Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधअन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूद्वारा स्वास्थ्य सामग्री सहयोग

अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूद्वारा स्वास्थ्य सामग्री सहयोग


काठमाडौं ।
अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको संघ (एआईएन)ले समाज कल्याण परिषद्सँगको समन्वयमा कोभिड १९ महामारीको रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई नौ करोड ८० लाख २६ हजार बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

१३ वटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको सहभागितामा एआइएनमार्फत संयुक्त रुपमा स्वास्थ्य सामग्री खरिद गरी उक्त सहयोग उपलब्ध गराइएको हो । एआईएनका अनुसार एक्सन एड, केयर नेपाल, सीआरएस, फेयरमेड, जीएनएचए, लुथरन वल्र्ड फेडेरेसन, मेरी स्टप्स नेपाल, वान हर्ट वर्ल्डवाइड, प्लान इन्टरनेशनल नेपाल, प्राक्टिकल एक्सन, पीएसआई नेपाल, युएमएन, वेल्ट हंगर हेल्फसहितका संस्थाले स्वास्थ्य सामग्री खरिदका लागि आर्थिक सहयोग गरेका हुन् ।

मन्त्रालयलाई उपलब्ध गराइएको प्याकेज सामग्रीमा अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन सिलिन्डर, अक्सिमिटर, म्याट्रेससहित आईसीयू बेड, फेस मास्क, एन्टिजन किट्स, पीपीई, सर्जिकल मास्क, ग्लोब्स, सर्जिकल ग्लोब्स, एन ९५ मास्कलगायत छन् ।

त्यस्तै, अस्पताल र फ्रन्ट लाइनमा काम गर्ने स्वास्थ्यकर्मीका लागि पीपीई सेट, गाउन, ह्यान्ड स्यानिटाइजर, फेस सिल्ड, सुज कभर, सर्जिकल क्याप, हस्पिटल बेड, थर्ममिटर, नेबुलाइजरसहितका सामग्री प्रदान गरिएको छ । यसबाहेक प्राथमिक उपचारका लागि चाहिने औषधि तथा अत्यावश्यक खानेकुरा र रासन समेत मन्त्रालयलाई उपलव्ध गराइएको छ ।

संयुक्त खरिद प्रक्रियाका लागि केयर नेपाल र प्राविधिक पक्षका लागि वान हर्ट वल्र्डवाइडले समन्वय गरेका थिए । स्वास्थ्य मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा समाज कल्याण परिषद्का सदस्य सचिव पुष्कर खाती र एआईएनका अध्यक्ष सुशील कोइरालाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विज्ञ रोशन पोखेरललाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । सामग्री हस्तान्तरण कार्यक्रम विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तयार पारेको स्वास्थ्य सुरक्षा मापदण्डअनुसार भौतिक दूरी कायम राखेर आयोजना गरिएको थियो ।

स्वास्थ्य मन्त्रालयका प्रमुख विज्ञ पोखरेलले कोभिड प्रतिकार्यका लागि थप सहयोग आवश्यक रहेकाले यसका लागि सहभागी हुन अन्य संस्थालाई आग्रह गरे । समाज कल्याण परिषद्का सदस्य सचिव खातीका अनुसार, कोभिड प्रतिकार्यमा आईएनजीओहरुबाट अहिलेसम्म ५० देखि ६० प्रतिशत रकम सहयोग भइरहेको छ ।

आईएनजीओको सहयोग अहिलेसम्म दुई लाख व्यक्तिमाझ पुगेको र देशभर नै उनीहरुले स्थानीय साझेदार संस्थामार्फत कोभिड रोकथामका लागि कार्य गरिरहेको खातीको भनाइ छ । एआईएनका अध्यक्ष सुशील कोइराला र सदस्य सूर्य भट्टले कोभिड प्रतिकार्यका लागि आगामी दिनमा पनि सदस्य संस्थाहरुको तर्फबाट सहयोग जारी रहने बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया