Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधबाढी पूर्वतयारी तथा प्रतिकार्यका लागि रेडक्रस सक्रिय

बाढी पूर्वतयारी तथा प्रतिकार्यका लागि रेडक्रस सक्रिय


कञ्चनपुर । जिल्ला विपत् व्यवस्थापन समितिको अगुवाइमा नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला शाखा र अन्य विपत्का क्षेत्रमा कार्य गर्ने अन्य संघसंस्थाको सहकार्यमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०७८ निर्माण गरिएको छ ।

रेडक्रसले कञ्चनपुर जिल्लाका सवै पालिकाहरूमा प्राकृतिक विपत् तथा जलवायुका कारण मानवीय तथा जिविकोपार्जनमा पर्ने क्षति घटाउनका लागि विभिन्न सरोकारवाला (सरकारी, निजी र नागरिक समाज)सँग साझेदारी गर्दै समुदायको अग्रसरतामा विपत् जोखिम न्यूनीकरणका क्रियाकलापहरू गर्दै आइरहेको छ । मौसम पूर्वानुमान माहाशाखाले यस वर्ष नेपालमा औषतभन्दा बढी पानि पर्ने पूर्वानुमान गरिसकेको छ । रेडक्रसले पूर्वसूचना प्रणाली विकासका लागि जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रको समन्वयमा बाढी पूर्वतयारीका लागि जिल्लामा नदी तथा वर्षामापक अवलोकनकर्ताहरूको सम्पर्क नम्बर पुनरावलोकन गर्ने कार्य गरिएको छ  ।

साथै अवलोकनकर्ताहरूलाई प्रोत्साहनस्वरूप ३४ थान आवश्यक व्यक्तिगत सुरक्षा सामग्री र दुर्घटना बीमा गर्ने कार्यको व्यवस्थापन गर्ने योजना रहेको रेडक्रसले जनाएको छ । यसै गरी रेडक्रसले मछेली नदीको उद्गम स्थान गोदावरी कोल्मोडा सोत्यासमा नदी मापक टेलिमेट्रिक रडार सिस्टम जडान गर्ने र मछेली नदीको सतहको अवस्था थाहा पाउन दुई ठाउँमा डिस्प्ले बोर्ड राख्ने काम गरिरहेको छ । त्यसैगरी रेडक्रसले लालझाडी गाउँपालिकालाई लक्षित गरी टिस्यु कल्चर विधिबाट बासँको नर्सरी स्थापना गर्नलागेको छ । यसका लागि विशेषज्ञ टिमसँग अनुसनधानका कार्यहरू भइरहेको बताइएको छ ।

जिल्लामा घट्ने कुनै पनि विपत् प्रतिकार्यका लागि रेडक्रससँग एक सय घरपरिवारका लागि गैरखाद्य सामग्री मौज्दात अवस्थामा राखिएको छ भने क्षेत्रीय गोदाममा दुई हजार सेट गैरखाद्य सामग्री मौज्दात अवस्थामा राखिएको छ । थप आवश्यक भएमा रेडक्रस केन्द्रीय कार्यालयसँग समन्वय गरी उपलब्ध गराउन सकिने बताइएको छ । त्यसैगरी रेडक्रसअन्तर्गत जिल्लामा अहिले सातवटा एम्बुलेन्स सञ्चालनमा रहेका छन् भने रेडक्रस कन्चनपुरले पालिकाहरूको आर्थिक सहयोगमा बिरामीहरूका लागि निःशुल्क रक्त सेवा उपलब्ध गर्दै आइरहेको रेडक्रसका कोषाध्यक्ष थिरेन्द्र चन्द्र भट्टले जानकारी दिए ।

यस्तै रेडक्रसको एमरेड परियोजनाले बाढी प्रभावित समुदायहरूमा बाढीको जोखिम घटाउन तथा आम्दानी बढाउनका लागि उखुखेती सहयोग कार्यक्रम गर्दै आइरहेको छ । बाढी प्रभावित समुदायहरूमा नदिले कटानी तथा पटानी गरिएको बगर तथा नदी किनारामा उखु खेतीमार्फत बाढी नियन्त्रणमा मदत पुगेको र उखुबाट समुदायको आम्दानी बढेको छ ।

रेडक्रसअन्तर्गतको परियोजनाले एकातर्फ प्रयोगविहीन भइरहेको बगरलाई पुनः प्रयोग गरी उत्पादनमूलक आयआर्जनका गतिविधि गरेको छ भने अर्कोतिर बाढीको जोखिमलाई न्यूनीकरण गर्दै माटोको उर्वराशक्ति बढाउन मदत गरेको छ । चिनी मिल र कृषि शाखाको समन्वयमा ६८ दशमलव ६५ बिघा कात्तिके उखु खेती र १८९ दशमलव ९ बिघामा फागुने उखु खेती गरिएको रेडक्रसले जनाएको छ ।

रेडक्रसअन्तर्गतको परियोजनाको तर्फबाट पुराना किसानहरूलाई खादमलमा सहयोग भने नयाँ किसानलाई उन्नत जातको बीउमा ५० प्रतिशत अनुदान, दुई आँख्ले बीउको प्रयोग, बीउ उपचार र ट्रेन्च विधि प्रयोगमा प्रोत्साहन गरिएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया