Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधमहाकाली पुलको काम ७५ प्रतिशत सम्पन्न

महाकाली पुलको काम ७५ प्रतिशत सम्पन्न


कञ्चनपुर ।
महाकाली नदीमा निर्माण भइरहेको चारलेनको पक्की पुलको निर्माणकार्य ७५ प्रतिशत सम्पन्न भएको छ । भीमदत्त नगरपालिका–१२ ओदालीमा निर्माण भइरहेको उक्त पुलको भौतिक प्रगति ७५ प्रतिशत सकिएको निर्माण कम्पनीले जनाएको छ । जिल्लामा वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरिएको भए पनि पुल निर्माण कम्पनीले भने स्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गरेर निर्माण कार्यलाई निरन्तरता दिएको छ ।

‘हाम्रो वरपर कोरोना महामारीको प्रभाव कायमै रहेको अवस्था छ, हामीले निर्माण कार्यलाई समयमै सम्पन्न गर्ने उद्देश्यअनुरूप निर्माणकार्य प्रभावित हुन दिएका छैनौं’ कुमार सीएसईसी जेभी कम्पनीका इन्जिनियर किशोरराज पाण्डेयले भने, ‘पुलको निर्माणकार्य समयमै सम्पन्न गराउनको लागि कम्पनी पुलको निर्माण कार्य गरिरहेको छ, केही आवश्यक ठाउँमा कामदार अभाव भए पनि पुल निर्माणको स्ल्याब हाल्ने तथा ढलान गर्ने कार्य चलिरहेको अवस्था छ ।’

यसअघि पनि कोरोना महामारीमा पुलको निर्माणकार्यलाई निरन्तरता दिइएको थियो । पुलमा निर्माण गर्नुपर्ने पुलको ३२ वटा स्लायाबमध्ये तीनवटा स्लायाब मात्रै निर्माण गर्न बाँकी रहेको अवस्था छ । यस्तै पुलको पहुँच मार्गको आठ किलोमिटरमध्ये तीन किलोमिटर कालोपत्रे भसकेको उनले बताए ।

यस्तै २०७८ साल फागुनसम्म योजनाको सम्पूर्ण काम सक्ने योजना निर्माण कम्पनीको छ । यसअघि २०७४ सालमा नै पूर्वप्रधानमन्त्री शेरवहादुर देउवाले चार लेन महाकाली पुलको शिलन्यास गरेपछि निर्माणको जिम्मा पाएको कुमार सीएसईसी जेभीले कोरोना महामारीको दोस्रो लहरका बीच लक्ष्यअनुसारको प्रगति गर्न नसकेको भए पनि निर्माणकार्यलाई तदारुकता दिएको जनाएको छ ।

महाकाली चारलेन पुल निर्माणको सम्झौता तीन अर्ब २७ करोड ९३ लाख ३४ हजारमा भएको थियो । सीमानाका गड्डा चौकीसम्म जोड्ने छ किलोमिटर र दोेधरा चाँदनी नगरपालिकाको चाँदनीतर्फ डेढ किलोमिटर चारलेनको पहुँच मार्गको निर्माण कार्य पनि अन्तिम चरणमा रहेको छ ।

निर्माण कम्पनीका अनुसार पुलको लम्बाई आठ सय मिटर र चौडाइ भने २३ दशमलव आठ मिटर रहेको छ । यस्तै उता गड्डाचौकी र भुजेला खोलामा पर्ने दुईवटा साना पुलको निर्माणकार्य सकिएको इन्जिनियर किशोरराज पाण्डेयले बताए । पुल निर्माण कार्य २०७४ भदौमा सुरु भएर २०७७ भदौमा सम्पन्न हुने भनिए पनि केही प्राविधिक कारण एक वर्ष थप गरी २०७८ जेठ १९ गतेसम्म समय तोकिएको निर्माण कम्पनीले जनाएको छ । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया