Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधदोदा नदीको कटानले उखु र धान बालीमा क्षति

दोदा नदीको कटानले उखु र धान बालीमा क्षति


कञ्चनपुर । कञ्चनपुर–शुक्लाफाँटा नगरपालिका–१२ तिलकी पट्टीमा दोदा नदीले जग्गा कटान गर्दा उखु र धानबालीमा क्षति पुगेको छ । कटानलाई रोक्न तत्काल तटबन्धन नगरे बस्ती नै जोखिममा पर्ने स्थानीय मंगलप्रसाद चौधरीले बताए । ‘दुई दिनमा नदीले कटान गरी एक बिघाभन्दा बढी जग्गामा लगाएको धान र उखु बगाएर लगेको छ,’ उनले भने, ‘कटान रोक्न पहल नगरिए बस्ती नै जोखिमा पर्ने देखिएको छ ।’

उनका अनुसार नदीले चुन्नु चौधरीको पाँच, रामदास रानाको पाँच, फिर्ता रानाको पाँच, पदम रानाको तीन र जन्न्नु रानाको तीन गरी २१ कठ्ठा जग्गा बगाएर बगरमा परिणत गरेको छ । दोदा र वनहरा नदीको दोभान रहेको क्षेत्रमा नदीले बढी क्षति पु¥याएको छ । यस क्षेत्रमा नेपाल रेडक्रसको सहयोगमा इटाहा सामुदायिक विपत् व्यवस्थापन समितिले साझेदारी गरी जैविक तटबन्ध निर्माण गरिएको थियो । नदीको धार परिवर्तन गरी तटबन्ध निर्माण गरेको क्षेत्रमै बग्न थालेपछि जग्गा कटानी अधिक हुन थालेको स्थानीय रामदास रानाले बताए ।

‘विपत् व्यवस्थापन समितिमा आबद्ध समुदायका व्यक्तिहरूले संरक्षण गरेको बगर बगेको छ,’ उनले भने, ‘संरक्षण गरेको बगरमा नदी बग्न थालेको छ । नदीले कटान गरी उखु र धान खेती गरेको उब्जाउ जग्गा समेत बगाउन थालेको छ ।’ नदीले उब्जाउ जग्गा कटानी गर्न थालेपछि चिन्तित भएको उनले बताए । नदीमा भरपर्दो तटबन्धको तत्काल व्यवस्था नभए बस्ती नै बग्ने खतरा बढेको छ । बस्तीका ३५ परिवार नदीको उच्च जोखिममा रहेको उनले बताए । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया