Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधनिर्धारित समयभित्र कोभिड खोपको दोस्रो मात्रा नभए के हुन्छ भन्नेमा अन्योल

निर्धारित समयभित्र कोभिड खोपको दोस्रो मात्रा नभए के हुन्छ भन्नेमा अन्योल


काठमाडौं ।
कोभिडविरुद्धको खोपको पहिलो मात्रा लगाएका व्यक्तिहरूले दोस्रो मात्रा निर्धारित समयभित्र लगाउन नसकेमा के हुन्छ भन्ने सन्दर्भमा स्वास्थ्य क्षेत्र नै अन्योलग्रस्त देखिएको छ । राजधानीमा बिहीबार आयोजित एक पत्रकार अन्तरक्रियामा सरुवारोग विज्ञ डा. सेरबहादुर पुनले कोभिडविरुद्धको खोपको एक मात्रा लगाएका व्यक्तिहरूले १२ देखि १६ हप्ताभित्रमा अर्को डोज लगाउन विश्व स्वास्थ्य संगठनले निर्देश गरे पनि निर्धारित समयभित्र दोस्रो मात्रा नभएमा के हुन्छ भन्नेमा स्पष्ट नभएको बताए ।

एड्स हेल्थ केयर फाउन्डेसन नेपालले संसारभर सञ्चालन गरिरहेको भ्याक्सीनेट आवर वल्र्ड अभियानका बारेमा जानकारी दिने उद्देश्यले आयोजना गरेको अन्तरक्रियामा डा. पुनले समयमा नै खोप उपलब्ध नभएर नेपालले ठूलो क्षति बेर्होनुपरेको बताए । विश्वमा खोप आविष्कार भइसक्दा नेपालजस्ता मुलुकको खोपमा पहुँच चुनौतीपूर्ण बन्नु चिन्ताको विषय भएको उनको भनाइ छ ।

यसैगरी चितवनको भरतपुर अस्पतालका कन्सेल्टेन्ट फिजिसियन डा. कल्याण सापकोटाले प्राप्त खोपलाई उमेरसमूहका आधारमा नभई जोखिमका आधारमा प्रथमिकतामा राख्न सकिए कोभिड संक्रमणलाई छिटो नियन्त्रण गर्नसकिने बताए । उनका अनुसार फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसँगै दीर्घरोग भएका व्यक्तिहरू र अनौपचारिक क्षेत्रबाट पहिलो पङ्क्तिमा बसेर काम गर्ने व्यक्तिहरू यसको प्राथमिक समूह बन्नुपर्ने उनको भनाइ छ ।

राष्ट्रिय एचआईभी तथा एड्स महासघंका अध्यक्ष राजेश दिदियाले एचआईभी संक्रमित, सुधारकेन्द्रमा रहेका लागुपर्दाथ प्रयोकर्ताहरू, यौनकर्मी, तेस्रो लिंगी समुदाय अहिले पनि उच्च जोखिममा रहेको भन्दै तुरुन्त खोपको प्राथमिकतामा राख्नुपर्ने बताए ।

सुरुवाती चरणमा एचआईभी संक्रमितलाई उपचारको पहुँचमा ल्याउन कठिन भएजस्तै अब कोभिड खोपमा पहुँच अभिवृद्धि गर्नु अर्को चुनौती भएको उनको भनाइ छ । विश्वका धनी राष्ट्रहरूको संगठन जी सेभेनको सम्मेलन यही हप्ता आयोजना हुँदै छ । उक्त बैठकमा विश्वका सबै राष्ट्रहरूको खोपमा पहुँचको सवाललाई छलफलको विषय बनाउनुपर्नेमा अन्तरक्रियाका सहभागीहरूले जोड दिएका छन् ।

अध्ययनहरूका अनुसार सन् २०२१ सम्ममा विश्वमा उत्पादित खोपमध्ये ८५ प्रतिशत हिस्सा विश्वका धनी राष्ट्रहरूले ओगट्नेछन् । जब कि यी राष्ट्रहरूले विश्वको कुल जनसंख्याको १४ प्रतिशत मात्र हिस्सा ओगट्छन् ।

यो तथ्यले कतै खोपलाई विश्वका धनी राष्ट्रहरूले कम विकसित राष्ट्रहरूमाथि आफ्नो प्रभुत्व जमाउने हतियारका रूपमा प्रयोग त गरिरहेका छैनन् ? भन्ने प्रश्न उठेको छ । तर विश्वका प्रत्येक राष्ट्रका नागरिकको खोपमा पहुँच नपुगेसम्म कोभिडको जोखिमबाट कोही सुरक्षित नहुने भन्दै खोपलाई सर्वसुलभ बनाउनुपर्ने माग एड्स हेल्थ केयर फाउन्डेसन (एएचएफ)ले भ्याक्सीनेट आवर वर्ल्ड अभियानमार्फत गरेको छ । एएचएफ एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो जसले विश्वका ५० भन्दा बढी मुलुकहरूमा काम गरिरहेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया