Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधनिर्माणाधीन आयोजनाको म्याद थप, धरौटी फिर्ता र रकम भुक्तानी तत्काल गर्न महासंघको माग

निर्माणाधीन आयोजनाको म्याद थप, धरौटी फिर्ता र रकम भुक्तानी तत्काल गर्न महासंघको माग


काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले निर्माणाधीन आयोजनाको म्यादथप, धरौटी फिर्ता र रकम भुक्तानी तत्काल गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको छ । बुधबार महासंघको एक प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिँदै निर्माण व्यवसायीहरूको समस्या र समाधानका उपायबारे समेत जानकारी गराएको हो ।

महासंघ प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री देउवाले व्यवसायीहरूको समस्या अध्ययन गरी समाधान गर्ने बताएका थिए । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले अघिल्लो सरकारले ल्याएका बजेट कार्यान्वयनको माग गर्दै पूरक बजेट ल्याइएमा त्यसमा पनि निर्माण व्यवसायीहरूको माग सम्बोधन गरिदिन आग्रह गरेको छ ।

महासंघले बजेटसँग सम्बन्धित् म्यादथप, धरौटी रकम फिर्तालगायतका विषयमा प्रधानमन्त्री देउवासमक्ष लिखित सुझाव पेश गर्दै कार्यान्वयनका लागि आग्रह गरेको हो । प्रतिनिधिमण्डलले आर्थिक वर्ष २०७८/०७९ को बजेट वक्तव्यमा निर्माण आयोजनाहरूको छ महिना म्यादथप हुने व्यवस्था भएकोमा कोभिडको दोस्रो कहर, वर्षात्को मौसम, सिजनअनुसार हुने कार्य र त्यसपछिका चाडबाडका कारण आउँदो कात्तिक महिनाको अन्त्यसम्म शून्य समय (कन्स्ट्रक्सन होलिडे) मानेर तत्पश्चात् सम्पूर्ण ठेक्काहरुको हकमा सम्बन्धित सार्वजनिक निकायका अधिकारीले गरेको निर्णय मितिबाट गणना हुने गरी स्वतः एक वर्ष म्याद थपको नीतिगत निर्णय गरिनुपर्ने सुझाव दिएको छ ।

२०७६ पुसमा सार्वजनिक खरिद नियमावलीको नवौं संशोधनबाट एक वर्ष म्याद थप भए पनि २०७६ चैत ११ गतेदेखि भएको लकडाउन र तत्पश्चात् २०७७ माघ ११ गते म्याद थपको लागि भएको नीतिगत निर्णयबाट समेत म्याद थपको समस्या समाधान नभई दुई सिजनमा गरी लगभग पाँच हजार आयोजनाहरु प्रभावित भएकाले ती आयोजनाहरुको लागि म्याद थपको निर्णय भएको मितिभन्दा अगाडि म्याद समाप्त भएका सबै आयोजनाहरुको लागि निर्णय मितिबाट गणना हुने गरी स्वतः एक वर्ष म्याद थप गरिनुपर्ने महासंघले माग राखेको छ ।

सार्वजनिक खरिद नियमावली, २०६४ मा भएको छैठौं संशोधनबमोजिम सुरु सम्झौताको ५० प्रतिशतभन्दा बढी हुने गरी म्याद थप गर्न पाइने छैन भनी गरिएको व्यवस्था र एकपटक म्याद थप सम्बन्धमा निर्णय भइसकेकोमा पुनः म्याद थप हुनेछैन भनी गरिएको व्यवस्थाबाट निर्माणकार्यको म्यादथप गर्न गम्भीर जटिलता सिर्जना भएकोले यो व्यवस्था खारेज गर्न पनि महासंघले सुझाव दिएको छ ।

बजेट वक्तव्यमा उल्लेख भएअनुसार निर्माण व्यवसायीलाई चालू पुँजी व्यवस्थापनमा सहयोग पु-याउन धरौटी रकमबापतको ५० प्रतिशत रकमबराबरको बैंक ग्यारेन्टी राखी धरौटी रकम फिर्ता गरिने प्रावधानको सट्टा शतप्रतिशत फिर्ता गर्दा राज्यलाई कुनै जोखिम नहुने हुँदा अर्थतन्त्रलाई चलायमान बनाउन तथा बजारमा नगद प्रवाह वृद्धि गर्न समेत शतप्रतिशत धरौटी रकम फिर्ता हुनुपर्ने महासंघको माग छ । यसो गरिएमा बैंकमा निष्क्रिय रहेको रकम बजारमा प्रवाह भई देशको अर्थतन्त्रको सूचकांकमा समेत सकारात्मक प्रभाव पर्ने हुँदा यसबाट सरकार र निर्माण व्यवसायी दुवैलाई राहत पुग्ने महासंघले जनाएको छ ।

यस्तै संसद्मा संशोधनका लागि दर्ता भएको सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन व्यवसायीमैत्री बनाउनका लागि सरोकारवालाहरू संलग्न विज्ञ टोली गठनका लागि अध्यक्ष सिंहले प्रधानमन्त्री देउवासँग आग्रह गरे । यस्तै उनले व्यवसायीहरूको ठूलो भुक्तानी रोकिएकाले तत्काल भुक्तान गरिदिन आग्रह गरे । यसबाहेक महासंघ प्रतिनिधिमण्डलले शुल्क जरिवाना तथा दस्तुर मिनाहा, पुनर्कर्जा, निःशुल्क बैंक ग्यारेन्टी नवीकरणलगायतका विषयमा पनि लिखित सुझाव प्रधानमन्त्री देउवा समक्ष पेश गरेको छ । त्यस्तै महासंघले विकास निर्माण कार्यमा अहोरात्र प्रत्यक्ष रुपमा अग्रपंक्तिमा रही साइटमा खटिने निर्माण व्यवसायीहरूसहित तिनका श्रमिकहरूलाई कोभिड—१९ विरुद्धको खोपको व्यवस्था मिलाउनुपर्ने माग गरेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया