Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधजैविक मार्गले भीमदत्तको उत्तरी क्षेत्रमा आमुल परिवर्तन

जैविक मार्गले भीमदत्तको उत्तरी क्षेत्रमा आमुल परिवर्तन


धनबहादुर जप्रेल
महेन्द्रनगर, माघ १०
भीमदत्तका पूर्वनगर उपप्रमुख ईश्वरीप्रसाद खरेलले स्थानीय तह निर्वाचनपछि भीमदत्त नगरपालिकाको उत्तरी क्षेत्रमा निर्माण गरिएको जैविक धार्मिक पर्यटकीय मार्ग विकासको नमूना भएको बताए । यो मार्ग अवलोकन गरेका मन्त्री, सांसद, राजनीतिक दलका नेता, स्थानीय सबैले जैविक मार्गको प्रशंसा गर्दै आएका छन् । भीमदत्त नगरपालिकाले पछिल्ला दुई वर्षमा यस मार्गमा हाफ म्याराथन गरी जैविक मार्गको परिचय राष्ट्रियस्तरमा पु-याएको छ । म्याराथन धावक बैकुण्ठ मानन्धरको उपस्थितिमा गत वर्ष पहिलो पटक जैविक मार्गमा म्याराथन गरिएको थियो ।

‘२०४८ पछि यो नगरको विकास निर्माण हेर्दै आएका छौँ, वडा नं. ८, ८, १०, ७, ३ को घाँडीघाँच क्षेत्र कस्तो थियो, निकै दुर्गम थियो, साइकल या हिँडेर जानु पथ्र्याे’ उनले भने, ‘जैविक धार्मिक पर्यटन मार्ग बनेपछि त्यो क्षेत्र अहिले सुगम बनेको छ, अहिले त्यो क्षेत्रमा एम्बुलेन्स जान्छ, गाडी जान्छन, यसका लागि नगरपालिकालाई धन्यवाद दिन्छु ।’ भीमदत्त नगरपालिकाको ४२ वर्ष पुगेको अवसरमा मंगलबार आयोजित प्रथम स्थापना दिवस समारोहमा पू्र्वनगर उपप्रमुख ईश्वरीप्रसाद खरेलले जैविक धार्मिक पर्यटकीय मार्गको प्रशंसा गरे । भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले स्थानीय तह निर्वाचन गरेको प्रतिबद्धताअनुसार रौटेलादेखि ब्रह्मदेबसम्म जैविक मार्ग निर्माण गर्न भएको हो ।

१८ देखि २२ मिटर चौडा यो मार्ग रौटेलादेखि ब्रह्मदेवसम्म १५ किलोमिटर छ । बासिन्दाले कल्पना नगरेको यो मार्ग बनेपछि घाँडीघाँच क्षेत्रको परम्परागत पहिचान फेरिएको छ । स्थानीय तह निर्वाचनसम्म दुर्गम बस्तीका रूपमा चिनिने यो बस्ती अढाई वर्षमै सुगम बस्तीका रूपमा चिनिन पुगेको छ । पूर्वनगर उप प्रमुख खरेलले सार्वजनिक मञ्चबाट प्रशंसा गरी जैविक मार्गको महत्व प्रशंसा गरे । भीमदत्तका नगर प्रमुख विष्टले नगर चक्रपथको सपना सार्थक बनाउन उत्तरी क्षेत्रमा जैविक धार्मिक पर्यटन मार्ग र दक्षिणी क्षेत्रमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज किनार शुक्लाफाँटा पर्यटन मार्ग निर्माण गरिएको छ । नगर प्रमुख विष्टले दुवै मार्गलाई जोडेर बाह्य चक्रपथ बनाउने योजना सुरु गर्नुभएको छ । ८३ किलोमिटर लम्बाईको बाह्य चक्रपथको ८३ किलोमिटर लम्बाइको छ । रौटेलाबाट बाह्य चक्रपथ निर्माण सुरु गरिएको छ ।

‘यो क्षेत्रमा यस्तो मार्ग बन्छ भन्ने हामीलाई लागेकै थिएन, सोच्नसमेत सकिएन’ भीनपा १ बारा कुण्डाका स्थानीय रविन्द्र कुँवरले भने, ‘यसले हामीलाई फाइदै फाइदा छ, अब गाडी चल्छन्, जग्गाको भाउ बढेको छ, चुरे जोगिएको छ, जङ्गली जनावरको डर हटेको छ, दुर्गम भन्ने पहिचान नै हट्यो ।’ घाँडीघाँच क्षेत्रलाई दुर्गम पिछडिएको भनेर विगतमा छोराहरूको विवाह गर्नसमेत समस्या हुने गरेको स्थानीय बताउँछन् । भीनपा नगर प्रमुख विष्टले आफ्नो चुनावी प्रतिबद्धताअनुसार मार्ग निर्माण गरी बस्तीलाई सुगम बनाएकोमा स्थानीयमाझ नगरप्रमुख विष्ट विकासको संवाहकका रूपमा परिचित छन् ।

घाँडीघाँच क्षेत्रका बुढाबुढी, युवा युवती, ज्येष्ठ नागरिक सबै नगरप्रमुख विष्टको विकास निर्माणका प्रशंसक बनेको छ । जैविक मार्गलाई हरियाली बनाउन किनारमा वृक्षारोपण गरिएको छ । वडा नं. ८ मा मार्ग किनारमा उद्यान निर्माण अघि बढेको छ । जैविक धार्मिक पर्यटकीय मार्गले वडा नं. १, ३, ७, ८, ९ र १० लाई एक–आपशमा जोडेको छ भने रौटेला, बाराकुण्डा, विष्णु मन्दिर धाम साकेतधाम, भम्केनी धाम, कालिताल झरना, झिलमिला र सिद्धनाथ मन्दिर जोडिएका छन् ।

जैविक मार्ग भएर भारतको पूर्णागिरी माताका दर्शनार्थीलाई रौटेलामा ल्याउने लक्ष्य राखिएको छ । त्यसका लागि नगरप्रमुख विष्टले मुसेट्टी नजिक महाकालीमा घाट सञ्चालनमा ल्याउन संघीय सरकारसित पहल गर्नुभएको छ । जैविक मार्गले जोडिने रौटेला, भम्केनी र ब्रह्मदेव पर्यटकीय गन्तव्यका रूपमा सूचीकृत छन् । सरकारले गत वर्ष एक सय नयाँ पर्यटकीय गन्तव्यको रूपमा ती स्थानलाई सूचीकृत गरेको थियो । भम्केनीमा धाममा नेपाल आमाको मूर्ति बनाउन एक करोड सहयोग गर्ने प्रतिबद्धता गरिएको छ । त्यसका लागि यस वर्ष ५० लाख रकम प्रदान गरिनेछ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया