Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधतीन महिनामा दुई करोड ३९ लाखबराबरको अवैध सामान बरामद

तीन महिनामा दुई करोड ३९ लाखबराबरको अवैध सामान बरामद


काठमाडौं । नेपाल–भारत सीमाबाट अवैध रूपमा ओसारप्रसार गरिएका विभिन्न मालसमानहरू बरामद गरी सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हेड क्वाटर रूपन्देहीले पछिल्लो तीन महिनामा दुई करोड ३९ लाख छ हजार ८८ रुपैयाँ राजस्व संकलन गरेको छ । उक्त गणका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेतीका अनुसार तीन महिनाको अवधिमा गणसहित मातहतका ३७ वटा कार्यालयहरूको सक्रियतामा उक्त मूल्यबराबरको अवैध सामानहरू बरामद गरी भन्सार कार्यालय बेलहिया पठाएको हो ।

त्यस्तै, कार्यालयका अनुसार पछिल्लो तीन वर्षमा अवैध कारोबार बढ्दै गएको पाइएको छ । आर्थिक वर्ष २०७५/७६ मा दुई करोड २३ लाख ९० हजार रुपैयाँबराबरको अवैध सामान बरामद गरेको कार्यालयले आर्थिक वर्ष २०७६/७७ मा चार करोड ३६ लाख २२ हजार तीन सय १४ रुपैयाँबराबरको अवैध समानहरू बरामद गरेको थियो । त्यस्तै गत आर्थिक वर्षमा कार्यालयले पाँच करोड ५५ लाख ९० हजार ५५ रुपैयाँबराबरको अवैध मालसमान बरामद गरी आवश्यक कारबाहीको लागि भन्सार कार्यालय बेलहिया पठाएको छ ।

उपरीक्षक उप्रेतीका अनुसार कार्यालयले गत आर्थिक वर्षको साउनमा २४ लाख २२ हजार चार सय २७ रुपैयाँ, भदौमा ४३ लाख ७० हजार २० रुपैयाँ, असोजमा २७ लाख १७ हजार आठ सय आठ रुपैयाँ, कात्तिकमा २४ लाख ४९ हजार तीन सय ९७ रुपैयाँ, मंसिरमा ५७ लाख २९ हजार छ सय ३५ रुपैयाँ, पुसमा २९ लाख ७४ हजार आठ सय आठ रुपैयाँ, माघमा ४८ लाख ६४ हजार नौ सय ४५ रुपैयाँ, फाल्गुणमा ६७ लाख ३६ हजार ६२ रुपैयाँ, चैतमा एक करोड २७ लाख ६० हजार दुई सय २५ रुपैयाँ, वैशाखमा ५७ लाख ७४ हजार नौ सय २५ रुपैयाँ, जेष्ठमा २६ लाख २९ हजार दुई सय ५५ रुपैयाँ र असारमा २२ लाख १३ हजार चार सय आठ रुपैयाँबराबरको अवैध सामान बरामद गरेको थियो ।

धनुषा नं. ८ गणमा रहँदा अवैध सामान बरामदमा उल्लेख्य सफलता पाएका सशस्त्र प्रहरी उपरीक्षक उप्रेती तीन महिनाअघि मात्र रूपन्देहीमा सरुवा भई आएका हुन् । आएको छोटो समयमै झण्डै साढे दुई करोड रुपैयाँबराबरकोे अवैध मालसमान बरामद हुनुले सशस्त्र प्रहरीको सक्रियता बढ्दै गएको अनुमान गर्न सकिन्छ । यति कडा सुरक्षा व्यवस्था मिलाउँदा अझै पनि सुरक्षा निकायहरूको आँखा छलेर अवैध सामान ओसारपसार भइरहेका छन् ।

वर्षायाममा नदीनालाहरू बढ्ने र तर्नसक्ने अवस्था नहुँदा सीमित ठाउँबाट चोरी निकासी हुँदा अवैध कारोबार रोक्न सहज भए पनि खुल्ला सीमानाका कारण हिउँदमा भने त्यो अवस्था नरहेको प्रहरीको भनाइ छ । अवैध चोरी निकासी रोक्नको लागि सुरक्षा निकायजस्तै आम नागरिक पनि केही सक्रिय भएर सहयोग गरेको अवस्था अवैध ओसारपसारलाई निरुत्साहित गर्न सहज सशस्त्र प्रहरी उपरीक्षक उप्रेती बताउँछन् । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया