Techie IT
×
गृहपृष्ठबिबिधअर्थतन्त्रका आयाम बन्नसक्ने क्षेत्रहरू

अर्थतन्त्रका आयाम बन्नसक्ने क्षेत्रहरू


काठमाडौं ।
कोभिड १९ को विश्वव्यापी प्रभावले विश्व अर्थतन्त्रमा नै नयाँ आयामहरू गोरेटो खनेको छ । परम्परागत अर्थतन्त्रका शक्ति राष्ट्रहरू एकाएक शिथिल र अचलायमान भएको परिदृश्य देखा परेको छ । त्यसको प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव नेपाली अर्थतन्त्रमा आइरहेको छ । नेपाली अर्थव्यवस्था जुन क्षेत्रहरूमा आधारित भएर सञ्चालन भइरहेको थियो त्यस आयामहरूमा परिवर्तन हुँदै गएको र परिवर्तन गर्न जरुरी पनि छ ।
हाल सालै विश्व बैंकले जारी गरेको तथ्यले नेपालको अर्थतन्त्रमा नयाँ परिवर्तन आउन सक्ने देखाएको छ । नेपालले आफ्ना प्रथामिकताका क्षेत्रहरूको भरपुर उपयोग गर्नुपर्ने देखाएको छ । नेपालले आफ्नै मौलिकतामा आधारित भएर देशको अर्थतन्त्रका आधार स्तम्भहरूको खोजी गर्न जरुरी छ ।

नेपालको अर्थतन्त्रमा नयाँ आयाम बन्न सक्ने क्षेत्रहरू :
सूचना प्रविधि, आजको विश्व पाँचौ पुस्ताको प्रविधि उपयोगका लागि तयार भएर बसेको छ । त्यसका लागि विभिन्न देशले तीव्ररूपमा खोज अनुसन्धान र एकअर्कासँग सहकार्य र प्रतिस्पर्धा पनि गरिरहेका छन् । प्रविधिको प्रयोगहरूको कुरा गर्दा अप्ठ्यारा ठाउँहरूमा रोबोट प्रयोग, मानवरहित ड्रोन, खानी उत्खखन, सुरुङ निर्माण तथा सवारी सञ्चालनदेखि घरायसी कामसम्ममा यसको प्रयोग हुँदै आएको छ । अझ मानिसको रोजगारी नै खोस्ने गरी अर्टिफिसियल इन्टेलिजेन्सको व्यापक प्रयोगले सूचना प्रविधिको तागतलाई दर्साउँछ ।

संसारका ठूला र धनी कम्पनीहरूको पहिलो पाँच कम्पनीहरूको सूचीमा सूचना प्रविधिसँग सम्बन्धित कम्पनीहरू पर्दछन् । गुगल, एप्पल फेसबुक, माइक्रोसप्ट तथा अमेजनजस्ता कम्पनीहरूको सम्पत्ति कतिपय देशको सम्पत्तिभन्दा धेरै छ, आजको दिनमा । २०२० को तथ्यांकलाई आधार मान्ने हो भने (बजार पुँजीकरण) पनि एप्पलको १५ सय ७६, अमेजनको १४ सय ३३ गुगल नौ सय ८० र फेसबुक छ सय ७६ अर्ब डलरबराबरको सम्पत्ति छ । यी कम्पनीहरू संसारको प्रमुख धनी कम्पनीहरू हुन् ।

कोभिड–१९ ले पनि सूचना प्रविधिको महत्वलाई अझ धेरै दर्शाएको छ । संसारभर प्रविधिको प्रयोग अधिक हुँदै गएको छ । अझ भनौँ मानव जातिको अभिन्न अंगको रूपमा सूचना प्रविधि जोडिँदै आएको छ । नेपालका लागि यो एउटा महत्वपूर्ण अवसर पनि हो । नेपालमा यो क्षेत्रलाई प्रथामिकतामा राखेर राज्य अघि बढ्नु पर्दछ ।

नेपाल आफैँ अहिले पाँचौ पुस्ताको सूचना प्रविधिको खोज अनुसन्धान गर्न नसके पनि अहिले भइरहेकैबाट पनि अधिक आम्दानी गर्न सक्छ । त्यसका लागि सरकारले यो क्षेत्रमा लगानी बढाउनुपर्ने हुन्छ । सँगसगै प्रत्येक स्थानीय तहमा सूचना प्रविधि अध्यापन हुने व्यवस्था गर्ने, प्रदेश स्तरीय विश्वविद्यालय बनाउने र अधिक मात्रामा जनशक्ति उत्पादन गर्ने कार्यमा लाग्नुपर्ने देखिन्छ । नेपालमा नै नयाँ खालका सफ्टवेयर, विभिन्न एप्स तथा सूचना प्रविधिसम्बन्धी अनेकौँ उत्पादन गरी निर्यात गर्न सक्दछौँ । यस्ता उत्पादन निर्यात गर्दा निर्यात लागत समेत न्यून मात्र पर्ने हुन्छ । यो क्षेत्र अति नै सम्भावना बोकेको क्षेत्र पनि हो ।

जलस्रोत, नेपालको विकासमा महत्वपूर्ण योगदान पु¥याउने क्षेत्रमध्ये जलस्रोत पनि हो । जलविद्युत् र सिँचाइले पु¥याउने योगदान र आम्दानी सँगसँगै जलस्रोतलाई पिउनयोग्य पानीको व्यावसायिक प्रयोजनमा प्रयोग गरेर आम्दानी गर्न सकिन्छ । विभिन्न अनुसन्धानले नेपालमा बहुमूल्य युरेनियम तथा सुन खानीहरूको तथ्य देखिएको छ । यदि यो खानी उत्खनन प्रशोधन गर्नसके देश विकासको लागि महत्वपूर्ण आधार तय हुने प्रस्ट हुन्छ ।

नेपाल सरकारको अघिल्लो आर्थिक वर्षको तथ्यांकअनुसार नेपालमा पिउनयोग्य पानीको आयात करिब दुई करोड मूल्यबराबरको भएको देखाउँछ । नेपालमा पानीको स्रोत मात्रै होइन उत्कृष्ट हिमालका स्रोतहरू छन् । गर्मीयाममा दक्षिण भारतमा रेलको डब्बाहरूमा पिउने पानी ओसारिरहेको दृश्यले पनि पानीको बजार देखाउँछ । भारतको एउटा अनुसन्धानले बोतलको पानीको माग वर्षेनी १५ देखि १८ प्रतिशतले बढ्ने अनुमान गरेको छ । सन् २०२३ सम्म ३५/५३ अर्ब लिटर पानीको बजार हुने अनुमान अध्ययनले गरेको छ ।

यस अर्थले पनि पानीको बजार प्रशस्त देख्न सकिन्छ । यसको बजार अर्काे बंगलादेश हुन सक्छ । गुणस्तरीय पानीको उत्पादन गर्न वैदेशिक लगानी भित्र्याउने र सहकार्यमा यस्ता काम गर्न सकिन्छ । मानिस आफ्नो र परिवारको स्वाथ्यप्रति सजग हुँदै जानु तथा मानिसको प्रतिव्यक्ति आम्दानी पनि बढ्नुले पानीको माग बढ्न सक्छ । दीर्घकालीन सोचका साथ यसको विकास र विस्तारमा लाग्नु पर्ने देखिन्छ । ऐन कानुन निर्माण गर्ने, र यससम्बन्धी आवश्यक पर्ने इन्जिनीयर तथा दक्ष प्राविधिकहरू उत्पादनमा पनि ध्यान दिनुपर्छ । यदि नेपालले पानीको बजार पहिचान र विस्तार गर्न सक्यो भने नेपालमा भारत र चीनबाट आउने रेलका डिब्बाहरू खाली फर्कने छैनन् त्यहाँ नेपाली पानीले भरिएको हुनेछ ।

स्वास्थ्य पर्यटन, नेपाली अर्थव्यवस्थामा महत्वपूर्ण योगदान पु-याउन सक्ने क्षेत्र स्वस्थ्य पर्यटन बन्न सक्छ । नेपालमा यस क्षेत्रको प्रचुर सम्भावना भएको क्षेत्र पनि हो । नेपालमा हाल १९ वटा मेडिकल कजेल सञ्चालनमा छन् भने सातवटा कलेज सञ्चालन गर्न अनुमतिको लागि पाइपलाइनमा छन् । हुन त नेपालका अधिकांश ठाउँमा आधारभूत स्वस्थ्य सेवा पनि राम्ररी पाइरहेका छैनन् । ती देशमा कसरी स्वस्थ्य पर्यटन सञ्चालन हुन्छ भन्ने प्रश्न पनि खडा हुन सक्छ । नेपालमा पहिलो विश्वको तुलनामा अत्यन्त न्यून लागतमा स्वस्थ्य सेवा उपलब्ध गराउन सकिन्छ । स्वस्थ्य क्षेत्रकै अनुसन्धानले नेपाली चिकित्सक तथा नर्सहरूको व्यवहार अत्न्तै बिरामी मैत्री रहेको देखाउँछ । अर्काे पाटो भनेको हाम्रा विशाल दुई छिमिकीबाट उपचार गर्न केही प्रतिशत मात्रै नेपाल ल्याउन सके मात्र पनि लाखौँको संख्या हुन आउँछ । हामीले क्युबाबाट पनि स्वस्थ सेवाको क्षेत्रको उत्कृष्ट पक्षहरू सिकेर अघि बढ्नु पर्ने देखिन्छ ।

धातु तथा खानी, नेपालको अर्थतन्त्रको नेतृत्व गर्नसक्ने अर्काे महत्वपूर्ण क्षेत्र भनेको खानी तथा धातुको क्षेत्र हो । विभिन्न अनुसन्धानले नेपालमा बहुमूल्य युरेनियम तथा सुन खानीहरूको तथ्य देखिएको छ । यदि यो खानी उत्खनन प्रशोधन गर्न सके देश विकासको लागि महत्वपूर्ण आधार तय हुने प्रस्ट हुन्छ ।

खेलकुद, विकसित देशहरूमा खेलकुद क्षेत्रको विकास अदरभूतरूपमा भैसकेको छ । अर्थतन्त्रको मेरुडण्ड नै बनेर बसेको छ यो क्षेत्र । उदाहरणको लागि, संयुक्त अधिराज्यमा खेलकुद क्षेत्रले छ लाख १० हजार, फ्रान्समा चार लाख १६ हजार, स्पेनमा तीन लाख ३६ हजार, इटालीमा तीन लाख ३० हजार, अष्ट्रियामा दुई लाख ४३ हजार र पोल्याण्डमा दुई लाख २५ हजार जनाले रोजगारी पाएका छन् ।

कतारले सन् २०२२ मा फुटबल विश्वकप आयोजना गर्दै छ । उक्त प्रतियोगिता आयोजना गर्न २० अर्ब डलर खर्च हुने अनुमान गरिएको छ । ठूलठूला भौतिक पूर्वाधारहरूको निर्माणले रड, सिमेन्ट तथा निर्माणजन्य उद्योगको विकास, मजुदरको आम्दानीमा वृद्धिलगायत अर्थतन्त्रका चरहरूको समग्र वृद्धि हुन थाल्दछ । तीन हजार वर्षको इतिहास भेटिन्छ खेलकुदको । तर, धनाड्यहरूको मनोरञ्जनका लागि मात्र । अहिले त विश्व खेलकुद क्षेत्रमा एउटै खेल क्लबको आम्दानी खर्बाैंको हुन्छ । ती क्लबबाट खेल्ने खेलाडीहरूले नै करोडौँ कमाउँछन् । टिकट तथा जर्सी बिक्री, रेष्टुरेन्ट, होटल, टिभी आदि क्षेत्रको माध्यमबाट अर्थतन्त्रमा ठूलै प्रभाव पार्छन् यस्ता क्लबहरूले ।

क्लबका सम्पत्ति अर्बाैं डलरका छन् । अमेरिकन फुटबल क्लब डालस काउब्वाइको मूल्य चार दशमलव आठ अर्ब डलर, बेलायती क्लब म्यानचेस्टर युनाइटेडको चार दशमलव एक, रियल म्याड्रिडको चार दशमलव शून्य आठ र बार्सिलोनाको चार दशमलव शून्य छ अर्बडलरको मूल्याङ्कन रहेको छ । खेलकुद क्षेत्रमा बढ्दै गएको लगानीले खेल अब प्रतिस्पर्धा मात्र सीमित नरहेर देशको अर्थतन्त्रको एउटा हिस्साको रूपमा अगाडि बढेको छ । हाम्रा खेल मैदानहरूलाई अन्तर्राष्ट्रिय प्रतियोगिता गर्ने ‘न्युट्रल भेन्यु’को रूपमा र ठूला प्रतियोगिता खेल्नुपूर्व प्रशिक्षणस्थल बनाउन सके दाम र नाम मनग्य कमाउन सकिन्छ ।

बेलायतले सन् २०१२ मा लण्डनमा ओलम्पिक आयोजना गरेको थियो । त्यस वर्ष बेलायतको आर्थिक बृद्धिदर अघिल्लो वर्षभन्दा शून्य दशमलव छ प्रतिशतले वृद्धि भएको थियो । यसैगरी सन् २०१६ मा ब्राजिलको रियो द जेनेरियोमा ओलम्पिक खेल आयोजना हुँदा ब्रजिलको आर्थिक वृद्धिदर तीन दशमलव शून्य तीन शून्य पाँचले ऋणात्मक थियो । तर, अर्काे वर्ष ब्राजिलले एक दशमलव एक प्रतिशतको आर्थिक वृद्धि भेट्टायो । ठूलो प्रतियोगिता हुँदा भौतिक निर्माण, खेलकुदजन्य सामग्रीको उत्पादन तथा बिक्री, सेवामूलक क्षेत्रमा हुने वृद्धि र रोजगारीमा हुने वृद्धिले आर्थिक वृद्धिमा बढोत्तरी भएको हो ।

नेपाली खेलकुद क्षेत्रले लिनुपर्ने बाटो, नेपाली खेलकुदलाई सरकारले अर्थतन्त्रको महत्वपूर्ण हिस्साको रूपमा विकास गराउँदै लैजानुको विकल्प छैन । ‘समृद्धि’लाई फराकिलो ढंगले बुझ्नुपर्ने दिन आएको छ । आफ्नो प्रतिस्पर्धात्मक क्षमता धेरै भएका क्षेत्रहरूको विकासमा ध्यान दिनु जरुरी छ । ‘पाराग्याइडिङ’, ‘बन्जिजम्प’, ‘अल्ट्रा म्याराथुन’ जस्ता खेलको विकासले नेपालको अर्थतन्त्रलाई र पर्यटनलाई गति दिन सक्छ । हात्तीपोलोको राम्रो उदाहरण हामीसँगै छ । देशभित्र अन्तर्राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता गर्न सके त्यसले पनि महत्वपूर्ण योगदान पु¥याउन सक्छ ।

यो क्षेत्रको विकास भए खेलकुद सामग्री उत्पादन तथा वितरण गर्ने व्यवसायहरूको पनि राम्रो विकास हुने आधार तयार हुन्छ । हाम्रा खेल मैदानहरूलाई अन्तर्राष्ट्रिय प्रतियोगिता गर्ने ‘न्युट्रल भेन्यु’को रूपमा र ठूला प्रतियोगिता खेल्नुपूर्व प्रशिक्षण स्थल बनाउन सके दाम र नाम मनग्य कमाउन सकिन्छ । यो सबै गर्न फराकिलो सोच र सिर्जनशील मस्तिष्कको भने आवश्यकता पर्छ । बजेटमा आँखा लाउने, अक्षमलाई महत्वपूर्ण जिम्मेवारी दिने र खेलाडीहरूले चाउचाउ खाँदै चाउरिएर बस्नुपर्ने प्रवृत्तिको भने अन्त्य हुनैपर्छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया