Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधगाउँमा पक्की गोरेटो बाटो निर्माण

गाउँमा पक्की गोरेटो बाटो निर्माण


दोलखा ।
आफ्नै लगानीमा गाउँपालिकाभित्रको सडक कालोपत्रे गरिरहेको वैतेश्वर गाउँपालिकाले सडक सगसँगै गाउँघरका गोरेटो बाटो समेत पक्की निर्माण गर्न सुरु गरेको छ । वैतेश्वर गाउँपालिकाले वडा नम्बर २ सानिटारमा चार सय मिटर पक्की गोरेटो बाटो निर्माण सुरु गरेको हो ।

तामाङ समुदायको बाक्लो बसोबास रहेको पर्यटकीय हिसाबले सम्भावना बोकेको सानिटार गाउँको चार सय मिटर पक्की गोरेटो बाटो निर्माण गर्न सुरु गरिएको पर्यटन व्यवसायी एवम् टोल विकास समितिका अध्यक्ष झलक तामाङले जानकारी दिए । बाटो निर्माणको लागि गाउँपालिकाले चालू आर्थिक वर्षमा १० लाख रुपैयाँ अनुदान दिएको छ । उक्त बजेटबाट पहिलो फेसमा तीन सय ५५ मिटर बाटो निर्माण हुने तामाङले जानकारी दिए ।

बाटो निर्माणको लागि पालिकाले अनुदान दिएपछि गाउँका युवा एकजुट भएर गोरेटो बाटो निर्माण जुटेको तामाङले बताए । पानी पर्नासाथ गोरेटो बाटो हिलाम्मे बन्दा बालबालिका तथा बुढेसकाल लागेका वृद्धलाई आवतजावत गर्न धेरै कठिन भएकाले गाउँपालिकाले टोलकै समस्या बुझेर बाटो बनाउन बजेट छुट्याएको सानिटारका अर्का पर्यटन व्यवसायी अमृत बहादुर तामाङले बताए ।

निर्माण भइरहेको पक्की गोरेटो बाटोमा सोलिङ गरेर त्यसमाथि सिमेन्ट, बालुवा, गिट्टी फलामलगायतका निर्माण सामग्री प्रयोग गरेर निर्माण भइरहेको छ । गोरेटो बाटोको छेउमा ट्रस्टको रेलिङ राखिएको छ । दर्जनौँ घरको बीचबाट निर्माण सुरु गरिएको उक्त बाटो बनेपछि दुई पाङ्ग्रे साना सवारी मोटर साइकल, साइकल गुडाउन समेत सहज हुनेछ ।

सानिटार गाउँका प्रायः युवाहरु पर्यटन व्यवसायी रहेकोले उनीहरुसँगै गाउँमा विदेशी पर्यटक पनि भित्रिने सम्भावना अत्यधिक रहेकाले गाउँमा गोरेटो बाटो निर्माण गर्न लागिएको गाउँपालिका अध्यक्ष छवि लामाले जानकारी दिए । यस गाउँको अधिकांश युवाको मुख्य पेसा पर्यटन क्षेत्र रहेको छ । गाउँमा व्यवस्थित बाटो बनेपछि धेरै विदेशीलाई गाउँघरमा ल्याउन सक्ने युवाहरुले बताएपछि पक्की गोरेटो बाटो निर्माण गर्न आर्थिक सहयोग गरेको लामाको भनाइ छ । वैतेश्वर गाउँपालिका–२को सानिटार गाउँका ७५ प्रतिशत युवाको पेसा पर्यटक घुमाउने रहेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया