Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधभोकमरी लाग्ने चिन्तामा लेकाली भेगका नागरिक

भोकमरी लाग्ने चिन्तामा लेकाली भेगका नागरिक


बझाङ ।
जिल्लाको लेकाली भेगमा हिउँदे वर्षा नहुँदा सिँचाइ अभावका कारण खेतका गहुँबाली सुकेको छ । आकासे पानीको भरमा खेती गर्ने किसानहरू पानी नपर्दा गहुँबाली सुकेपछि भोकमरी लाग्ने चिन्तामा परेका छन् ।

गहुँबाली सुक्दै गएपछि भोकमरी हुने चिन्ताले सताएको थलारा गाँउपालिका– २ का शेरबहादुर खातीले दुखेसो गरे । वडाका बगाडा टोल, कफलकाडा टोल, धनाडा टोल, कात्रा टोल बेराडी टोल, एनबाडा टोल र तोतिबाडालागायतका टोलका करिब तीन सय परिवारले लगाएको गहुँबाली सुकेको छ । यी सबै ठाउँमा आकासे पानीको भरमा खेती गर्ने गरिन्छ । अघिल्ला वर्ष हराभरा देखिने खेतबारी यो वर्ष खडेरीका कारण उजाड भएका छन् ।

वर्षा नभएपछि गहुँबाली मात्र नभएर तरकारी र फलफूलमा समेत असर परेको छबीस पाथिभेरा गाउँपालिकाका मानबहादुर सिंहले बताए । असोजदेखि राम्रोसँग पानी नपरेकाले ग्रामीण क्षेत्रमा भोकमरीको चिन्ता बढेकाले अधिकांश युवा रोजगारीको खोजीमा भारततिर जान थालेको स्थानीय जय सिंहले बताए ।

जिल्ला कृषि ज्ञान केन्द्रको तथ्यांकअनुसार बझाङमा १० हजार चार सय ५० हेक्टर जमीनमा गहुँबाली उत्पादन हुनेगरेको छ । जिल्लाका सुर्मा, साइपाल, मष्टा, छबीसपाथिभेरा र वित्थडचिर गाउँपालिका खाद्य असुरक्षाको तथ्याङ्कमा रहेका छन् ।

सिँचाइ सुविधा नभएको ठाउँमा गहुँबाली सुकेको जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टले बताए । जिल्लाका लेकाली क्षेत्रमा गहुँबाली सुक्दा यो वर्ष गहुँ उत्पादनमा भारी गिरावट आउने सम्भावना आउने समेत विष्टले जानकारी दिए । सिँचाइ योग्य जमिनमा पनि चारदेखि पाँच प्रतिशतसम्म उत्पादन ह्रास हुन सक्ने उनको भनाइ छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया