Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधटीकापुर घटनाका दोषी रेशम चौधरीको मुद्दा फिर्ता गर्न सरकारले पहल गर्ने

टीकापुर घटनाका दोषी रेशम चौधरीको मुद्दा फिर्ता गर्न सरकारले पहल गर्ने


काठमाडौं ।
टीकापुर घटनाका मुख्य नाइके एवं जनता समाजवादी पार्टीका नेता रेशम चौधरीलगायतको मुद्दा फिर्ता गर्न सरकारले पहल गर्नेभएको छ । सरकार र थारु कल्याणकारिणी सभाबीच छ बुँदे सहमति समेत भएको छ । सहमति पत्रमा सरकारले टीकापुर घटनामा दोषी निवर्तमान सांसद रेशमलाल चौधरीलगायतकाको मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानुनसम्मत पहल गर्ने उल्लेख छ ।

कानुन, न्याय तथा संसदीय मामिलमन्त्री लिलानाथ श्रेष्ठ र सभाको थारुहट÷थारुवान सयुक्त संघर्ष समितिका वार्ता टोली प्रमुख रुक्मिणी चौधरीले मंगलबार सिंहदरबारमा सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । थारुहट/थारुवान आन्दोलनका क्रममा टीकापुरमा भएको दुःखद् घटनामा आरोपित चौधरीसहित धनीराम र लक्ष्मण चौधरीमाथि लगाइएका सम्पूर्ण मुद्दा फिर्ता र रिहाइका लागि पहल गर्ने सहमति भएको छ ।

यसैगरी थारुहट/थारुवान आन्दोलनका क्रममा सहिद भई राहत प्राप्त गर्न छुटेका परिवारलाई राहत उपलब्ध गराउने, सहिद परिवारको उचित व्यवस्थापन गर्ने, घाइतेको उपचार गर्ने र आन्दोलनका क्रममा विभिन्न स्थानमा भएको धनजनको क्षतिको छानबिन र मूल्यांकन गरी क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रिया अघि बढाउने, महिला र असहायमाथि दुर्व्यवहार गर्नेलाई छानबिन गरी कानुनी दायरमा ल्याउने विषयमा पनि सहमति भएको छ ।

सहमतिपत्रमा संविधान गतिशील दस्ताबेज भएकाले यसको संशोधन आवश्यकता र औचित्यताका आधारमा राजनीतिक दलहरूबीच सहमति कायम गरी विभिन्न समयमा विभिन्न राजनीतिक दल र समुदायका तर्फबाट उठाइएका विषयलाई सम्बोधन गरिने उल्लेख छ ।

यसैक्रममा थरुहट तराईको मुलवासी आदिवासी थारु समुदायको तर्फबाट हालै प्रस्तुत गरिएका र विगतमा सरकार र थारु समुदायका बीचमा भएका सहमतिका विषयमा संविधान संशोधनका क्रममा छलफल गरी सहमितका लागि उपयुक्त निर्णय गरिने उल्लेख छ । सहमतिपत्रमा सरकारका तर्फबाट मन्त्री श्रेष्ठ, सरकारी वार्ता टोलीका सदस्यद्वय डा. राजन भट्टराई र भगवती चौधरी तथा थरुहटका तर्फबाट वार्ता टोलीका संयोजक चौधरीसहित सदस्य प्रेमीलाल चौधरी, पद्मनारायण चौधरी, प्रभात चौधरी र चन्द्रप्रसाद चौधरीले हस्ताक्षर गरेका छन् । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया