Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधनिषेधाज्ञाको मौका छोपेर बढी भाडा असुल्ने पाँच जना पक्राउ

निषेधाज्ञाको मौका छोपेर बढी भाडा असुल्ने पाँच जना पक्राउ


काठमाडौं ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले निषेधाज्ञाको मौका छोपेर यात्रुसँग बढी भाडा लिने पाँच जनालाई पक्राउ गरेको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि जारी भएको निषेधाज्ञामा मौकाको फाइदा लिन खोज्ने उनीहरूलाई प्रहरीले नयाँ बसर्पाक र कलंकीबाट नियन्त्रणामा लिएको हो । नयाँ बसपार्कबाट पोखरा माइक्रो र बुटवल भैरहवा काउन्टरको तीन जना कर्मचारी र कलंकी चोकबाट काउन्टरका दुई जना कर्मचारीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

बसपार्क काउन्टरका कर्मचारीले काठमाडौँदेखि पोखरासम्मको नियमित भाडा पाँच सय र बुटवलसम्म १२ सय तोकिएकोमा पाँच सय प्रतिशतसम्म बढी भाडा लिएकोले उनीहरूलाई पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए । उनीहरूले पोखरा जाने यात्रुसँग तीन हजार पाँच सय रूपैयाँ र बुटवल जाने यात्रुबाट छ हजार रूपैयाँका दरले भाडा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूले उपत्यका छाडी आफ्नो घर फर्किन खोज्ने यात्रुहरूलाई ग१ख ९६२१ मार्फत पोखरा र बा४ख ५१९७ नम्बरको बसमार्फत बुटवल जाने यात्रुहरूबाट बढी भाडा असुलेका हुन् । पक्राउ पर्नेमा पोखरा माइक्रोमा काम गर्ने पोखरा–३३ घर भई काठमान्डौँ बस्ने वर्ष ३२ को बन्दराज पराजुली र रतुवामाई–९ मोरङ घर भई नेपालटार बस्ने वर्ष २९ को नवीन पौडेल साथै बुटवल भैरहवा काउन्टरमा काम गर्ने धादिङ थाक्रे–७ का वर्ष २९ का रञ्जित सिलवाल रहेको महाशाखाले जनाएको छ ।

यस्तै प्रहरीले कलंकी चोकबाट काउन्टरका दुई जना कर्मचारी, खोटाङ घर भई कलंकी बस्ने वर्ष ३५ को भीमबहादुर खड्का र रौतहट घर भई खसीबजार बस्ने वर्ष ५० को बैजनाथ चौधरीलाई पक्राउ गरेको हो । उनीहरूले काठमाडौँदेखि झापा मोरङको नियमित भाडा एक हजारदेखि एक हजार दुई सयसम्म भए पनि यात्रुसँग दुई गुणा बढी जनही दुई हजार पाँच सय रूपैयाँका दरले भाडा उठाउने गरेका थिए ।

उनीहरूले उपत्यकाको रिङरोडमा चल्ने बा४ख १९२५ नम्बरको पाथीभरा दर्शनको भाडा बसमा यात्रु लग्नेगरी टिकट काटिएको पाइएको महाशाखाले जनाएको छ । ट्राफिक प्रहरी महाशाखाले यस्तो विषम परिस्थितिमा हुनसक्ने यात्रु ठगी तथा आइपर्न सक्ने यातायातसम्बन्धी समस्या अनुगमनको लागि सादा पोसाकमा विशेष टोली परिचालन गरेको छ । टोलीले आफैँ यात्रु बनेर भाडा मोलमोलाइ गर्ने र बढी भाडा लिनखोज्नेलाई निगरानीमा राखी नियन्त्रण गर्नेगरेको छ ।

यस्तै यात्रुसँग बढी भाडा लिने बाग्लुङ भगवती काउन्टरका कर्मचारी वर्ष ३० को मिलन सारुलाई महाशाखाले बुधबार पक्राउ गरेको थियो । बढी भाडा लिएमा वा सार्वजनिक यातायातसम्बन्धी कुनै गुनासो भएमा प्रहरीको हटलाइन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्न समेत महाशाखाले अनुरोध गरेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया