Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधमोहना नदीमा सात वर्षसम्म पनि पुल बनेन

मोहना नदीमा सात वर्षसम्म पनि पुल बनेन


कञ्चनपुर। कञ्चपुरको कृष्णपुर नगरपालिकाको मोहना नदीमाथि निर्माणाधीन पुल सात वर्षसम्म पनि पूरा हुनसकेको छैन । तीन वर्षभित्र निर्माणसम्पन्न गर्नेगरी २०७१ सालमा सडक डिभिजन कार्यालय महेन्द्रनगरले एलाइट एड्भेन्चर जेभीसँग सम्झौता गरेको थियो । तर निर्माण व्यवसायीले काम नगर्दा सात वर्ष बित्दा समेत पुल निर्माण हुन नसकेको हो ।

सात वर्षको अवधिमा निर्माण व्यवसायीको मागबमोजिम तीन पटक म्याद थप गरेको सडक डिभिजन कार्यालयले पुनः चौथो पटक म्याद थप्ने तयारी गरिरहेको छ । सर्वसाधारण भने विगतमा जस्तै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । कृष्णपुर नगरपालिका–७ राजघाटका स्थानीय बालकृष्ण अवस्थीले निर्माण व्यवसायीको लापरबाही, डिभिजन सडक कार्यालय, कृष्णपुर नगरपालिका, धनगढी उपमहानगरपालिकालगायत सरोकारवाला निकायको उदासीनताले अहिलेसम्म पुल निर्माणको कामले पूर्णता पाउन नसकेको गुनासो गरे । ‘२७ महिनामा बन्नुपर्ने पुल सात वर्ष बित्दा समेत अधुरै छ,’ अवस्थीले भने, ‘विगतमा लकडाउनको कारण देखाएर काममा थप ढिलाइ गरियो । अहिले ठेकेदारले काम गर्छन्जस्तो संकेत देखाएका थिए तर अब वर्षाले गर्न दिँदैन होला ।’

कञ्चनपुरको राजघाटका बासिन्दा सामान्य किनमेलका लागि पनि धनगढीमै निर्भर रहेकाले पुल निर्माण नहुँदा दैनिक डुंगाको कष्टपूर्ण र जोखिमयुक्त यात्रा गर्न बाध्य छन् । पछिल्लो समय नदीमा निजी क्षेत्रबाट स्काइफोल्डिङ पुल सञ्चालनमा आएकाले केही सहज त भएको छ तर आवतजावत गरेबापत शुल्क तिर्नुपर्ने हुँदा उनीहरू आर्थिक मारमा परेका छन् । सात वर्षअघि मोहना नदीमा बन्ने पुलको शिलान्यास गर्ने क्रममा निर्माण व्यवसायी चन्द्रशेखर मल्लले तीन वर्षको ठेक्का भए पनि दुई वर्षभित्र काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए ।

निर्माण व्यवसायीको उक्त प्रतिबद्धता सुनेपछि दुई वर्षपछि जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हट्ने भन्दै खुशी भएका स्थानीयले सात वर्ष बित्दा समेत पुल प्रयोग गर्न पाएका छैनन् । दुई वर्षमा काम सक्ने प्रतिबद्धता गरेका ठेकेदारले यो अवधिमा विभिन्न कारण देखाउँदै डिभिजन सडक कार्यालयबाट तीन पटक म्याद थपेकोमा पुनः म्याद थप्नुपर्ने माग गरेका छन् ।

डिभिजन सडक कार्यालय महेन्द्रनगरका इन्जिनियर लक्ष्मीराज जोशीले निर्माण व्यवसायीले लकडाउनको कारण देखाउँदै २०७८ भदौभित्र निर्माणसम्पन्न गरेर हस्तान्तरण गर्ने प्रतिबद्धता गर्दै म्याद थपका लागि निवेदन पेश गरेको जानकारी दिए । ‘अहिलेसम्म हामीले मोहना नदीको पुलको काम निर्धारित समयमै सम्पन्न नभएपछि विभिन्न मितिमा गरेर तीन पटक म्याद थप गरिसकेका छौँ,’ जोशीले भने, ‘निर्माण व्यवसायीले पुनः चौथो पटक म्याद थप्न माग गर्दै निवेदन दिनुभएको छ । अहिले नै थप गरेको अवस्था भने छैन ।’

इन्जिनियर जोशीका अनुसार अहिलेसम्म पुलको ९८ प्रतिशत काम सम्पन्न भइसकेको छ भने दुई प्रतिशत काम मात्र बाँकी छ । ‘काम नसकिएकाले हामीले थप भुक्तानी गरेका छैनौँ । ८० प्रतिशत आर्थिक प्रगति भइसकेको छ,’ जोशीले भने, ‘९८ प्रतिशत काम सम्पन्न भएको अवस्था छ । अब पुलको फुटपाथ र रेलिङलगायतको काम बाँकी छ ।’


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया