Techie IT
×
गृहपृष्ठबिबिधभक्तपुर चेम्बरद्वारा सप्ताहव्यापी रक्तदान कार्यक्रम आयोजना

भक्तपुर चेम्बरद्वारा सप्ताहव्यापी रक्तदान कार्यक्रम आयोजना


काठमाडौं ।
कोभिड–१९ नियन्त्रण तथा रोकथामको लागि सञ्चालित परमो धर्म अभियानलाई भक्तपुरमा तीव्र बनाइएको छ । विभिन्न संघ÷संस्थाहरूको सहकार्यमा भक्तपुर चेम्बर अफ कमर्स तथा भक्तपुर लायन्स सेवा समन्वय समितिले संयोजन गरेको अभियानअन्तर्गत अहिले सप्ताहव्यापी आकस्मिक रक्तदान कार्यक्रम भइरहेको छ । रगत संकलन गर्ने कार्यक्रममा ब्लोडान भक्तपुर र पायोनियर ओपन क्रूले सहकार्य गरेको छ ।

अभियानअन्तर्गत शनिबार थिमिको बालकुमारी (क्वलाखु) मा सम्पन्न रक्तदान कार्यक्रममा ४८ जनाले रगत दान गरेका छन् । ’हामीले स्वास्थ्य सुरक्षाको मापदण्डलाई मध्यनजर गरी रगत अभावको समस्यालाई पूर्ति गर्ने उद्देश्यले आकस्मिक रक्तदान कार्यक्रम गरेका छौँ’, कार्यक्रम संयोजक तथा भक्तपुर चेम्बरका सदस्य जगत बहादुर श्रेष्ठले भने । यसअघि शुक्रबार कमलविनायक भक्तपुरको लान्चा फल्चाबाट रगत संकलन गरिएको थियो ।

आइतबार सूर्यविनायक चोकबाट नगर प्रवेश गर्ने टुरिजम मार्केटमा रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । ‘कोभिडसँग लड्छौँ, हामी सेवा दिन्छौँ’, नारा दिएर सेवा परमो धर्म अभियान सञ्चालित छ । सोही अभियानअन्तर्गत जेठ १७ देखि विशेष किसिमको क्वारेन्टाइन सेन्टर सञ्चालनमा ल्याएको छ । जेठको तेस्रो हप्तादेखि अक्सिजन सिलिन्डर उपलब्ध गराउँदै आएको छ ।

अभियानले चाँगुनारायण नगरपालिकाद्वारा सञ्चालित कोभिड– १९ आइसोलेसन सेन्टरका लागि नेपाल इन्जिनियरिङ कलेज (नेक)सँग सहकार्य गरेको छ । कोभिड बिरामीको लागि चौबीसै घण्टा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । त्यसको लागि हटलाइन नं. ९८६१७५६४६१ सार्वजनिक गरिएको छ ।

त्यस्तै, भर्चुअल प्रविधिमार्फत सचेतना तथा परामर्श कार्यक्रम सञ्चालन गरी चिकित्सकीय परामर्शको लागि बिहान ७ देखि ९ बजेसम्म सम्पर्क गर्न सकिने गरी ९७४२८८२९६२, ९७४२८८२९६३ र ९७४२८८२९६४ हटलाइन नम्बरहरू सार्वजनिक गरिएको छ । अभियानअन्तर्गत भक्तपुरबासीहरूको लागि सुरक्षित तबरले ‘डोर टु डोर हेल्थ सर्भिस’ समेत सञ्चालित छ ।

कोभिडविरुद्धको संयुक्त सेवा अभियानमा भक्तपुर जिल्ला प्याब्सन, भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघ, भक्तपुर डक्टर्स सोसाइटी, नेपाल नर्सिङ संघ, सीबीआर, भक्तपुर हार्ट एण्ड डायबिटिज सेन्टर, निरोग मेडिकल केयर एट होम, भक्तपुर पार्टी प्यालेस तथा क्याटरिङ संघ र त्रिनेत्र बचत तथा ऋण सहकारी संस्थाहरूले संस्थागत सहकार्य गरेका छन् । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया