Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधलक्ष्यनजिक तामाकोशी

लक्ष्यनजिक तामाकोशी


दोलखा ।
माथिल्लो तामाकोशी जलविद्युत् आयोजना नेपालको सबैभन्दा ठूलो निर्माणाधीन जलविद्युत् आयोजना हो । हिमाली जिल्ला दोलखाको उत्तरी दुर्गम क्षेत्र मानिएको बिगु एक लामाबगरमा आयोजना निर्माणका लागि स्वदेशी तथा विदेशी प्राविधिकले २०५७ सालदेखि आयोजनाको अध्ययन सुरु गरेका थिए । अध्ययनपछि नेपाल सरकारले वि.सं. २०६७ साल भदौ १७ गतेदेखि आयोजनाले मुख्य निर्माणको काम सुरु गरेको थियो ।

आयोजना बन्छ कि बन्दैन भन्दै दुविधामा रहेका नेपालीलाई आयोजनाले निर्माण सुरु गरेर थप आशा जगाएको थियो । यस आयोजनाको निर्माण चरीकोटदेखि लामाबगरसम्म ६८ किलोमिटर प्रवेशमार्ग सडक निर्माण गरेर निर्माण सुरु गरिएको थियो । आयोजनाले सडकलगायतका संरचना निर्माण सुरु गरेपछि दुर्गम भेग लामाबगरका स्थानीयलाई विकासको अनुभूति पहिलोपटक देखाएको थियो । विस्तारै सिङ्गटीदेखि लामाबगरसम्म आयोजनाले सडक निर्माण गर्न सुरु ग¥यो । तामाकोशी आयोजनाले सडकको पहुँचमा पुगेका दोलखाका उत्तरी क्षेत्रका जनताले त्यसपछि विस्तारै विद्युत् समेत उपभोग गर्न पाए । तामाकोशीसँगै यहाँको उत्तरी क्षेत्रमा हाल दर्जनौँ सानाठूला जलविद्युत् आयोजना निर्माण भएका छन् ।

हाल तामाकोशी आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । २०७८ सालको पहिलो महिनाबाट नै आयोजनाले परीक्षण उत्पादन समेत थाल्नेछ । आयोजनाका अनुसार यही वर्षमा तामाकोशी पूर्णरुपमा सञ्चालनमा आउनेछ । सञ्चालनमा आएपछि लोडसेडिङ सधैँका लागि अन्त्य हुनेछ । यस्तै उद्योग धन्दाहरुले पनि पर्याप्त मात्रामा बिजुली खपत गरेर आर्थिक आर्जन गर्न पाउनेछन् । ४५६ मेगावाट क्षमताको यो आयोजनाबाट वार्षिक औसत दुई हजार २ सय ८१ गिगावाट आवर बिजुली उत्पादन गर्ने लक्ष्य छ । कुल ६६ घनमिटर प्रतिसेकेन्ड वहावमा डिजाइन गरिएको यो आयोजनाको बाँध क्षेत्र मात्र एक हजार ७ सय ४५ वर्गमिटर छ । जहाँ १२ लाख घनमिटरसम्म पानी जम्मा गर्न सकिन्छ ।

भूमिगत विद्युत्गृह रहेको यो आयोजनामा मुख्य सुरुङ मात्रै आठ दशमलव ८६ किलोमिटर छ । यस आयोजनाले नयाँ वर्ष २०७८ सालको वैशाखभित्र पहिलो परीक्षण गर्ने योजना बनाइरहँदा लगानीकर्ता तथा सेयरधनीमा छुट्टै खालको आशा जगाएको छ । नेपालको पूर्वी हिमाली जिल्ला दोलखाको उत्तरी क्षेत्र भीर टाकुरा र ठूला–ठूला पहाडको बीच हुँदै बग्ने तामाकोशी नदीको पानीबाट उत्पादन हुने जलविद्युत् आयोजनामा हजारौँले सेयर लगानी गरेका छन् ।

भूकम्प र कोरोना महामारीको असर, लागत बढेको बढ्यै, स्वदेशी लगानीमा निर्माणाधीन हालसम्मकै नेपालकै सबैभन्दा ठूलो आयोजना तामाकोशी निर्माण सुरु भएको एक दशक बितेको छ । आयोजना सुरु गर्दा ६ वर्षभित्र निर्माणसम्पन्न गर्ने लक्ष्य तोकिएको थियो । तर भूकम्प, कोरोना महामारी, खाँडीचौर–चरीकोट सडकखण्ड निर्माणमा ढिलासुस्तीले तामाकोशी निर्माणको समय धकेलिँदै गयो । १२ वैशाख २०७२ मा आएको भूकम्पको कारण आयोजनाको काम झण्डै डेढ वर्षसम्म रोकिएको थियो । त्यसपछि फेरि निर्माण सुरु भएको आयोजनाले २०७६ चैतसम्ममा आयोजना सम्पन्न हुने लक्ष्य राखेको थियो ।

उक्त अवधिमा पनि आयोजना निर्माण हुनसकेन । त्यसमाथि कोभिड १९ को असरले आयोजना उत्पादन समय सर्दै सर्दै गएको हो । जसरी आयोजनाको निर्माण कार्य लम्बिँदै गयो, त्यसैगरी लागत पनि बढ्दै गयो । ७ चैत २०६५ मा माथिल्लो तामाकोशी आयोजनाको सञ्चालक समितिले निर्माण अवधिको ब्याज १३ अर्ब २२ करोडसहित आयोजनाको लागत ४८ अर्ब ५१ करोड अनुमान गरेको थियोे । तोकिएको समयमा आयोजना बनेन । त्यसपछि विदेशी मुद्राको मूल्य अत्यधिक वृद्धि भएको र सेयर वृद्धि गरी थप सेयर संकलन गर्न नसकिने भन्दै आयोजना सम्पन्न गर्ने प्रक्षेपणका आधारमा लागत अनुमान ५१ अर्ब ९४ पु-याइयो ।

हाल कोरोनाको कारण लागत बढेको भन्दै आयोजनाको लागत ८२ अर्ब पुगिसकेको छ । आयोजनामा नेपाल विद्युत् प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६ प्रतिशत, नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानको २/२ प्रतिशत संस्थापक सेयर छ । यस्तै सर्वसाधारणबाट १५ प्रतिशत र दोलखाबासीबाट १० प्रतिशत लगानी उठाइएको छ ।

वैशाखभित्र परीक्षण : यस आयोजनाको काम आंशिकबाहेक सबै निर्माणसम्पन्न भएको छ । यो आयोजनाको कठिन मानिएका संरचनाअन्तर्गत तेर्सो पेनस्टक पाइप हाइप्रेसरमा परीक्षण सफल भइसकेको छ । मुख्य संरचना ड्याम र सुरुङमा पानी भरेर परीक्षण गर्ने अन्तिम तयारीमा अहिले आयोजना जुटेको छ । वेट टेस्ट भनिने यो परीक्षणमा आयोजनाले सबै सुरुङको ड्याममा पानी भरेर परीक्षण गर्ने तयारीमा लागेको हो । करिब १५ दिन लाग्ने सो परीक्षणपछि पहिलो टर्बाइनमा क्रमिक रूपमा पानी खसालेर पहिलो युनिटबाट विद्युत् निकाल्ने आयोजनाले जनाएको छ ।

आयोजनाले वैशाखभित्र एउटा टर्बाइनबाट भए पनि विद्युत् उत्पादन गर्ने गरी कार्य थालेको जनाएको छ । साथै आयोजनाले समयसीमाभन्दा पनि चुस्त परीक्षण र निर्माणमा कुनै सम्झौता नगर्ने गरी काम गरिरहेकोले तोकिएको समयभन्दा आयोजना निर्माण केही ढिला हुनसक्ने प्राविधिकहरु बताउँछन् । विभिन्न राजनीतिक तथा सामाजिक अवरोध, भूकम्प, भारतीय नाकाबन्दीदेखि ठेकेदार कम्पनीको कमजोरी र कोरोना भाइरसले आयोजना पछाडि धकेलिएको आयोजनाले अबचाहिँ अन्तिम रुप दिनलागेको छ ।

निर्माणका क्रममा आएका अनपेक्षित भौगर्भिक समस्याले आयोजना निर्माणको गतिलाई ढिला बनाएको थियो । निर्माण सक्न १० वर्ष लागे पनि पछिल्लो पटक निर्माण गरिएका महत्वपूर्ण र कठिन धेरै संरचना परीक्षण सफल हुँदै गएकाले दोलखा आसपासका लगानीकर्तामा छुट्टै खालको आशा जगाएको छ ।

सबै दोलखालीलाई सेयर तर विवाद, आयोजना निर्माण सुरु भएपछि प्रत्येक नेपालीसँगै विशेषतः दोलखावासीको मनमा छुट्टै हर्ष र उल्लास थियो । आयोजनाले दोलखावासीलाई सुनको अण्डा दिने हल्ला समेत फिँजाइएको थियो । तर आयोजनाले दोलखाबासीलाई दिने सेयरमा समेत भेदभाव गरेको गुनासो सुनियो । आयोजनाले दोलखावासीलाई तीन वर्षमा विभाजन गरेर सेयर वितरण गरेको थियो ।

‘क’ वर्षमा परेकाले एक सय दुई कित्ता, ‘ख’ वर्षमा पर्नेले ४८ कित्ता र ‘ग’ वर्षमा पर्नेले ३४ कित्ता सेयर पाए । अन्य सर्वसाधारणले भने ४० कित्ता सेयर पाएका थिए । सर्वसाधारणलाई भन्दा दोलखावासीलाई आयोजनाले कम सेयर दिएपछि सेयर बाँडफाँटमा समेत विवाद भयो । आयोजनाले दोलखावासीलाई एक करोड पाँच लाख ९० हजार कित्ता सेयर बिक्री गरेको थियो । नेपाल धितोपत्र बोर्डको नियमावलीबमोजिम सेयर बाँडफाँट भएको मितिले ३ वर्ष सेयर बिक्री गर्न भने रोक लगाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया