Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधनिषेधाज्ञामा थप कडाइ

निषेधाज्ञामा थप कडाइ


दोलखा ।
जिल्लामा एक महिनादेखि गरिएको निषेधाज्ञालाई थप कडाइ गरिएको छ । गत साताको तुलनामा यो साताको आइतबारदेखि निषेधाज्ञालाई कडाइ गरिएको हो । जिल्ला प्रशासनको कार्यालय दोलखा र जिल्ला कोभिड व्यवस्थापन समितिको गत शनिबार बसेको बैठकले जेठ मसान्तसम्म निषेधाज्ञा थप गरेको थियो ।

निषेधाज्ञाको समयमा पनि हिँडडुल गर्ने मानिस र सवारीसाधनको चाप बढेपछि थप कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए । जिल्लामा वैशाख २३ गतेदेखि निषेधाज्ञा लगाइएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाले सवारी आवतजावत तथा बजारका पसल बिहानदेखि नै बन्द गर्न थालेको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन समितिको परिपत्रअनुसार बजारमा निषेधाज्ञा कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखा प्रहरी प्रमुख डीएसपी भेषराज रिजालले जानकारी दिए । जिल्लाका दुई मुख्य नाका खरीढुङ्गा र किर्नेटार नाकामा सवारी प्रवेशमा पनि कडाइ गरिएको छ ।

यस्तै जिल्लाको बैतेश्वर गाउँपालिकाको मैनापोखरी बजार, तामाकोशी बजारमा भने आइतबारदेखि बिहान १० बजेसम्म पसलहरू खोल्न थालिएको छ । बजारका व्यापारी तथा उद्योग वाणिज्य संघको मैनापोखरी शाखाले एक सूचना जारी गर्दै १० बजेसम्म पसल खुला गर्ने निर्णय गरेको हो ।

दोस्रो लहरको कोरोना भाइरसका कारण जिल्लाका एक दर्जन मानिसको मृत्यु भएको छ भने करिब दुई हजार मानिस संक्रमित भएका छन् । जिल्लामा न्यून मानिसको स्वाबको पीसीआर परीक्षा गर्दा पनि दैनिक संक्रमित वृद्धि भएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका स्वास्थ्य प्रमुख अर्जुन पौडेलले जानकारी दिए । दोलखामा हाल सात सय ७३ जना सक्रिय संक्रमित छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया