Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधकोभिड अस्पतालका चिकित्सक र कर्मचारीमाथि हातपात

कोभिड अस्पतालका चिकित्सक र कर्मचारीमाथि हातपात


दोलखा ।
दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुमा सञ्चालित मालु कोभिड अस्पतालका चिकित्सक तथा कर्मचारीमाथि स्थानीय युवाले मदिरा सेवन गरेर हातपात गरेका छन् । राति १२ बजे स्थानीय गोपाल तिमिस्सिना, रोशन पोखरेल, विजुले नेपाली र कुमार श्रेष्ठले अस्पताल प्रवेश गरी डा. रोविश कार्की र कार्यालय सहयोगी टोपहादुर मिजारलाई हातपात गरेका हुन् ।

अस्पतालका अनुसार कोभिड अस्पतालमा उनीहरू खुट्टाको उपचार गर्न आएको र उनीहरूलाई अस्पतालबाहिरै परीक्षण गर्न भन्दा हातपात गरेका हुन् । ‘अस्पतालभित्र कोभिडका बिरामी भएकाले मैले बाहिरै जाँच गर्छु भनेँ,’ चिकित्सक कार्कीले भने, ‘उनीहरूले हामीले बनाएको अस्पतालमा भित्र छिर्न नपाइने भन्दै हातपात गरे ।’ चार युवाले आफूहरूमाथि हातपात गर्न थालेपछि चिकित्सक तथा कर्मचारी भागेर बसेको जनाइएको छ । साथै उनीहरूले अस्पतालमा आगो लगाइदिने र ज्यान मार्ने धम्की समेत दिएका थिए । अस्पतालले आक्रमणमा संलग्नलाई कारबाही गर्न माग राखी विज्ञप्ति समेत जारी गरेको छ ।

प्रहरीले हातपात गर्ने चार जनामध्ये तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले तिमिस्सिना, पोखरेल र नेपालीलाई नियन्त्रणमा लिएको हो । श्रेष्ठ भने फरार छन् । घटनाका विषयमा अनुसन्धान भइरहेको र कानुननुसार कारबाही गरिने दोलखाका प्रहरी प्रमुख भेषराज रिजालले जानकारी दिए ।

चिकित्सक र कर्मचारीमाथि आक्रमण गर्ने समूहलाई आवश्यक कारबाही गर्न गाउँपालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले माग गरेका छन् । गाउँपालिकामा कोभिडका बिरामीको उपचारका लागि पाँच शय्याको अस्पताल सञ्चालनमा ल्याइएको छ । उक्त अस्पतालमा हाल कोरोनाका दुई जना बिरामी छन् । अस्पतालमा एक चिकित्सकसहित सात जना स्वास्थ्यकर्मी कार्यरत छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया