Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधदमकमा चिनियाँ स्वास्थ्य सहयोग, रोजगारीमा कोभिडपीडितलाई प्राथमिकता

दमकमा चिनियाँ स्वास्थ्य सहयोग, रोजगारीमा कोभिडपीडितलाई प्राथमिकता


झापा । चीन नेपाल मैत्री औद्योगिक पार्कले दमक नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । औद्योगिक पार्कका अध्यक्ष गोविन्द थापाले मंगलबार एक कार्यक्रमका बीच नगरपालिकालाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । सो सामग्री रसुवा नाका हुँदै नेपाल ल्याइएको थियो ।

औद्योगिक पार्कले १५ थान अक्सिजन कन्सन्ट्रेटर मेसिन उपलब्ध गराएको हो । यी मेसिनले पाँच लिटर क्षमतामा उच्च गुणस्तरको अक्सिजन निरन्तर प्रवाह गर्ने बताइएको छ । उक्त मेसिन दमक अस्पतालमा प्रयोग गरिने छ । सहयोग सामग्री ग्रहण गर्दै दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले अहिले दमक समस्यामा रहेको बताए । महामारी बढ्नाले दमकमा पुन निषेधाज्ञा जारी गर्नुपरेको र अस्पतालहरू फेरि पनि भरिभराउ हुन लागेको बताए ।

उपमेयर गीता अधिकारीले औद्योगिक पार्क दमक तथा पूरै झापा जिल्लाका जनताको सपनाको केन्द्र भएको बताउँदै यसले विपत्का बेला गरेको स्वास्थ्य सामग्री सहयोग मूल्यवान रहेको बताइन् । नेपालमा क्रमशः महामारीले विकराल रूप धारण गरिरहेको बेला औद्योगिक पार्कले स्वास्थ्य सामग्री सहयोग गरेको हो । खासगरी एक नम्बर प्रदेशको झापा जिल्लामा महामारी तीव्र गतिमा फैलिरहेको छ ।

पार्कका अध्यक्ष गोविन्द थापाले कोभिड महामारीका कारण विश्वले ठूलो क्षति भोगिरहेको बताए । उनले भने, ‘यतिबेला औद्योगिक पार्कमा चीन सरकारले बनाउने ठूला–ठूला उद्योगहरू हामीले उपहारका रूपमा पाउने थियौँ, तर महामारीका कारण स्वास्थ्य सामग्री सहयोग लिनुपर्ने भयो ।’ महामारीका बीचमै पनि औद्योगिक पार्कको सबै प्रक्रिया अगाडि बढाइने थापाले बताए ।

कार्यक्रममा चीनको ल्हासा इकोनोमिक एन्ड टेक्निकल जोनका प्रमुख चोउ चेङ्गजीले पठाएको सन्देश सुनाइएको थियो । सन्देशमा चोउले महामारीको चपेटामा परेको दमक तथा आसपासका जनतालाई मनोबल उच्च राख्न आग्रह गरेका थिए । कोभिड १९ माथि चाँडै विजय पाइने विश्वास गर्दै चोउले महामारीकै बीचमा औद्योगिक पार्क निर्माण प्रक्रिया अगाडि बढाइने सन्देश पठाएका थिए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया