Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसुदूरपश्चिमका उच्च हिमाली भेगमा पाइने जडीबुटी तथा वन्यजन्तु लोप हुँदै

सुदूरपश्चिमका उच्च हिमाली भेगमा पाइने जडीबुटी तथा वन्यजन्तु लोप हुँदै


बझाङ ।
सुदूरपश्चिमका उच्च हिमाली भेगमा पाइने जडीबुडी तथा वन्यजन्तु लोभ हुँदै गएका छन् । यहाँ पाइने धुपी, भोजपत्र, सतुवा, गुजरगानो, सेतकचिनी, मुस्ली, कटुकी, जटामसी, बज्रदन्तीलगायत जडीबुटी वन विनाश र अव्यवस्थित दोहनका कारण लोप हुने अवस्थामा पुगेका छन् ।

डिभिजन वन कार्यालयका अनुसार पनि हरेक वर्ष जडीबुटी घट्दै गएको छ । कार्यालयका अनुसार प्रतिकिलो १५ हजार रूपैयाँसम्ममा बिक्री हुने वनलसुन, १२ हजार प्रतिकिलोमा बिक्री हुने सतुवा र लाखौँ मूल्यका गुजरगानो, सेतकचिनी, मुस्ली, कटुकी, जटामसी, बज्रदन्तीलगायत जडीबुटी वन विनाश र अव्यवस्थित दोहनका कारण लोप हुने अवस्थामा पुगेका छन् ।

२०६४ सालयता जिल्लाबाट वर्षेनी २४ देखि ३० प्रकारका जडीबुटी निकासी भइरहेकोमा हालसम्म आइपुग्दा आठ प्रकारका जडीबुटी मात्र निकासी हुनेगरेको छ । यार्सा संकलन क्रममा इन्धनका लागि धुपीको दाउरा बढी प्रयोग हुने र भेडाच्याङ्ग्राको आहाराका लागि भोजपत्रका रूख ढाल्ने गर्दा धुपी र भोजपत्र पनि लोप हुँदै गएको छ । बझाङ जिल्लाको उच्च हिमाली क्षेत्रका जंगलमा चैतदेखि असोजसम्म ३५ हजारभन्दा बढी भेडाच्याङ्ग्रा खुलारूपमा चराउने गरिएको छ । भेडालाई पात खुवाउनका लागि सिंगै रूख ढाल्ने चलनका कारण भोजपत्र सकिएको हो ।

यस्तै दुई/चार वर्षअघि गाउँनजिकै प्रशस्त पाइने डाँफेलगायतका पन्छी र जंगली जनावरहरू आजभोलि मुस्किलले देखिने गरेको बुंगल नगरपालिका– २ का आनन्द धामीले बताए । उनले भने, ‘केही वर्षपहिलासम्म रतुवा, घोरल, झारल, थारल, बँदेल, डाँफे, कालिज, हरिण, मृग र डाँफेलगायतका पशुपन्छी गाउँसम्मै आउँथे तर अहिले लेकतिर पनि विरलै भेटिन्छन् ।’ लेकाली वन उनीहरूको बसोबासस्थल भएको र वन नासिँदै गर्दा लोप हुने अवस्थामा पुगेका छन्  ।

एकातिर वन विनासले जनावरको वासस्थान मासिएको छ भने अर्कोतिर चोरी सिकार हुने भएकाले वन्यजन्तु लोप हुने अवस्थामा पुगेका छन्  । हिमाली भेगको जंगल विनाश हुँदै गर्दा यहाँको पारिस्थितिक प्रणाली पनि खतरामा परेको छ । एउटा जनावर, पन्छी वा वनस्पतिको संख्यामा कमी आउनेबित्तिकै त्यसमा आश्रित अर्को जनावर तथा वनस्पतिलाई पनि जीवनचक्र सञ्चालनमा समस्या उत्पन्न हुने वन तथा भू–संरक्षण विभागका रेन्जर विराट लम्सालको भनाइ छ ।

हिमाली वनक्षेत्र छदेखि आठ महिनासम्म हिउँले ढाकिन्छ । हिँउ पग्लिए पनि अत्यधिक जाडो हुने भएकाले बिरुवा हुर्कन धेरै समय लाग्छ । तराई र मध्यपहाडमा हुर्केको जत्रै बिरुवा हिमालमा हुर्कनका लागि वर्षौं लाग्छ । कुनै बोटबिरुवाका प्रजाति अध्यधिक चिसोमा हुर्कने र कुनै गर्मी तथा ठिक्कको मौसममा हुर्कने हुन्छन् । हिमालमा पनि एकनासको मौसम रहँदैन ।

पहाडी भागमा दुई वर्षमा हुर्केको बिरुवाजतिको पुग्न हिमाली क्षेत्रमा झण्डे दोब्बर समय लाग्ने उनी बताउँछन् । हिमालीे जंगल मासिँदा यसको असर पुतलीको जीवनचक्रमा परेको हुन्छ । जसले गर्दा यार्सागुम्बा उत्पादनमा पनि ह्रास आउन सक्छ । प्राकृतिक बासस्थान र फूल फूल्ने प्रजातिका बिरुवाहरूको कमी हुँदै जाँदा पुतलीको जीवनचक्रमा असर पर्छ । यसले यार्साको उत्पादन प्रभावित हुन्छ । बिरुवाहरू परिपक्व नहुँदै विनाश हुने भएकाले कतिपय बोटबिरुवा तथा जडीबुटीको बिउसमेत राम्ररी बन्न पाएको हुँदैन ।

रूखको छाया र ओसिलोपना पाएर झाडी प्रजाति उम्रिएका हुन्छन् । झाडीको आश्रय पाएर जमिनमा अन्य जडीबुटी र घाँस उम्रन्छ । रूख मासिँदै जाँदा तिनीहरूको जैविक सम्बन्धमा पनि खलल पुग्ने गरेको उनी बताउँछन् । विभागले जडीबुटी संकलनका लागि पुर्जी दिँदा कुनै पनि जडीबुटी पूरै उत्खनन गर्न नपाइने, एकप्रकारको जडीबुटी निकाल्दा अर्को प्रकारको जडीबुटीलाई असर नपर्ने गरी निकाल्नेलगायतका विभिन्न मापदण्ड तोकेको उनले बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया