Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधस्याङ्जाको चापाकोट नगरपालिकामा  २६ जना संक्रमित, ८० जनाको स्वाब संकलन

स्याङ्जाको चापाकोट नगरपालिकामा  २६ जना संक्रमित, ८० जनाको स्वाब संकलन


चापाकोट ।
स्याङ्जाको चापाकोट नगरपालिकामा झण्डै ८० जनाको स्वाब संकलन गरिएको छ । पछिल्लो केही दिनयता कोरोना भाइरस संक्रमण बढ्नथालेपछि शुक्रबार नगरपालिकाले १० वटै वडामा नमूना स्वाब संकलन गरी परीक्षण गर्नलागेको हो ।

नगरपालिका मेयर शिव गिरीका अनुसार संकलित स्वाबको रिपोर्ट आउन बाँकी छ । चापाकोटका ४, ९ र १० नम्बर वडामा कोरोनाको अलि बढी नै प्रभाव देखिएको गिरीले जानकारी दिए । चापाकोटमा अहिले २६ जना संक्रमित रहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाका सूचना अधिकारी तथा स्वास्थ्य प्रमुख विन्दु कोइरालाले हालसम्म नगरपालिकामा उक्त संक्रमित भेटिएको जानकारी दिए ।

यसैबीच, नगरपालिकाको ८ नम्बर वडाका एक जनाको संक्रमणकै कारण चितवनको भरतपुरमा उपचारका क्रममा मृत्यु भएको छ । यद्यपि जिल्लाले मृत्युबारे बताउन बाँकी नै छ । संक्रमण आशंका भएमा नगरपालिकाले उनीहरूलाई राख्न क्वामीमा रहेको आयुर्वेदिक अस्पतालमा अक्सिजन सपोर्ट दिने गरी आइसोलेसन सेन्टर बनाएको मेयर गिरीले बताए ।

गिरीले भने, ‘यो अस्पताललाई रेस्क्यु सेन्टरको रूपमा प्रयोग गरिरहेका छौँ। संक्रमणको आशंका भएर यहाँ आउनेलाई अक्सिजन सपोर्ट दिएर पोखरा रिफर गर्ने गरेका छौँ ।’ हालसम्म ५/६ जनालाई यसरी पोखरा पठाउनुपरेको उनले जनाए । नगरपालिकामा एउटा मात्रै अस्पताल रहेको छ। चापाकोट हस्पिटलमा पछिल्लो समय हरेक दिनजसो औसतमा चार जनासम्म संक्रमित आउने गरेका छन् ।

अस्पतालका जनस्वास्थ्य निरीक्षक युवराज आचार्यले दिनमा २–४ जनासम्म बिरामी आउने गरेको बताए । सामान्य अवस्थाका बिरामीलाई अक्सिजन सपोर्ट दिने गरिएको उनको भनाइ छ । गम्भीर अवस्थाकालाई भने पोखरा रिफर गरिने गरिएको छ ।

१५ शय्याको अस्पताल भए पनि ७÷८ वटा शय्यामात्रै भएको कारण बिरामी बढेमा कठिनाइ हुने देखिन्छ । अस्पतालको आफ्नै भवन नहुँदा अहिले उपचारमा अप्ठ्यारो परेको हो। केही गम्भीर प्रकृतिका बिरामी भने आफैँ पनि पाल्पा, पोखरा उपचारका लागि जाने गरेका छन् ।

निरीक्षक आचार्यका अनुसार काठमाडौँ लगायत देशका विभिन्न स्थानमा निषेधाज्ञा जारी भएसँगै गाउँ गाउँमा संक्रमितको संख्या बढेको छ । यता नगरपालिकाका मेयर गिरी पनि १६ गतेपछि संक्रमितको संख्या बढ्नथालेको बताउँछन् ।

गिरीका अनुसार स्याङ्जाको पुतलीबजार नगरपालिकामा १५/२० जना संक्रमित छन् भने वालिङमा कोरोनाको प्रभाव झनै बढी छ । निषेधाज्ञा हुने भएसँगै उपत्यकालगायत विभिन्न सहरबाट गाउँ फर्किएकाहरूमा पनि संक्रमण देखिएको छ। यद्यपि नगरपालिकाले उनीहरूलाई घरमै क्वारेन्टाइनमा बस्न लगाएको मेयर गिरी बताउँछन् । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया