Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधपर्यटन र लघु उद्योग क्षेत्र उकास्ने विशेष कार्यक्रम ल्याउन सुझाव

पर्यटन र लघु उद्योग क्षेत्र उकास्ने विशेष कार्यक्रम ल्याउन सुझाव


काठमाडौं ।
कोभिड १९ ले आक्रान्त पर्यटन र साना तथा लघु उद्योग क्षेत्र उकास्ने विशेष कार्यक्रम ल्याउन उद्योगी तथा व्यवसायीहरुले सरकारलाई सुझाव दिएका छन् । यसैगरी हालको कर प्रणालीलाई वैज्ञानिक बनाउन तथा उद्योग व्यवसायीलाई सम्मानपूर्ण दृष्टिले हेर्ने वातावरण निर्माणका लागि आवश्यक नीति बनाउनुपर्ने उनीहरुको सुझाव छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार आयोजना गरको उद्योग व्यवसायीसँगको छलफल एवं अन्तक्र्रिया कार्यक्रममा उनीहरुले औद्योगिक क्षेत्रहरुमा बाटो र बिजुलीलगायतका पूर्वाधारको व्यवस्था गर्न पनि सुझाव दिएका थिए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ र माडवारी संघलगायतका उद्योग व्यवसायसँग सम्बन्धित संघ संस्थाका प्रतिनिधिहरुले उद्योग व्यवसाय कार्यमा बाधा पारिरहेका कानुनहरुको संशोधन गर्न आग्रह गरेका थिए ।

व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले व्यवसाय सञ्चालनमा आइपरेका कानुनी, प्रशासनिक र नीतिगत अप्ठ्याराबारे सरकारसँग खुुलस्त कुरा राख्न उद्योगी र व्यवसायीहरुलाई आग्रह गरेका थिए । ‘कुन कानुनको कुन दफाअन्तर्गतको कुन प्रावधानले तपाईंहरुलाई अप्ठ्यारो र त्यो सच्याउँदा के लाभ हुन्छ, लिखित रुपमा ल्याउनुस्, सरकारले आवश्यक कार्य गर्छ’, उनको भनाइ थियो । उनले उद्योग व्यवसाय क्षेत्रको हितका लागि कानुन सुधार गर्न संसद् अधिवेशन नबसेको अवस्थामा अध्यादेश ल्याउन समेत आफू तयार रहेको विश्वास दिलाएका थिए । उनले देशको आर्थिक परिचय फेर्ने योजनाका साथ सरकार अघि बढिरहेकोले व्यवसायीहरुको भावनालाई कदर गरिने दाबी गरे ।

उद्योगी व्यवसायीलाई उत्पादन र निर्यातमूलक व्यवसायतर्फ लाग्न समेत उनले आग्रह गरे । ‘ठूलो परिमाणमा उत्पादन, गुणस्तरीयता, प्रतिस्पर्धात्मक मूल्य र समयमै उपलब्धतामार्फत दुईतिरका छिमेकमा रहेको ठूलो बजार पाउन सक्छौँ’, उनले भने । सरकार लक्ष्य निर्धारण गरेर अघि बढिरहेको बताउँदै उनले सबै नागरिकका जैविक र मानवीय आवश्यकता पूरा गर्नेतर्फ सरकार अघि बढिरहेको समेत बताए । एउटा क्षेत्रमात्र नभई समग्र क्षेत्रको उन्नतिका लागि अघि बढ्न खोजिएको उनको भनाइ थियो । ‘कोही पनि पछाडि पर्नुहुन्न र पछाडि पारिनुहुन्न भन्ने धारणा सरकारको छ’, उनले भने ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया