Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिध‘सेल्फी विथ डटर डे’मा प्रतिष्ठा लामाको सेल्फी प्रथम

‘सेल्फी विथ डटर डे’मा प्रतिष्ठा लामाको सेल्फी प्रथम


काठमाडौं ।
विगत एक महिनादेखि नेपालमा सञ्चालनमा रहेको ’सेल्फी विथ डटर’ अभियान बुधबार एक विशेष भर्चुअल कार्यक्रम आयोजना गर्दै सम्पन्न भएको छ । ’सेल्फी विथ डटर’ दिवसको रुपमा नेपाल र भारतमा संयुक्त रुपमा यो कार्यक्रम आयोजना गरिएको थियो । विगत केही वर्षदेखि नेपालको सामाजिक, प्राविधिक र अनुसन्धानको क्षेत्रमा काम गर्दै आइरहेको संस्था नेपाल इन्टरनेट फाउण्डेसनले भारतीय अभियन्ता सुनिल जागलनसँगको सहकार्यमा महिला सशक्तीकरण तथा लैंगिक समानताको मूल मर्मसहित ’सेल्फी विथ डटर’को कार्यक्रम नेपालमा पनि सञ्चालन गरेको हो ।

नेपालमा सञ्चालित एक महिनाको अभियानमा हजारौँ संख्यामा छोरीसँग सेल्फी पठाएका थिए । यस अभियानमा प्रतिभा घिसिङ र उनकी छोरी प्रतिष्ठा लामाको सेल्फीले प्रथम पुरस्कार प्राप्त गरेको छ । यसैगरी दक्ष्य बहादुर राइ र मोति सारासँग नातिनी निशुदिका राईको सेल्फीले दोस्रो स्थान प्राप्त गरेको छ भने यमुना प्रसाई र श्रेया पौडेलको सेल्फीले तेस्रो स्थान प्राप्त गरेको छ ।

विजेतालाई ट्रफी र प्रमाणपत्रका साथ क्रमशः २१ हजार, ११ हजार र पाँँच हजार एक सयको पुरस्कार प्रदान गरिएको छ । कार्यक्रममा भारतका युनियन मिनिस्टर अफ स्टेट रावो इन्द्रजित सिंहले भारतमा सामाजिक चेतना बढाउन ’सेल्फी विथ डटर’ अभियानले सकारात्मक प्रभाव पारेको बताए । उनले नेपाल र भारत देशमा अझै पनि छोरीलाई हेला गर्ने र छोराभन्दा फरक व्यवहार गर्ने गरेको हुँदा यसलाई निर्मूल गर्न प्रविधिमार्फत सामाजिक चेतना विकास गर्न यस्ता अभियानहरु चलाउनुपर्ने बताए ।

यसैगरी कार्यक्रममा पूर्वमहिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुली कुमारी महतोले नेपालजस्तो कम विकसित मुलुकमा अझै पनि छोराछोरीमा भेदभाव रहेको, दाइजोलगायतका सामाजिक कुरीति व्याप्त रहेको बताइन् । छिमेकी देश भारतबाट सुरु भएको छोरीहरुप्रति सम्मानको सामाजिक क्रान्ति नेपालमा पनि द्रुतगतिमा अघि बढिरहेको भन्दै उनले ’सेल्फी विथ डटर’जस्तो अभियानले सामाजिक चेतना विकास गर्न सघाउ पुग्ने बताइन् ।

कार्यक्रममा भारत सरकार इलेक्ट्रोनिक्स तथा आईटी मन्त्रालयअन्तर्गत राष्ट्रिय इ–गभर्नेन्स महाशाखा प्रमुख अभिशेख सिंहले सेल्फी विथ डटर अभियानले बिहीबार एक विश्वव्यापी आन्दोलनको रूप लिँदै गएको बताए ।

भारतका सुनिल जागलनको नेतृत्वमा सुरु भएको यो अभियान भारत र नेपालमा लोकप्रिय भएको छ । नेपालमा पनि यस किसिमको आभियानले छोरीलाई लैंगिक समानताको हिसाबले हेर्न र सोही किसिमले व्यवहार गर्न प्रोत्साहित गरेको नेपाल इन्टरनेट फाउन्डेसनका अध्यक्ष विक्रम श्रेष्ठले बताए । सेल्फी विथ डटर अभियान र फाउन्डेसनका संस्थापक सुनील जगलानको अनुसार यो अभियान हरियाणाबाट सुरु गरिएको हो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया