Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधलिफ्टिङ गरेर सिँचाइ सुविधा

लिफ्टिङ गरेर सिँचाइ सुविधा


बझाड. । थलारा गाउँपालिकाको वडा नं ९ खानी गाउँमा तरकारी र बाली सिँचाइका लागि सेती नदीमा वर्षा पम्प जडान गरिएको छ । युनाइटेड मिसन टु नेपाल र प्रगतिशील युवा समाज बझाङको सिर्जना परियोजनाको आर्थिक सहयोगमा वर्षा पम्प जडान गरिएको हो ।

तरकारी खेतीलाई लक्षित गर्दै सेती नदीबाट वर्षा पम्पको सहयोगले गाउँमा पानी लिफ्टिङ गरेर सिँचाइ सुविधा पु¥याइएको हो । सिर्जना परियोजनाको तीन लाखभन्दा बढीको लागतमा पानी तान्ने वर्षा पम्प, पाइप ल्याई गाउँभन्दा तल रहेको सेती नदीको पानी गाउँमा ल्याएको हो । गाउँमा सिँचाइका लागि पानी पुगेपछि यहाँका ३५ परिवार लाभान्वित भएका छन् । सिँचाइको लागि पानी पाएपछि स्थानीय हर्षित भएका छन् ।

तरकारी राम्रो उत्पादन हुने भएको भए पनि यसअघि सिँचाइ सुविधा नहुँदा व्यावसायिक रूपमा तरकारी खेती गर्न नसकिएको स्थानीय दिनेश सुनारले बताए । उनले भने, ‘अरू उत्पादनभन्दा बाह्रै महिना तरकारी उत्पादन राम्रो हुन्थ्यो । तर हिउँदको समयमा सिँचाइका लागि पानी नहुँदा सास्ती भोग्नुपरेको थियो । वर्षातको समयमा त गाउँ नजिकै पानीका मूलहरू फुट्ने भएकाले वर्षे तरकारी राम्रै हुन्थ्यो । अब वर्षा पम्पबाट गाउँमा पानी पुगेपछि तरकारी बालीमा सिँचाइ गर्न सहज हुने भएको छ । गाउँमा पानी पुगेपछि खुसी लागेको छ ।’

अर्का स्थानीय अमर सुनारले गाउँमा सिँचाइका लागि पानी पुगेसँगै वर्षौँदेखिको गाउँलेको तरकारी खेती गर्ने धोको पूरा भएको बताए । ‘घरछेउमै सेती नदी बगे पनि सिँचाइका लागि पानी उपभोग गर्न पाएका थिएनौँ । घरछेउमै ठूलै नदी बगे पनि पानी उपभोग गर्न नपाउनु हाम्रो दुर्भाग्य थियो’ उनले भने, ‘वर्षौदेखि पानीको अभाव भोगेका हामीहरूलाई वर्षा पम्पबाट लिफ्टिङ गरेर ल्याएको पानीले राहत भएको छ ।’ अब हिउँदे तरकारी उत्पादन गर्न पनि सहज भएको उनले सुनाए । वर्षा पम्प जडानसँगै कृषकहरूमा परम्परागत कृषि शैलीलाई परिवर्तन गरी नयाँ प्रविधि र यान्त्रिकीकरण गरेर व्यावसायिक रूपमा तरकारी खेती गर्न सिकाएको उनको भनाइ छ ।

यो प्रविधि २०१४ मा पहिलो पटक नेपाल भित्रिएको हो । नेदरल्यान्डमा बस्ने एक जना नेपालीले नेपालमा ल्याई यसको सुरुवात गरेका थिए । यसलाई पानीको सतहमा राखिन्छ । यो मेसिन हावा र पानीको माध्यमबाट घुम्ने गर्दछ । यो मेसिनबाट २० मिटर भर्टिकल उचाइसम्म र २ किलोमिटर होरिजेन्टलसम्म पानी पठाउन सकिन्छ ।

हावा र पानीबाट चल्ने भएकाले यसको एकतर्फी मात्र खर्च हुन्छ । किन्दा मात्र एक पटक खर्च हुने भएकाले खोला किनाराका सिँचाइ सुविधा नभएका ठाउँका लागि प्रभावकारी हुने युनाइटेड मिसन टु नेपाल र प्रगतिशील युवा समाज बझाङको संयुक्त साझेदारीमा सञ्चालित सिर्जना परियोजनाका कार्यक्रम अधिकृत बलबहादुर ओडले बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया