Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधकोरोना कहर : रोजगारीका लागि भारत जाने बढे

कोरोना कहर : रोजगारीका लागि भारत जाने बढे


महन्द्रनगर ।
कोरोना संक्रमणको दोस्रो लहरको दर घटिरहेको भए पनि अझै पूर्णरुपमा अवस्था सामान्य बनिसकेको छैन । तर कोरोना त्रासदीबीच जीविका चलाउन मजदुरी गर्न भारत जाने क्रम भने यहाँ बढ्दै गएको छ ।

सुदूरपश्चिम प्रदेशमा जारी निषेधाज्ञामा सार्वजनिक सवारी सञ्चालनमा नआए पनि यहाँको गौरीफन्टा नाकामा भने भारत जाने नेपालीहरुको लाम लाग्नथालेको छ । ‘डोटीबाट मोटसाइकलदेखि पैदल यात्रासम्म गरेर धनगढी पुगेर अब मजदुरी गर्न जाँदै छु’, कञ्चनपुरको पूर्वी गौरीफन्टाबाट भारतको मुम्बै जान हिँडेका दिपेन्द्र खड्काले भने, ‘यहाँ बसेर कोरोनाबाट त बाँच्यौँ तर भोकले मर्ने स्थिति बनेपछि मुग्लान जानुको विकल्प रहेन ।’ कोरोना कहरका बेला गत चैत्रमा स्वदेश फर्किएका खड्काले स्थानीयस्तरमा रोजगारीका कुनै सम्भावना नहुनु दुःखद कुरो भएको बताए ।

‘कृषि र पशुपालनमा लागेर गाउँमै बसेर जीविका चलाउने मन थियो’, उनले भने, ‘पारिवारिक अवस्था कमजोर त्यो सम्भव भएन ।’ गत चैत महिनामा यहाँको गड्डाचौकी नाका र गौरीफन्टा नाकाबाट स्वदेश फर्किनेको भीडभाड रहे पनि अहिले कोरोना कम हुँदा कामका लागि भारतको विभिन्न सहर जाने क्रम चलिरहेको छ । सुदूरपश्चिम प्रदेशको प्रमुख रोजगारीको गन्तव्य नै दशकौँदेखि भारत नै हो । डोकेबजारस्थित प्रहरी चौकीका प्रहरी नायब निरीक्षक खड्कजंग शाहीले गत जेठ महिनामा मात्रै गौरीफन्टा नाकाबाट १२ हजार सात सयभन्दा बढी नेपाली भारत रोजगारीका लागि गएको जानकारी दिए ।

‘भारतबाट स्वदेश फर्किनेहरुलाई गन्तव्यमा पु-याउन नाकामै बसको व्यवस्था गरिएको छ’, उनले भने, ‘बसहरु गन्तव्यमा यात्रु पु-याएर फर्किँदा त्यसैमा भारत जाने आउँछन् ।’ उनले गौरीफन्टा नाकाबाट सुदूरपश्चिमका पहाडी जिल्लासँगै सुर्खेत, कालीकोट, प्युठान, बर्दिया र पाल्पाबाट समेत भारत जान यहाँ आइरहेको बताए । प्रहरी नायब निरीक्षक शाहीका अनुसार गत जेठमा यहाँको नाकाबाट २४ हजार नेपाली स्वदेश फर्किएका थिए । ‘अहिले त महिला, बालबालिका गरी सिंगो परिवारसहित भारत गइरहेका छन्’, उनले भने, ‘यो नाकाबाट दिल्ली, मुम्बई, पुना, गुजरातलगायतका सहरमा बढी जाँदा रहेछन् ।’

त्यसैगरी शुक्रबार श्रीमानसहित कामका लागि भारतको पञ्जाव जान लागेकी डडेल्धुराकी धनादेवी जोशीले आफूहरु लामो समयदेखि भारतमा रोजगारीमा रहेर परिवारको जीविका चलाउँदै आएको बताइन् । ‘यहाँ त कोरोनाको बेलामा कामसमेत पाउने स्थिति छैन’, उनले भनिन्, ‘कोरोनाको समयमै रोगभन्दा भोकले मर्ने चिन्ताले परिवारसहित भारत जाँदै छौँ ।’ केही दिनयता भारतले पनि नेपाली नागरिकलाई भारत जान सहज गरेका कारण नेपालीहरु दैनिक रुपमा भारत जाने क्रम बढ्दै गएको हो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया