Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधकोरोना कहर : अभावै अभावमा बिरामीको ज्यान जान्छ !

कोरोना कहर : अभावै अभावमा बिरामीको ज्यान जान्छ !

न एम्बुलेन्स पाइन्छ, न त अस्पतालमा बेड र अक्सिजन नै


कञ्चनपुर ।
विश्वभर महामारीका रूपमा फैलिरहेको कोभिड १९ नामक कोरोना भाइरसको नयाँ भेरियन्टसहितको संक्रमणले पछिल्लो समयमा मानिसहरूलाई विछिप्त (बनाएको छ । महाकाली अस्पतालमा दिनप्रतिदिन कोरोनाका बिरामीहरू खचाखच भरिने क्रम बढिरहेको छ । तर बिरामीले भने दिनप्रतिदिन एम्बुलेन्स, शय्या र अक्सिजनको अभावै अभावमा अकालमै ज्यान गुमाउनु परिहेको छ ।

महाकाली अस्पतालमा नै प्रतिदिन औसतमा तीन जनाले ज्यान गुमाइरहेका छन् । हाल अस्पतालमा बेडको अभावमा सिकिस्त बिरामीहरूलाई पनि बाहिरै राखेर उपचार गराउनुपरेको छ भने कोही बिरामी समयमै उपचार नपाएर अकालमै ज्यान गुमाइरहेका छन् ।

अधिकांश मृत्यु भएका बिरामीहरूमा कसैले समयमै एम्बुलेन्स नपाएर मर्न बाध्य भएका छन् भने कसैले अक्सिजन नपाएर ज्यान गुमाइरहेका छन् । महाकाली प्रादेशिक अस्पतालमा हाल कोभिडका बिरामीको चाप बढ्नगई बेड अभाव भइरहेको बताइएको छ । बिरामीको उपचार गर्नका लागि बाहिर नै खुला आकासमा बिरामी सुत्न बाध्य छन् ।

सेती अस्पतालमा बिरामीले शय्या तथा बेड नपाएर बिरामीहरू यत्रतत्र छरिएर मृत्युवरण गरिरहेका छन् । कञ्चनपुर जिल्लामा दर्जनभन्दा बढी एम्बुलेन्स सेवा छन् तर कोभिडको बिरामी बोक्ने एम्बलेन्स भने हालसम्म तयार छैनन् । मकाहाली अस्पतालसँग भएका दुईवटा एम्बुलेन्समध्ये एउटाले कोभिडका बिरामी बोकिरहेको छ भने एउटाले कोभिडबाहेकका बिरामी बोकिरहेको बताइएको छ ।

रेडक्रसको एम्बुलेन्सले पनि दैनिक दुवै प्रकारका बिरामी बोकिरहेको छ । यीबाहेक अन्य कुनै पनि एम्बुलेन्सले सहजै कोरोना बिरामी बोकिरहेका छैनन् । गत साता मात्रै दोधारा चाँदनी नगरपालिका वडा नम्बर ७ बाबाथानस्थित लक्ष्मी माविका प्रधानाध्यापक लोकराज भट्टको महाकाली अस्पतालमा बेड अभाव हुँदा समयमै एम्बुलेन्स नपाएर रिफर गरेको अस्पताल लैजाँदै गर्दा बाटोमा ज्यान गयो ।

सुदूरपश्चिममा रहेका ठूला तीन अस्पताल महेन्द्रनगरको महाकाली अस्पताल, धनगढीको सेती अस्पताल र डडेल्धुराको डडेल्धुरा अस्पतालमा कोभिडका बिरामीहरू भरिएर शय्या तथा बेड अभााव भइरहेको डाक्डरहरूले बताएका छन् । बेड खाली रहेको भनिएको डडेल्धुरा अस्पतालमा पनि शुक्रबारबाट बेड भरिएको बताइएको छ । सुदूरपश्चिमका सबै अस्पतालमा प्रयाप्त मात्रामा भेन्टीलेटर पनि छैन । अधिकांश अस्पतालमा दुई/तीनवटा मात्रै भेन्टीलेटरयुक्त वार्ड रहेको छ ।

महाकाली अस्पतालमा बेड अभावका कारण बिरामीहरूको अस्पतालबाहिरै राखेर उपचार भइरहेको छ । करिब दुई हप्ता होम क्वारेन्टीनमा बसेका दोधारका एक जना बिरामीलाई शनिबार राति अस्पताल ल्याइएको थियो, तर उनले महाकाली अस्पतालमा बेड नपाएपछि हाल इमरजेन्सी वार्डको बाहिर खुला आकासमा राखेर उनको उपचार भइरहेको छ ।

महाकाली अस्पतालले जनरल वार्डलाई समेत कोभिड संक्रमितको उपचारमा प्रयोग गरिरहेको छ । अस्पतालले बिरामीको चापलाई हेरेर ८० शय्याको बन्दोबस्त गरे पनि संक्रमणको दर यथावत रहेमा भने अस्पतालले धान्नै नसक्ने अवस्था आउने अस्पतालका कोभिड सम्पर्क व्यक्ति डक्टर गोबिन्द रोकाया बताउँछन् ।

‘अहिले आकस्मिक कक्षमा १० जना बिरामी छन् । अस्पतालमा छ जना डक्टरलगायत ३० जनामा कोभिड संक्रमण भएको छ’ उनले भने । सुदूरपश्चिम प्रदेशका सरकारी अस्पतालमा कोभिडका लागि छुट्याइएको शय्या खाली नहुँदा आकस्मिक कक्षमा बिरामीलाई होल्ड गरेर राख्नुपरेको अस्पतालहरूले बताएका छन् ।

यस्तै सेती अस्पतालमा पनि कोभिडका बिरामीले शय्या अभावमा भुइँमा ओछ्यान लगाएर उपचारको पर्खाइमा बस्नुपर्ने अवस्था आएको छ । सेती अस्पतालको आइतबार बिहान आकस्मिक कक्षमा भएका सबै शय्यामा मात्रै होइन बेञ्च, ग्यालरी र भुइँमा समेत बिरामीहरू पल्टिएका देखिन्थे । स्वास्थ्यकर्मीहरूले ग्यालरीमा शय्या लगाएर अक्सिजन दिनुपर्ने बिरामीलाई अक्सिजन दिइरहेका थिए भने अवस्था तुलनात्मकरूपमा ठीक रहेका बिरामीलाई घरमै बस्न सम्झाउँदै गरेको देखिन्थ्यो ।

स्वास्थ्यकर्मीहरू असिन पसिन भएर उपचारमा जुटेका देखिन्थे । सेतीको आकस्मिक कक्ष कोभिडका शंकास्पद बिरामीले भरिएको देखिन्थ्यो । सेतीकै कोभिड अस्पतालमा भने ६३ जना संक्रमितको उपचार भइरहेको छ ।

‘यो संकटको समयमा स्रोत साधनले भ्याएसम्म अस्पतालले अधिकतम बिरामीको उपचार गरिरहेको छ । कोभिड अस्पतालमा शय्या संख्याभन्दा बढी बिरामी छन् । आकस्मिक कक्षमा पनि धेरै बिरामी उपचार र परामर्शका लागि आउने गरेका छन्’ अस्पतालका सूचाना अधिकारी दिलिपकुमार श्रेष्ठले भने ।

डडेल्धुरा अस्पतालमा पनि पहाडी ७ जिल्लाका कोभिड संक्रमित उपचारको लागि आउँछन् । बिरामीको संख्या बढेसँगै अस्पतालले २१ शय्याबाट बढाएर कोभिड उपचारका लागि ३० शय्याको जोहो गरिरहेको बताइएको छ । ‘अस्पतालमा देनिक ५/६ जना नयाँ संक्रमित आइरहेका तर निको भने दैनिक तीन जनाको अनुपातमा मात्रै भइरहेका छन् ।

अस्पतालले लक्षणसहित आएका बिरामीलाई अहिलेसम्म त भर्ना गरेको छ । तर संक्रमणको दर हेर्दा भोलिका दिनहरूमा समस्या हुन्छ कि भन्ने लागेको डडेल्धुरा अस्पतालका सूचना अधिकारी टंक पन्तले बताए । यस्तै महेन्द्रनगर लगायत सुदूरपश्चिममा अक्सिजनको अभाव चुलिँदो छ ।

हाल एउटा सिलिन्डरबाट दुई जनालाई अक्सिजन दिइरहनुपर्ने अवस्था आइरहेको महाकाली अस्पतालले बताएको छ । यस्तै डडेलधुरा अस्पतालका सूचना अधिकारी पन्तले पनि अस्पतालमा अक्सिजनको समस्या हुनथालेको जानकारी दिए । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया