Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधचितवनमा एक हजार सात सय कृषि उद्योग दर्ता

चितवनमा एक हजार सात सय कृषि उद्योग दर्ता


चितवन । गत आर्थिक वर्षमा जिल्लामा एक हजार सात सय दुईवटा कृषिजन्य उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा वर्ष भरमा दुई हजार तीन सय ९२ उद्योग दर्ता भएकामा सबैभन्दा बढी कृषिजन्य उद्योग दर्ता भएका हुन् । कार्यालयका लेखा अधिकृत नारायण लम्सालले कृषिक्षेत्रमा सरकार र वित्तीय संस्थाको समेत प्राथमिकताको क्षेत्र परेकाले कृषिजन्य उद्योगको संख्या अन्य क्षेत्रको भन्दा बढी भएको जानकारी दिए । पछिल्ला वर्षमा त्यस्ता उद्योग दर्ता हुने क्रम बढ्दो रहेको उनको भनाइ छ ।

त्यस्ता उद्योगमा अनुदान र सहुलियत ऋण उपलब्ध हुनाले उद्योग दर्ता हुने क्रम बढेको हो । अन्य व्यवसायभन्दा कृषिजन्य व्यवसाय जोखिम कम हुने र सजिलै गर्न सकिने हुँदा विदेशबाट फर्किएर पनि उद्योग सञ्चालन गर्ने गरेको पाइन्छ । निषेधाज्ञाका कारण विदेश जान रोकिएकाहरूले पनि उद्योग दर्ता गरेका छन् ।

उद्योग संघ चितवनका वरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेलका अनुसार कृषिका ऋणमा अनुदान र व्यवसायमा पनि सहुलियत पाइने हुँदा धेरैको ध्यान कृषि उद्योगमा गएको हो । उनले भने, ‘कृषि नै गर्दा त राम्रो हो तर कृषिको नाममा अनुदान लिएर अन्य काम गर्ने धेरै छन् ।’ यस जिल्ला कृषिका लागि राम्रो भएको जनाउँदै अनुदानलाई कृषिमा नै प्रयोग गर्न कँडेलले सुझाव दिए । कुखुरापालन, पशुपालन, तरकारी खेती जस्ता काम गर्नका लागि कृषिजन्य उद्योग दर्ता हुने गरेका छन् । कुखुरापालनमा चितवन देशकै अग्रणी जिल्ला हो । दुध उत्पादनमा स्थानीय तहमा भरतपुर महानगर पहिलो हो ।

त्यसैगरी तरकारी, केरा, मौरीपालनलगायतमा जिल्ला अग्रणी मानिन्छ । जिल्लामा सबैभन्दा कम एउटा मात्र उद्योग ऊर्जामूलक उद्योग दर्ता भएको छ । यसैगरी सेवामूलक दुई सय ९०, उत्पादनमूलक दुई सय ४५, पर्यटनमूलक एक सय ५८ उद्योग दर्ता छन् । गत आर्थिक वर्षमा जिल्लामा खनिजजन्य, निर्माणमूलक र विज्ञान तथा सूचना प्रविधिजन्य शीर्षकमा भने उद्योग दर्ता भएका छैनन् ।

गत आर्थिक वर्षमा दर्ता भएका उद्योगको स्थिर पुँजी दुई अर्ब ९६ करोड ९६ लाख ३२ हजार रूपैयाँ, चालू पुँजी दुई अर्ब ६६ करोड २३ लाख ९३ हजार रूपैयाँ र कुल पुँजी पाँच अर्ब ६३ करोड २० लाख २५ हजार रूपैयाँ कार्यालयले जनाएको छ । ती उद्योगको वार्षिक उत्पादन क्षमता १६ अर्ब १३ करोड ३६ लाख रूपैयाँबराबर छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया