए । पछिल्लो समय क्यूआरकोे लोकप्रियता बढेको र यसले पैसा बोक्ने सिस्टम विस्तारै कम हुँदै गएको हुनाले पनि यसको प्रयोगलाई बढाउन अग्रसर भएको उनको भनाइ थियो ।

कार्यक्रममा इ–सेवाका सीएसओ रोशन लामिछानेले प्रविधिको सही र उच्चतम प्रयोगका लागि, संघ र सदस्यहरुको सामीप्यका लागि तथा डिजिटल भुक्तानी र प्रविधिमैत्री सहर र व्यवसायका लागि संघसँग इ–सेवाले सहकार्य गरेको बताए । मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इ–सेवाले पछिल्ला दिनमा सरकारी क्षेत्रमा शुल्क बुझाउँदा व्यहोर्नुपर्ने झन्झठको अन्त्य गर्न विभिन्न किसिमका सेवा थप गर्दै गएको छ ।

हाल इ–सेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ४५ लाख छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ५० लाख जनसंख्याले इ–सेवामार्फत सेवा लिइरहेका छन् । हाल इ–सेवाका देशभर करिब एक लाखभन्दा बढी एजेन्ट (इ–सेवा जोन तथा पोइन्ट) रहेका छन् । हाल इ–सेवामा मर्चेन्टको संख्या करिब दुई लाख छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया