Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधकालोपत्रेको तयारीमा देउराली क्षेत्रपा–फेदी सडक

कालोपत्रेको तयारीमा देउराली क्षेत्रपा–फेदी सडक


दोलखा ।
जिल्लाको बैतेश्वर गाउँपालिकाभित्रका ग्रामीण तथा कृषि सडक धमाधम कालोपत्रे गर्न सुरु गरिएको छ  । गाउँपालिका वडा नम्बर ४ र ८ अन्तर्गतमा पर्ने ग्रामीण सडक देउराली फेदी–क्षेत्रपा सडकको कालोपत्रे पनि आगामी सातादेखि सुरु हुनेभएको छ ।

प्रदेश सरकार र गाउँपालिकाको अनुदानमा उक्त सडक कालोपत्रे हुनलागेको हो । सडक कालोपत्रेको लागि चालू आर्थिक वर्षमा बैतेश्वर गाउँपालिकाले एक करोड र वाग्मती प्रदेशले एक करोड रूपैयाँ रकम छुट्याएको छ । गत आवमा छुट्याइएको दुई करोड रूपैयाँले उक्त सडकमा मैनापोखरीदेखि सडक ढलान सुरु गरिएको थियो ।

यस वर्ष थप दुई करोड बजेटले ११ सय मिटर थप सडकको कालोपत्रे गर्ने गाउँपालिकाले योजना बनाएको छ । गाउँपालिकाले क्रमगतरूपमा मैनापोखरीदेखि फेदी क्षेत्रपासम्मको पाँच किलोमिटर सडक कालोपत्रे गर्न लागेको हो । जसमध्ये यसवर्ष एक किलोमिटर सडक पिच गर्ने गाउँपालिकाले जनाएको छ । सो सडक कालोपत्रे गर्न गाउँपालिकाले दियल कन्स्ट्रक्सन एन्ड सप्लायसलाई जिम्मा दिएको छ ।

मंसिरसम्ममा काम सक्नेगरी जिम्मा दिएको कम्पनीले सडकको ग्राबेलिङ, नाला, ग्राबेल र बेसको काम सकेर वैशाख २४ गतेदेखि पिच हाल्ने तयारी गरेको कम्पनीका प्रमुख सुवास तामाङले बताए । मौसमले साथ दिए तोकिएको समयभन्दा दुई महिनाअघि नै कालोपत्रे सक्ने उनले बताए ।

ग्रामीण सडक कालोपत्रे हुने भएपछि वडा नम्बर ८ का स्थानीयहरू आवत जावतमा सहज हुने भन्दै खुसी देखिएका छन् । बैतेश्वर गाउँपालिकाले अन्य चार किलोमिटर ग्रामीण सडकको कालोपत्र गर्न करिब १० करोड बजेट छुट्याएको छ । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया