Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधपूर्वसचिव कार्कीलाई नेपाल चेम्बर गल्फको उपाधि

पूर्वसचिव कार्कीलाई नेपाल चेम्बर गल्फको उपाधि


काठमाडौं ।
पूर्वसचिव अर्जुन कुमार कार्कीले ‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट २०२१’को उपाधि जितेका छन् । नेपाल चेम्बर अफ कमर्सको ७०औँ वार्षिकोत्सवको अवसरमा आयोजना भएको नेपाल चेम्बर गल्फ टुर्नामेन्टको पहिलो संस्करणको उपाधि कार्कीले जितेका हुन् ।

रोयल नेपाल गल्फ क्लबमा शनिबार ४१ स्कोर कार्डसहित कार्कीले उपाधि जितेको हुन् । स्टेबल फोर्ड ३/४ ह्यान्डीक्याप फम्र्याटमा भएको प्रतियोगिताको पहिलो दिन शुक्रबार २३ स्कोर बनाएका कार्कीले दोस्रो दिन १८ स्कोर जोड्दै उपाधि जिते । ३६ स्कोर बनाएका कृष्ण पुन काउन्ट ब्याकको आधारमा उपविजेता बने ।

महिलातर्फको उपाधि ३८ स्कोर बनाउँदै गीता गुरुङले जितिन् । यस्तै रेखा घिमिरे ३५ स्कोरसहित उपविजेता बनिन् । सिनियर पुरुषतर्फको उपाधि पूर्वसेनाप्रमुख जनरल गौरव शमशेर राणाले जिते भने दिलीपजंग रायमाझी उपविजेता बने । चेम्बरतर्फको उपाधि एसएसपी अशोक सिंहले जित्दा उपविजेता पवित्र कुमार कार्की भए ।

प्रतियोगितामा उत्कृष्ट ग्रस र मस्ट बर्डिजको उपाधि हृदेश कुमार सिंहले जिते । लङ्गेस्ट ड्राइभको उपाधि श्रीजय आचार्यले जित्दा क्लोजेस्ट टु पिनको उपाधि तेज बहादुर राईले हात पारे । विजेता तथा उपविजेताहरूलाई प्रमुख अतिथि एवं नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

नेपाल चेम्बर र रोयल नेपाल गल्फ क्लबको संयुक्त आयोजनामा भएको दुई दिने प्रतियोगितामा ८८ जना खेलाडीको सहभागिता रहेको थियो । नेपाल चेम्बर अफ कमर्स र रोयल नेपाल गल्फ क्लबबीच पाँच वर्षका लागि ‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट’ आयोजना गर्ने समझदारीअनुसार प्रतियोगिताको पहिलो संस्करण सम्पन्न भएको हो ।

‘नेपाल गल्फ पर्यटनको गन्तव्य’ नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले आउँदा वर्षहरूमा ‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट’लाई अन्तर्राष्ट्रिय स्तरमा रुपान्तरण गरिने बताए । उनले गल्फ लगायत खेलकुदमार्फत पर्यटनको विकासमा सरकारसँग हातेमालो गर्न निजी क्षेत्र तयार रहेको बताए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गल्फ लगायतका खेल अर्थतन्त्रसँग जोडिएकाले पर्यटन प्रवर्द्धनमार्फत वैदेशिक मुद्रा आर्जन गर्नसक्ने बताए । देशमा आवश्यकताअनुसार गल्फ कोर्टहरू बनाई यो खेलको विकासमा लाग्नुपर्ने उनको भनाइ थियो । रोयल नेपाल गल्फ क्लबका अध्यक्ष प्रचण्डमान श्रेष्ठले नेपाललाई गल्फ पर्यटनको केन्द्र बनाउन सकिने बताए ।

थाइल्यान्डले गल्फ पर्यटनबाट हरेक वर्ष १० लाख पर्यटकहरू आकर्षित गरी छ अर्ब अमेरिकी डलरको वार्षिक व्यापार गरिरहेको उदाहरण दिँदै उनले नेपालले यसबाट प्रेरणा लिनसक्ने बताए । नेपालको मौसम, जलवायु, प्राकृतिक सुन्दरता, भूगोल र मित्रवत् नागरिकका कारण गल्फ पर्यटनको गन्तव्यका रुपमा विकास गर्नसक्ने सम्भावना रहेको उनले बताए । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया