Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधविपद् न्यूनीकरणका लागि डेटा र डिजिटल प्रविधिको अधिकतम प्रयोगमा विज्ञहरूको जोड

विपद् न्यूनीकरणका लागि डेटा र डिजिटल प्रविधिको अधिकतम प्रयोगमा विज्ञहरूको जोड


काठमाडौं ।
विपद् न्यूनीकरण गर्नको लागि डिजिटल प्रविधिको प्रयोगमा विशेष ध्यान दिनुपर्ने विज्ञहरुले बताएका छन् । पछिल्लो समय सरकारले विपद् पोर्टलमार्फत अलर्ट गराउने र आवश्यक योजना बनाउने कामहरु गरे पनि स्थानीय स्तरसम्म प्रभावकारी हुन नसकेको सरोकारवालाको भनाइ छ । ‘नेपालमा प्रकोप जोखिम व्यवस्थापनको डिजिटलीकरण’को विषयमा शनिबार आयोजना भएको डिजिटल संवाद २.३ कार्यक्रममा बोल्दै विज्ञहरुले डिजिटल प्रविधिसँगसँगै डेटा व्यवस्थापन, डेटा एनलाइज, फोरकास्ट र अलर्ट सिस्टममा विशेष ध्यान दिनुपर्ने बताएका हुन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विभागका प्रमुख कार्यकारी अनिल पोखरेलले प्राधिकरण जोखिम न्यूनीकरण र व्यवस्थापनमा सक्रियताका साथ लागेको र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एजेन्सीहरुसँग मिलेर नयाँ प्रविधिहरु प्रयोग गर्ने काम अघि बढिरहेको बताए । विपद् व्यवस्थापन चुनौतीपूर्ण भए पनि पछिल्लो समय विपद् पोर्टललाई राष्ट्रिय एकीकृत सिस्टमको रुपमा विकास गरिएका कारण सर्वसाधारणलाई पूर्वसूचना दिने, तत्काल उद्धार र सहयोग गर्न सकिएको पोखरेलको भनाइ थियो । उनले अब यसलाई एक इ–भिलेज जस्तो बनाएर सबैको समन्वय, सहकार्य गर्न सकिने गरी नीतिगत, संरचनात्मक र प्राविधिक सुधारतर्फ आफू लागेको जानकारी दिए ।

विभिन्न उच्च क्षमताको ड्रोनहरुहरु प्रयोग गरी अवस्थाको जानकारी लिने र तत्काल उद्धारमा काम गरिरहेका बताउँदै उनले सेटेलाइटहरु र त्यसमा क्लाउड कभर राखेर पनि अध्ययन गर्ने काम भइरहेको जानकारी दिए । विपद् व्यवस्थापनका लागि अझ धेरै नयाँ प्रविधिहरु आवश्यक भएको र यसको लागि अध्ययन पनि भइरहेको पोखरेलको भनाइ थियो ।

कार्यक्रममा पूर्वमन्त्री गणेश शाहले अहिले नेपाल संकटमा रहेको र जति डिजिटल रुपान्तरणको कुरा गरिरहे पनि विपद्बाट जोगिन र क्षति कम गर्न हामीले नयाँ प्रविधिको प्रयोगमा ध्यान नदिएको गुनासो गरेका थिए । यसमा कलेक्टिभ प्रयास हुनुपर्ने र विशेष प्राथमिकतामा राख्नुपर्नेमा सरकारलाई जोड दिए ।

मेलम्ची नगरपालिकाका नगर प्रमुख डम्बर बहादुर अर्यालले मेलम्चीमा बाढीका कारण भएको क्षतिको व्यवस्थापनमा फोन र सामाजिक सञ्जालका कारण सहज भएको बताए । उनले अहिले मेलम्चीमा दुईवटा साइरन जडान भएको र यसबाट छिटो सन्देश प्राप्त गर्नेमा काम भइरहको जानकारी कार्यक्रममा गराए ।

नेपाल प्रहरीका पूर्वडीआईजी तथा सञ्चार निर्देशनालयका पूर्वनिर्देशक डा. राजिव सुब्बाले प्रविधिलाई उच्च प्राथमिकतामा राखी १० वर्षे योजना बनाई लिपफ्रग गर्नुपर्ने बताए । नेपालको भौतिक संरचनासँगै सरकारको संरचना पनि अप्ठ्यारो भएको गुनासो गर्दैे सुब्बाले समन्वय र कार्यान्वयनमा समेत सरकार चुकेको बताए । अब नीतिगत सुधारदेखि संरचना परिवर्तन गर्दै इमर्जिङ प्रविधिको उच्चतम प्रयोग गर्नसके मात्र विपद्को क्षति न्यूनीकरण गर्न सकिने सुब्बाको तर्क थियो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया