Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसरकारको ध्यान राजनीतिक नियुक्तिमा

सरकारको ध्यान राजनीतिक नियुक्तिमा


काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनलाई नियुक्त गरेकी छिन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख राजनीतिक भागबण्डामा नियुक्तिका लागि सिफारिस गरेको थियो । राष्ट्रिय योजना आयोगमा पनि मिलेमतोमै राजनीतिक नियुक्ति गरेको छ ।

नेपालको संविधानको धारा १६३ को उपधारा १२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रदेश प्रमुखमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । मन्त्रिपरिषद्को मंगलबारकै बैठकले लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादव र गण्डकी प्रदेशका प्रमुख सीताकुमारी पौडेललाई पदमुक्त गरी गुरुङ र शेरचनलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

शेरचन नेकपा माओवादी केन्द्र र गुरुङ्ग नेपाली कांग्रेस चितवनका पुराना नेता हुन् । दुवै जना चितवनका स्थायी बासिन्दा हुन् । शेरचन यसअघि गण्डकी प्रदेश प्रमुख थिए । उनलाई केपी ओली नेतृत्वको सरकारले उक्त प्रदेश प्रमुखबाट हटाइएको थियो । मंगलबार पनि शेरचन माओवादी कोटामा नियुक्तिका लागि सिफारिसमा परेका हुन् ।

सरकारले योजना आयोगको उपाध्यक्षमा भने युवा अर्थशास्त्री डा. विश्व पौडेललाई नियुक्त गरेको छ । आयोगको अध्यक्ष प्रधानमन्त्री शेरबहादुर देउवा हुन् । स्वर्णिम वाग्ले आयोगका उपाध्यक्ष भएको बेला नवनियुक्त उपाध्यक्ष पौडेल उनका सल्लाहकार थिए ।

सरकारले आयोगको सदस्यमा डा. रामकुमार फुयाल र डा. दिलबहादुर लिम्बूलाई नियुक्त गरेको छ । लिम्बू यसअघि पनि आयोगको सदस्य भइसकेका थिए । उपाध्यक्ष पौडेल नेपाली कांग्रेस तथा सदस्यद्वय लिम्बू र फुयाल नेकपा माओवादी केन्द्रको कोटामा आयोगमा नियुक्त भएका हुन् । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया