Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधऐन आएको एक वर्ष बित्दा विनियमावली आएन

ऐन आएको एक वर्ष बित्दा विनियमावली आएन


प्रवीण राउत
काठमाडौं, माघ २
देशमा चुलिँदै गएको व्यापारघाटालाई न्यूनीकरण गरी निकासीको प्रवर्द्धनात्मक विकास गर्ने उद्देश्यले स्थापना गरिएको विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) सञ्चालनको लागि विनियमावली नबन्दा र कार्यकारी निर्देशक पद रिक्त हुँदा सञ्चालनमा कठिनाइ भएको छ । विशेष आर्थिक क्षेत्र ऐन २०७५ चैतमा संशोधन भए पनि विनियमावली आउन सकेको छैन । सेजका प्रवक्ता सुन्दर थापाले ऐन चैतमा संशोधन भए पनि विनियमावली हालसम्म आएको बताए । ‘गत चैतमा ऐन संशोधन भएको हो’, उनले भने, ‘एक वर्षभन्दा बढी समय हुँदा विनियमावली आउन सकेको छैन ।’

विनियमावली मस्यौदा भने प्राधिकरणले मन्त्रालयमा पठाएको भए पनि हालसम्म कुनै जानकारी प्राप्त नभएको जनाएको छ । यता मन्त्रालयले भने सो विषयमा काम भइरहेको जनाएको छ । मन्त्रालयका औद्योगिक पूर्वाधार तथा लगानी प्रवर्द्धन महाशाखाका सहसचिव शोभाकान्त पौडेलले विनियमावली मन्त्रिपरिषद्मा नपुगेको बताए । ‘विनियमावली मन्त्रिपरिषद्मा पुगेको छैन’, उनले भने, ‘मस्यौदा भने तयार भइसकेको छ ।’

विनियमवली नआउँदा सेजको दैनिक प्रशासनिक काम सञ्चालन भए पनि आर्थिक काम भने सञ्चालन हुन नसकेको प्रवक्ता थापाले बताए । ‘कर्मचारीहरु आउनुहुन्छ आफ्ना कामहरु गरेर जानु हुन्छ’, उनले भने, ‘सेजका सम्बन्धमा भने कुनै काम अघि बढाउन सकेका छैनौं ।’ विनियमावली र कार्यकारी निर्देशक दुवै नहुँदा प्राधिकरण सञ्चालनमा कठिनाइ भएको अधिकारीहरु बताँउछन् ।

अहिले मात्रै नभएर सेजमा यसअघि पनि कार्यकारी निर्देशक पद विभिन्न समयमा रिक्त हुदै आएको पाइन्छ । पछिल्लो समय सेजको कार्यकारी निर्देशकको रुपमा सह–सचिव रामचन्द्र ढकाल र चण्डिका प्रसाद भट्टले जिम्मेवारी सम्हालेका थिए । केही समय सहसचिव रामचन्द्र ढकाललाई कार्यकारी निर्देशक दिएको थियो भने उनी सरुवा भएसँगै सेजमा निर्देशक पद रिक्त छ । ढकाललाई असोज अन्तिममा जिम्मेवारी दिएको थियो भने पुस २२ सम्म उनले जिम्मेवारी सम्हालेका थिए । त्यसअघि भने भट्ट कार्यकारी निर्देशक भएर सेजको जिम्मेवारी सम्हालेका थिए ।

कार्यालय प्रमुख नै नहुँदा काम गर्न समस्या भएको कर्मचारीले बताए । ‘नाम नबताउने शर्तमा प्राधिकरणका एक अधिकारीले कार्यालय प्रमुख छैनन्, हामीले भैरहवा सेजमा सबस्टेसन निर्माण र प्लटका लागि कसरी बोलपत्र आह्वान गर्न सक्छौं’, उनले भने, ‘यस्तै निमित्त कार्यकारीको जिम्मेवारी समेत कसैलाई नदिएको कारण सेजका काम कारबाही अघि बढ्नसकेको छैन ।’ ती अधिकारीले प्राधिकरण स्वयत्त हुने भनिए पनि व्यवहारतः स्वयत्त हुनसकेको छैन ।

सेजमा ४/५ जना स्थायी कर्मचारीबाहेक अन्य कर्मचारीहरु अस्थायी करार रहेका छन् । भैरहवा सेजमा जमिन (प्लट) माग गर्ने उद्योगीहरु आए पनि जमिन उपलब्ध गराउन सकेको छैन । हाल भैरहवा सेजमा २२ वटा प्लट खाली रहेको छ । ‘पछिल्लो समय पाँच जना उद्योगीले पूर्वाधारको कमी देखाँउदै सेजबाट बाहिरिएका थिए’, उनले भने, ‘योसँगै २२ वटा प्लट सेजमा खाली भएको हो । खाली भएसँगै माग गर्ने उद्योगीहरु समेत प्रशस्त छन् ।’

पछिल्लो समय भैरहवा सेज सञ्चालनमा आउने प्रयास गरिरहेको छ भने पाँचखाल सेज निर्माणको चरणमा छ । मुलुकभर १५ वटा सेज निर्माण गर्ने योजना सरकारको रहेको छ भने हालसम्म सिमराबाहेक अन्य सेज पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया