Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिध‘प्रशोधित खाने तेलमा भएको मूल्यवृद्धि कृत्रिम अभावले होइन’

‘प्रशोधित खाने तेलमा भएको मूल्यवृद्धि कृत्रिम अभावले होइन’


काठमाडौं ।
नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले पछिल्लो समयमा भइरहेको खाने तेलको मूल्यवृद्धि उद्योगहरूबाट कृत्रिम अभाव सिर्जना गरेर नभएको बताएको छ । हालको मूल्यवृद्धि अन्तर्राष्ट्रिय बजारमा दिनहुँ भइरहेको मूल्यवृद्धिको कारणले भएको संघले जानकारी दिएको छ । संघले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रशोधित खानेतेलमा भएको मूल्यवृद्धिका विषयमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट समेत पटक–पटक सोधनी भएकोले अन्तर्राष्ट्रिय बजारअनुसार नै मूल्यवृद्धिको भएको स्पष्ट पारेको छ ।

संघका अनुसार संघमा आबद्ध रहेका २० वटा प्रशोधित खानेतेल उत्पादन गर्ने उद्योगहरूले नियमितरूपमा आफ्ना उत्पादनहरू सोयाविन तेल, सनफ्लावर तेल इत्यादि उत्पादन गरी स्थानीय बजारमा साथै निकासी समेत गर्दै आइरहेका छन् ।

उद्योगहरूलाई चाहिने मुख्य कच्चा पदार्थ क्रुड सोयाविन तेल, क्रुड सनफ्लावर तेल र तोरीको गेडा शतप्रतिशत ब्राजिल, अर्जेन्टिना, क्यानडा, अष्ट्रेलिया, युक्रेनलगायतका देशहरूवाट आयात गर्नुपर्छ । यसरी मुख्य कच्चा पदार्थ अन्तर्राष्ट्रिय बजारबाट आयात गर्नुपर्दा अन्तर्राष्ट्रिय बजारको व्यापारअनुरूप नै नेपालको बजारको समेत मूल्य निर्धारण हुने संघले बताएको छ ।

विगत करिब १६ महिनादेखि नै विश्वमा फैलिएको महामारी कोभिड– १९ तथा अन्य भू–राजनीतिक मुद्दाहरूले गर्दा खाने तेलको मूल्यमा समेत अस्वाभाविक रूपमा वृद्धि हुनगएको संघको भनाइ छ । संघका अनुसार पनि तेलको मूल्य हालसम्मको ऐतिहासिक मूल्यवृद्धि हो ।

मार्च २०२० मा ६ सय १४ अमेरिकी डलर मेट्रिक टन रहेको अर्जेन्टिना सोयाविनको तेलको मूल्य एक वर्षमा असामान्य वृद्धि भई एक हजार दुई सय ७९ अमेरिकी डलर पुगेको छ । यस्तै छ सय ५६ अमेरिकी डलर मेट्रिक टन रहेको युक्रेन सनफ्लावरको तेलको मूल्य एक वर्षमा असामान्य वृद्धि भई एक हजार पाँच सय ८० अमेरिकी डलर पुगेकोे छ । संघका अनुसार क्रुड सोयाविन तेल अप्रिल ८, २०११ मा एक हजार एक सय ९० अमेरिकी डलरबाट बढेर अप्रिल २२, २०२१ मा आइपुग्दा एक हजार दुई सय ७९ अमेरिकी डलर (१ हजार ३ सय ५० अमेरिकी डलर सिएनएफ हाल्डिया) पुगेको छ ।

यो दुई हप्तामा ९० अमेरिकी डलर पर मेट्रिक टन मूल्यवृद्धि हुनगएको छ । क्रुड सनफ्लावर तेल अप्रिल ८, २०२१ मा एक हजार ५३० अमेरिकी डलरबाट बढेर अप्रिल २२, २०२१ मा एक हजार पाँच स ८० अमेरिकी डलर (१ हजार ६० अमेरिकी डलर सीएनएफ हाल्डिया) पुगेको छ ।

नेपालका लागि जहाज आउने हाल्डिया बन्दरगाह छिमेकी मुलुक भारतको पश्चिम बंगाल राज्यमा पर्दछ । त्यस राज्यमा भएको दुई महिनालामो निर्वाचन, कोभिड–१९ को निषेधाज्ञा र पेट्रोलियम पदार्थमा भएको अत्यधिक मूल्यवृद्धिको कारण हाल्डियादेखि नेपाल भन्सारसम्मको ढुवानी असहज र महँगो हुनगएको संघले जनाएको छ ।

यस्तै सहायक कच्चा प्रदार्थ र प्याकिङ सामग्रीमा प्रयोग हुने सामानको मूल्य समेत अन्तर्राष्ट्रिय बजारमा अत्यधिक वृद्धि भएको संघले जनाएको छ । संघका अनुसार कोभिड–१९ र निषेधाज्ञाको कारण उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन नसकी करिब ४० प्रतिशतकै क्षमताको हाराहारीमा मात्र उत्पादन गरिरहेका छन् ।

खानेतेलमा भन्सार महशुल १० प्रतिशत र मूल्य अभिवृद्धि कर १३ प्रतिशत भएकोले एक वर्षमा कच्चा पदार्थको मूल्यमा भएको दोब्बर वृद्धिका कारण गत वर्षमा महशुल सरदर २० रूपैयाँ प्रतिलिटर रहेकोमा हाल सरदर ४० रूपैयाँभन्दा बढी पुगिसकेको छ । हालसम्म पनि चलनचल्तीको अन्तर्राष्ट्रिय मूल्यअनुसारको नेपालको मूल्य अझै परिमार्जित हुननसकेको पनि संघले जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया