Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधपेट्रोलियम पदार्थको मागमा उच्च वृद्धि

पेट्रोलियम पदार्थको मागमा उच्च वृद्धि


जिएम यादव
बाँके, पुस २८
सवारी साधनको बढ्दो प्रयोगसँगै पश्चिम क्षेत्रमा पेट्रोलियम पदार्थको माग विगतको तुलनामा वृद्धि भएको छ । तीन वर्षको तथ्याङ्कले पेट्रोलियम तथा एलपीजी ग्यासको माग बढेको देखिन्छ । सडकमा सञ्जालमा वृद्धि भएसँगै यातायातका साधन पनि वृद्धि भएका छन् । त्यसले पेट्रोलियम पदार्थको माग बढेको नेपाल आयल निगम इन्धन डिपो नेपालगन्जका प्रमुख नवविनोद पोखरेलले जानकारी दिएका छन् । यद्यपि, खाना पकाउन बढी प्रयोग हुने मट्टीतेलको मागको वृद्धिदरमा कमी आएको छ भने ग्यासको माग बढ्दै गएको नेपालगन्ज डिपोको तथ्याङ्कले देखाएको छ ।

निगमको नेपालगन्जस्थित डिपोले आव २०७३/०७४ मा ३० हजार पाँच सय १२ केएल पेट्रोल आयात गरेको थियो । गत आर्थिक वर्ष २०७५/०७६ मा माग बढेपछि डिपोले ३८ हजार चार सय ९२ केएल पेट्रोल आयात गरेको डिपोका प्रमुख पोखरेलले जानकारी दिएका छन् । आव २०७४/०७५ मा डिपोले ३१ हजार आठ सय ६४ केएल पेट्रोल आयात गरेको थियो । त्यस्तै पश्चिम क्षेत्रमा डिजेलको आयातमा पनि वृद्धि भएको देखिएको छ । डिपोले आव २०७३/०७४ मा एक लाख ४१ हजार पाँच सय केएल डिजल आयात गरेको थियो । त्यसपछिका वर्षमा आयात बढेर आव २०७४/०७५ मा एक लाख ६३ हजार छ सय ३६, आव २०७५/२०७६ मा एक लाख ६५ हजार नौ सय ४७ पुगेको छ ।

‘अन्य इन्धनको तुलनामा पेट्रोल र ग्यासको माग उच्च छ’, नेपालगन्ज डिपो प्रमुख पोखरेलले भने । उनले खाना पकाउन मट्टीतेलको सट्टा ग्यासको प्रयोग बढेकाले ग्यासको माग बढेको बताएका छन् । उनले पेट्रोलबाट चल्ने सवारी साधन तथा सडक सञ्जालको वृद्धिका कारण पेट्रोलको माग पनि उच्च हुँदै गएको बताए । डिपोले आव २०७३/०७४ मा एक हजार छ सय ८० केएल मट्टीतेल आयात गरेको छ । जुन आर्थिक वर्ष २०७४/०७५ मा १ हजार ८ सय ८० र आव २०७५/२०७६ मा १ हजार ९ सय ३७ रहेको छ । डिपोबाट हवाई इन्धन एटीएफको बिक्री पनि तीन वर्षको तथ्याङ्कले ह्वात्तै बढेको देखाएको छ । आव २०७३/०७४ मा एटीएफ छ हजार एक सय, आव २०७४/०७५ मा आठ हजार चार सय तथा आव २०७५/०७६ मा सात हजार सात सय ९२ केएल एटीएफ डिपोले आयात गरेको तथ्याङ्क रहेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया