Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधराष्ट्रिय वनबाट ३५ हजार केजी धुपीपात सङ्कलन

राष्ट्रिय वनबाट ३५ हजार केजी धुपीपात सङ्कलन


फुङ्लिङ ।
ताप्लेजुङ जिल्लाको राष्ट्रिय वनबाट चालू आर्थिक वर्षमा ३५ हजार किलो धुपीपात सङ्कलन भएको छ । जिल्लाभित्रका विभिन्न क्षेत्रका राष्ट्रिय वनबाट ती वस्तु सङ्कलन गरिएको हो ।

हिमाली क्षेत्रमा पाइने धुपीपात प्रत्येक वर्ष सङ्कलन हुँदै आएको छ । प्रतिकेजी दुई रुपैयाँका दरले ७० हजार रुपैयाँ राजस्व जिल्ला वन कार्यालयमा जम्मा भएको वन व्यवस्थापन शाखाका एसिस्टेन्ट फरेष्टर सीता योगीले बताइन् । पूजापाठमा धुपीपात प्रयोग हुँदै आएको छ । धुपीपातबाट औषधिजन्य तेलसमेत निकालेर राम्रो मूल्यमा बिक्री हुनेगरेको छ ।

समुद्र सतहदेखि २५ मिटरसम्मका राष्ट्रिय वनमा प्रशस्त धुपी पाइने गरेको जिल्ला वन कार्यालयले जनाएको छ । कञ्चनजङ्घा संरक्षण क्षेत्रमा धुपी प्रशस्त भए पनि व्यापारिक प्रयोजनका लागि सङ्कलन हुन नसकेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का लेखा अधिकृत मनकुमार लिम्बूले बताए ।

विगत वर्षमा सङ्कलन भए पनि चालू आवमा सङ्कलन गरेर संरक्षण क्षेत्रभन्दा बाहिर निकासी नभएको कञ्चनजङ्घा संरक्षण क्षेत्रका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताए । फक्ताङलुङ गाउँपालिका—६ घुन्सामा धुपीतेल उद्योग अहिले बेवारिसे अवस्थामा छ ।

दुई वर्षसम्म सञ्चालन भएपछि दर्ता प्रक्रिया पूरा हुन नसकेपछि बन्द गर्नुपरेको सञ्चालक पेमा शेर्पा बताउँछन् । घुन्सामा उत्पादन भएको धुपीको तेल काठमाडौँमा प्रतिलिटर तीन हजार पाँच सय रुपैयाँका दरले बिक्री हुनेगरेको सञ्चालक शेर्पाले बताए ।

राष्ट्रिय वन संकलित धुपीपात व्यापारीले प्रतिकिलो ६० रूपैयाँका दरले खरिद गर्दै आएको मेरिङ्देन गाउँपालिका—५ का धुपीपात व्यापारी रिङ शेर्पाले बताए । उनले भने, ‘हामी गाउँमा गएर ६० रुपैयाँमा खरिद गर्छौँ । गाउँदेखि सदरमुकाम फुङ्लिङसम्म चौंँरीमार्फत ढुवानी गर्छौं ।’ हिमाली क्षेत्रमा पाइने धुपीपात ताप्लेजुङबाट इलामको पशुपतिनगर हुँदै भारत निकासी हुने व्यापारी शेर्पाले बताए ।

नेपाल र भारतको नाका पशुपतिनगरमा प्रतिकिलो एक सय ६० रुपैयाँका दरले खरिदबिक्री हुने व्यापारी शेर्पाले बताए । उनले भने, ‘हामीले ताप्लेजुङदेखि इलामको पशुपति नाकाको बजारसम्म पु-याएर त्यहीँका व्यापारीलाई बिक्री गर्छौँ । त्यहाँका व्यापारीले भारतका विभिन्न बजारमा बिक्री गर्छन् ।’ नेपालमा पाइने धुपीपातको माग भारतमा उच्च भएको व्यापारी शेर्पाले बताए । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया