Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालकाठमाडौँ–तराई-मधेश द्रुतमार्ग सडक आयोजनाको भौतिक प्रगति १६ प्रतिशत

काठमाडौँ–तराई-मधेश द्रुतमार्ग सडक आयोजनाको भौतिक प्रगति १६ प्रतिशत


काठमाडौं । काठमाडौँ–तराई/मधेश द्रुतमार्ग सडक आयोजनाको आर्थिक वर्ष ०७७/७८ को अन्त्यसम्ममा समग्रमा १६ दशमलब १० प्रतिशत भौतिक प्रगति भएको छ । नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णयबमोजिम नेपाली सेनाले उक्त आयोजना निर्माण व्यवस्थापनको जिम्मेवारी पाएको छ ।

गत आवमा आयोजनाको कुल अंशको थप ५ दशमलव १० प्रतिशत काम सम्पन्न भई आयोजनाको कुल कार्यको १६ दशमलव २१ प्रतिशत प्रगति हासिल गर्ने लक्ष्य प्रक्षेपण गरिएको थियो । जसअनुसार आयोजनाको समष्टिगत भौतिक प्रगतितर्फ १६ दशमलव १० प्रतिशत र वित्तीयतर्फ १४ दशमलव ५१ प्रतिशत लक्ष्य हासिल भएको सेनाले जनाएको छ ।

आयोजनाको लागि गत आव ०७७/७८ मा आठ अर्ब ९६ करोड ८८ लाख रूपैयाँ बजेट विनियोजन भएको थियो । आयोजनाको वार्षिक प्रगति भने ९७ दशमलव ३४ प्रतिशत रहेको छ । सेनाले मंगलबार आयोजनाको आव ०७७/७८ को अन्त्यसम्ममा प्रगति विवरण सार्वजानिक गर्दै उक्त जानकारी गराएको हो । यस्तै सुरुङ मार्ग निर्माणका लागि ईपीसी मोडलमा अन्तर्राष्ट्रिय बोलपत्र आह्वानपछि आवश्यक प्रक्रिया पूरा गरी अन्तर्राष्ट्रिय निर्माण व्यवसायी छनोटकार्य सम्पन्न भएको र गत जेठ ३१ गतेबाट दुवै सुरुङ ठेक्का प्याकेजहरूको सम्झौता भई मोबिलाइजेसनसहित कार्य समेत प्रारम्भ गरिएको सेनाले जनाएको छ ।

सेनाका अनुसार सडक आयोजनाको डिजाइन तथा कन्स्ट्रक्सन सुपरभिजनको लागि अन्तर्राष्ट्रिय परामर्शदाता तथा स्थानीय विषय विज्ञहरू छनोट गरी सर्भेलगायतका कार्यहरू सुचारु गरिएको छ । यस्तै आयोजनास्थलमा १४ वटा बेलिबृज जडान गर्ने योजनाअनुसार आठवटा बेलिबृज जडान गरी सञ्चालनमा ल्याइएको छ भने अन्य जडान हुने क्रममा रहेको सेनाको भनाइ छ । साथै पुल तथा सुरुङ निर्माण कार्यको लागि आवश्यक पर्ने पहुँच मार्ग निर्माणकार्य अगाडि बढाइएको छ । आयोजनाको पाँच स्थानमा बेसिक ल्याब इक्वीप्मेन्ट जडान गरी गुणस्तर परीक्षण गर्ने कार्य गरिएको तथा अन्तर्राष्ट्रिय परामर्शदाताको परामर्शअनुसार एड्भान्स ल्याब इक्वीप्मेन्टहरू समेत थप गर्ने व्यवस्था मिलाइएको सेनाले जनाएको छ ।

सेनाका अनुसार आयोजना निर्माणका लागि हालसम्म ९१ दशलमव ५ प्रतिशत जग्गा अधिकरण तथा मुआब्जा वितरणसम्बन्धी कार्य सम्पन्न गरिएको छ भने खोकना–बुङमति इलाकामा रहेको जग्गा विवाद समाधान गर्न राष्ट्रिय योजना आयोगको संयोजकत्वमा समन्वय उपसमिति गठन गरी आवश्यक समन्वय तथा पहल भइरहेको छ । यस्तै रुख कटान तथा व्यवस्थापनसम्बन्धी कार्य शतप्रतिशत सम्पन्न गरिएको सेनाले जनाएको छ ।

रुख कटान भएअनुसार १ः२५ को अनुपातमा वृक्षारोपण गर्ने कार्यमुताबिक गत चालू आवको असार मसान्तसम्म जम्मा दुई लाख ४९ हजार एक सय ६६ वटा वृक्षारोपण गरिएको छ । यसैगरी आयोजनाको समष्टिगत वातावरण प्रभाव मूल्यांकन तथा सुरुङ मार्ग र पुल निर्माण सम्बन्धमा केही परिमार्जन भएअनुरूप पूरक वातावरणीय प्रभाव मूल्यांकन स्वीकृति भई कार्य प्रारम्भ गरिएको सेनाले जनाएको छ ।

सरकारबाट नेपाली सेनालाई प्राप्त जिम्मेवारीअनुरूप राष्ट्रको विकास र समृद्धिको लागि कोशेढुङ्गा साबित हुने राष्ट्रिय गौरवको काठमाडौँ–तराई/मधेश द्रुतमार्ग सडक आयोजना कोभिड–१९ को कारण भएको ढिलाइका बाबजुद समयमै सम्पन्न गर्न आफूहरू सदैव कटिबद्ध रहेको पनि सेनाले जानकारी दिएको छ । 


क्याटेगोरी : नेपाल, बिबिध

तपाईको प्रतिक्रिया