Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधस्याङ्जाका ११ स्थानीय तहलाई ४ अर्ब ३४ करोड ७६ लाख रूपैयाँ विनियोजन

स्याङ्जाका ११ स्थानीय तहलाई ४ अर्ब ३४ करोड ७६ लाख रूपैयाँ विनियोजन


स्याङ्जा ।
सरकारले आगामी आर्थिक वर्षका लागि स्याङ्जाका ११ स्थानीय तहलाई चार अर्ब ३४ करोड ७६ लाख रूपैयाँ विनियोजन गरेको छ । आर्थिक वर्ष २०७८÷७९ का लागि यहाँका ११ तहलाई उक्त रकम विनियोजन गरिएको हो । यहाँका पाँच नगरपालिकालाई दुई अर्ब ५१ करोड २१ लाख र छ गाउँपालिकाको लागि एक अर्ब ८३ करोड ५५ लाख विनियोजन गरिएको छ ।

नगरपालिकामा सबैभन्दा बढी पुतलीबजारलाई ५८ करोड ६४ लाख रूपैयाँ विनियोजन गरिएको छ भने सबैभन्दा कम भीरकोटलाई ३८ करोड ५१ लाख विनियोजन गरिएको छ । पुतलीबजार नगरपालिकालाई समानीकरण अनुदानमा १५ करोड तीन लाख र ससर्त अनुदानअन्तर्गत ४३ करोड ६१ लाख गरी ५८ करोड ६४ लाख रूपैयाँ विनियोजन गरिएको हो । भीरकोटलाई समानीकरणमा १० करोड ८० लाख, ससर्तअन्तर्गत २५ करोड ८० लाख, समपूरक अनुदान ६६ लाख र विशेष अनुदान एक करोड २५ लाख विनियोजन भएको छ । यस्तै वालिङ नगरपालिकालाई ५७ करोड ६७ लाख विनियोजन भएको छ ।

उक्त रकममध्ये समानीकरणमा १६ करोड ३९ लाख, ससर्तअन्तर्गत ३९ करोड ६२ लाख र विशेष अनुदान एक करोड ६६ लाख विनियोजन भएको हो । गल्याङ नगरपालिकालाई समानीकरणमा १३ करोड ४३ लाख, ससर्त अनुदानअन्तर्गत ३५ करोड ४६ लाख, समपूरक अनुदान चार करोड छ लाख र विशेष अनुदान ८४ लाख गरी जम्मा ५३ करोड ७९ लाख विनियोजन भएकोे छ । त्यस्तैगरी चापाकोट नगरपालिकालाई समानीकरण अनुदानमा १० करोड ६७ लाख, ससर्त अनुदानअन्तर्गत २८ करोड ३८ लाख, समपूरक अनुदान एक करोड ३९ लाख र विशेष अनुदानमा दुई करोड १६ लाख गरी ४२ करोड ६० लाख रूपैयाँ विनियोजन भएको छ ।

गाउँपालिकामा सबैभन्दा बढी कालीगण्डकीलाई ३५ करोड ६५ लाख रूपैयाँ विनियोजन गरिएको छ भने कम फेदीखोलालाई २४ करोड ३७ लाख विनियोजन गरिएको छ । कालीगण्डकीलाई समानीकरणमा १० करोड २२ लाख, ससर्ततर्फ २२ करोड १६ लाख, समपूरकमा एक करोड १९ लाख र विशेष अनुदान दुई करोड आठ लाख विनियोजन गरेको हो । समानीकरणमा आठ करोड ५७ लाख, ससर्तअन्तर्गत १८ करोड २४ र समपूरकतर्फ ८३ लाख गरी अर्जुनचौपारीलाई २७ करोड ६४ लाख विनियोजन गरेको छ ।

त्यस्तै समानीकरणमा आठ करोड ७३ लाख, ससर्तअन्तर्गत २१ करोड ६४, समपूरकतर्फ दुई करोड आठ लाख र विशेष अनुदान एक करोड ३३ लाख गरी आँधीखोलालाई ३३ करोड ७८ लाख विनियोजन भएकोे छ । समानीकरणमा सात करोड ५८ लाख, ससर्तअन्तर्गत १५ करोड ४६ लाख, समपूरक ४२ लाख र विशेष अनुदान ९१ लाख गरी फेँदीखोलालाई २४ करोड ३७ लाख विनियोजन गरेको छ ।

यस्तै समानीकरणमा नौ करोड १० लाख, ससर्तअन्तर्गत २० करोड चार लाख, समपूरक अनुदान ४६ लाख र समपूरक एक करोड ४५ लाख गरी बिरुवा गाउँपालिकालाई ३१ करोड पाँच लाख विनियोजन भएको छ । समानीकरणमा आठ करोड ७८ लाख, ससर्तअन्तर्गत १७ करोड १७, समपूरकमा दुई करोड ६२ लाख र विशेष अनुदानमा दुई करोड ४९ लाख गरी हरिनासालाई ३१ करोड छ लाख विनियोजन भएको छ ।

जिल्लामा विनियोजित रकममध्ये समानीकरणमा कुल एक अर्ब १९ करोड ३० लाख, ससर्त अनुदानअन्तर्गत दुई अर्ब ८७ करोड ५८ लाख, समपूरक अनुदान १३ करोड ७१ लाख र विशेष अनुदान १४ करोड १७ लाख रूपैयाँ रहेको छ । यो रकम अघिल्लो वर्षभन्दा ४० करोड ५४ लाख बढी हो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया