Techie IT
×
गृहपृष्ठbreakingनेताज्यू, विचारधाराको बहस बन्द गर्नुस् !

नेताज्यू, विचारधाराको बहस बन्द गर्नुस् !


काठमाडौँ ।
एक तथ्यांकअनुसार विश्व इतिहासमा सन् १७०० अघि औसत वार्षिक आर्थिक वृद्धिदर प्रायः शून्य नै थियो भने सन् १७०० देखि सन् २०१२ सम्म पनि ०.८ प्रतिशत मात्र भएको पाइयो । सन् १७०० पछिको करिब तीन सय वर्षको अवधिको पहिलो सय वर्षमा ०.१ प्रतिशत, दोस्रो सय वर्षमा ०.९ प्रतिशत र सन् १९१३ देखि २०१२ सम्मको अवधिमा १.६ प्रतिशतले वृद्धि भएको देखिएको छ।

बीसौं शताब्दीमा विश्व राजनीतिमा उथलपुथल भएर पनि उक्त अवधिमा आर्थिक तथा सामाजिक विकासमा मानव जातिले ठूलो सफलता हासिल गरेको प्रस्ट देखिन्छ ।मानव सभ्यताको इतिहासमा सबैभन्दा बढी प्रगति गरेको बीसौं शताब्दीमा के कस्तो राजनीतिक विचारधाराको भूमिका रह्यो भन्ने सम्बन्धमा विकसित मुलुकलगायत हजारौं विश्वविद्यालय र दुई सय मुलुकका राजनीतिज्ञ र विश्लेषकहरुले अध्ययन, अनुसन्धान र विश्लेषण गरिरहेका छन् । बीसौं शताब्दीलाई राजनीतिक विचारधाराको युग पनि भनिन्छ ।

मुख्य रुपमा जम्मा तीनवटा राजनीतिक सिद्धान्त– उदारवाद, साम्यवाद (कम्युनिजम) र अधिनायकवाद (फासिजम)ले– विश्वव्यापी रूपमा भूमिका खेलेको थियो । तर अहिले एक्काईसौँ शताब्दीमा आइपुग्दा धेरैजसो विज्ञले विश्वमा विचारको संकट देखा परेको भनिरहेका छन् भने कसै कसैले त राजनीतिक सिद्धान्त नै अन्त्य भइसकेको पनि भनिसकेका छन् ।

उदारवादको सिद्धान्त अठारौँ शताब्दीमै प्रतिपादन भएको मानिन्छ र यसलाई सबैभन्दा स्थिर र सफल सिद्धान्तको रूपमा लिने गरिन्छ । अहिलेको आधुनिक युगसँग मेल खाने सिद्धान्त पनि उदारवाद नै देखिएको छ । चीनले समेत यही सिद्धान्त अपनाएर चमत्कार नै गरेको उदाहरण हामीसामु छ ।

बीसौँ शताब्दीको विभिन्न कालखण्डमा दोस्रो विचारधारा साम्यवादले उदारवादको विकल्पको रूपमा चुनौती दिइरहेको थियो । उदारवाद र साम्यवादको जन्म भइसकेपछि अधिनायकवाद टिक्न सकेन । भनिन्छ– पहिलो दुईवटा सिद्धान्तको साँठोगाँठो र हिटलरको आत्मघाती भूराजनैतिक गलत अनुमानको कारणले तेस्रो विचारधारा अधिनायकवादको अन्त्य
भएको हो ।

अधिनायकवादको अन्त्यपछि अन्य दुई विचारधाराबीच संघर्षको लागि मैदान खाली गरिदियो र यो संघर्ष शीतयुद्धमा परिणत भयो । करिब आधा शताब्दीको शीतयुद्धपछि सन् १९९१ मा उदारवाद सिद्धान्त विजय भई साम्यवाद पराजित भएको धेरैको भनाइ छ । त्यसपश्चात् विश्वव्यापी रूपमा साम्यवाद ओरालो लाग्दै गएको हो । फलस्वरूप बीसौँ शताब्दीको अन्त्यतिर आइपुग्दा विशाल जनसमुदायलाई परिचालन गर्नसक्ने क्षमता भएको एक मात्र सिद्धान्त उदारवाद
हुन पुग्यो ।

एक्काईसौं शताब्दीको सुरुदेखि विश्व राजनीतिक मैदानमा उदारवाद हाबी भयो र यसभित्र व्यक्तिवाद प्रवृत्ति, विभिन्न उपविचार, दृष्टिकोण, प्रविधि र योजनाहरु सबै अटाएको कारणले अहिले आएर विश्व नै एक ग्लोबल मार्केट सोसाइटीमा रूपान्तरण हुन गएको हो ।

नेपालको सन्दर्भमा बीसौं शताब्दीको पहिलो आधा समयावधिमा एकलौटी शासन गरिरहेका राणाहरूको सरकारलाई अधिनायकवाद विचारधारामा आधारित मान्न सकिएला । त्यसपछि सात साल, सत्र साल, छयालीस साल र त्रिसठ्ठी सालको राजनीतिक परिवर्तनपछि उदारवाद र साम्यवादमध्ये कुन सिद्धान्तले अहम् भूमिका खेलियो भन्नेमा राजनीतिज्ञ र विश्लेषकका आआफ्नै धारणा हुने नै भयो ।

तर ती विचारधाराभन्दा पनि सर्वसाधारणको चासोको विषय भनेको स्रोतसाधनमा कमी नभएको नेपालजस्तो मुलुक के कति कारणले आज आएर संसारको सबभन्दा पिछडिएको ३५ वटा मुलुकमध्येमा पर्न गएको भन्ने नै हो । विडम्बना के छ भने अहिलेसम्म पनि नेताहरूले विचारधारा र राजनीतिक सिद्धान्तको नै कुरा गरेर जनतालाई अलमल्याउन खोजिरहेका छन् । वास्तवमा विचारधारा र सिद्धान्तभन्दा मुलुक हाँक्न र पार्टी चलाउन नेताहरुको बौद्धिक तथा नेतृत्व क्षमता बढी महत्वपूर्ण हुन्छ ।

अतः कुर्सीमा को बस्छ महत्वपूर्ण होइन, राजनीतिक विचारधारा बढी महत्वपूर्ण हुन्छ भनेर जनतालाई ढाँट्ने काम बन्द गर्नुस् र सक्षम इमानदार नेताहरुलाई जिम्मेवार कुर्सीहरुमा बसाल्नेतर्फ लाग्नुस् ।


क्याटेगोरी : breaking, बिबिध

तपाईको प्रतिक्रिया