Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधजडीबुटी र यार्सा संकलनले सकियो वन

जडीबुटी र यार्सा संकलनले सकियो वन


आशिषबहादुर सिंह
बझाङ, माघ १३
बझाङका हिमाली भेगमा २०६० साल यता यार्सा संकलन गर्ने चलनले व्यापकता पाएको छ । त्यसपूर्व फाट्टफुट्ट यार्सा संकलन भैरहेको भए पनि यसको मूल्य र महत्वका बारेमा सीमित व्यक्तिहरूले मात्र जानकारी पाएका कारण हिमाली भेगमा अहिलेको जस्तो मान्छेको चाप थिएन । २०६३ सालमा शान्ति प्रकृया सुरु भएपछि यार्सा तथा अन्य जडीबुटी संकलन गर्नका लागि हिमाली क्षेत्रमा पुग्नेहरूको संख्या ह्वातै बढ्यो ।

पछिल्लो पाँच वर्षको तथ्यांक केलाउने हो भने बझाङमा यार्सा संकलनको लागि मात्रै लेक जानेहरूको संख्या प्रतिवर्ष ४८ हजारको हाराहारीमा छ । यो वर्षको वैसाखदेखि असारसम्म मात्र ५१ हजार जना साइपाल, सुर्मा, छविस पाथिभेरा गाउँपालिका र बुङ्गल तथा जयपृथ्वी नगरपालिकाकाको हिमाली क्षेत्रमा प्रवेश गरेको स्थानीय तहको अभिलेख छ । साइपाल गाउँपालिकाका विभिन्न वनहरूमा यो वर्षको वैसाखदेखि असारसम्म मात्र आठ हजार नौ सय ४६ जना यार्सा संकलनको लागि पुगेको अभिलेख छ ।

यद्यपि धेरैजसो स्थानीय र छिमेकी पालिकाका संकलकहरू नियमित बाटोबाट प्रवेश नगर्ने भएकोले अभिलेखमा नसमेटिएको र यहाँका वनमा पुग्नेहरूको संख्या योभन्दा दोब्बर हुनसक्ने गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामीको भनाइ छ । यार्सा संकलनको लागि लेक जानेहरूले सुरुका १०/१५ दिन दाउराको लागि जंगल फाँड्ने र तीन महिनासम्म पुग्ने दाउराको जोहो गरिसकेपछि मात्र यार्सा संकलनको काम सुरु गर्ने गरेको संकलकहरू बताउँछन् ।

‘एउटा परिवारले एक ठाउँमा भएको जंगल पूरै फाँडेर सुरुमा दाउरा काट्छन्’ धलौनका एक जना यार्सा संकलक रुन्छे बोहराले भने ‘हजारौँ मान्छेले एकै पटक दाउराको लागि रुख काट्दा सिङ्गै जंगल एकै सिजनमा उजाड भैहाल्छ । अर्काे वर्ष अर्काे जंगलको पनि त्यस्तै हालत हुन्छ’, उनले यार्सा संकलनको सिजनमा हिमालमा पाइने भुँइचिमालो, भोजपत्र, चिमालो, चाँप, धुपी, लेककुयली, पङरतोलगायतका रुख र झाडी प्रजातिका बिरुवाहरू काटेर दाउराको प्रयोग गरिने बताए । यस्तै डालेचुक, मछाङ्ग्रो, कालोभोज, रयस, बायोजडी च्याङवालगायतका बोट विरुवा भएको जंगल पनि दाउरा बनाएकै कारण उजाड भैसकेको उनले बताए ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसीमोड)को कैलाश पवित्र भूपरिधि कार्यक्रमले यार्सा संकलनको कारण सामाजिक, आर्थिक र वातावरणीय क्षेत्रमा परेको प्रभावको बारेमा नेपालको दार्चुला र बझाङ जिल्लामा गरेको अध्ययनले पनि यहाँको हिमाली वन विनास भइरहेको देखाएको छ । ‘यार्सा संकलनका क्रममा खपत हुने इन्धनका कारण संवेदनशील जंगल क्रमशः नास हुँदै गएको पायौँ’ अध्ययन टोलीमा सहभागी (ईसीमोड)का सुशासन तथा संस्थागत विश्लेषक डा. विनय पसखल भन्छन् । ‘यही गतिमा हिमाली वनको दोहन हुँदै जाने हो भने वातावरणमा ठूलो प्रतिकूल असर पर्ने देखिन्छ’। अध्ययनका क्रममा प्रतिदिन एक पाल (सरदर ६ व्यक्ति)ले सरदर १२ किलोग्राम दाउरा खपत गर्ने गरेको पाइएको पसखलले बताए । संकलनको समयमा बझाङ र अन्य जिल्लाबाट आएका मानिसहरूले विभिन्न पाटनहरूमा करिब १५ हजार पाल हाल्ने गर्दछन् ।

ईसीमोडको अध्ययनलाई आधार मान्दा करिब ३ महिनासम्म पाटनमा बस्ने यी परिवारले एक सिजनमा एक करोड ६२ लाख किलोग्राम दाउरा खपत गर्ने गरेको देखिन्छ । वैसाखदेखि असारसम्म यार्सा संकलनको लागि जानेहरूकै हाराहारीमा भदौदेखि मंसिरसम्म यहाँका जंगलमा अन्य जडीबुटी संकलनको लागि मानिसहरू पुग्ने गर्दछन् । जटामसी, कटुकी, सेतकचिनी, भुतकेसलगायतका जडीबुटी संकलनका लागि बझाङका स्थानीयलगायत रुकुम, रोल्पा, सल्यान, प्युठान, दाङ, दैलेख, जाजरकोट, हुम्ला, जुम्ला, सुर्खेत, डोल्पा, दार्चुला, बाजुरालगायतका जिल्लाबाट सयौँको संख्यामा आएका मानिसहरू बझाङका लेकाली भेगमा प्रत्येक वर्ष अस्थायी क्याम्प खडा गरेर बस्ने गर्दछन् । ‘उनीहरूले खाना पकाउन र आगो ताप्नका लागि दाउराको प्रयोग त गर्छन् नै । त्योभन्दा कैयौं गुणा बढी दाउरा जडीबुटी पकाउनका लागि प्रयोग हुने गर्छ । सेतकचिनी पकाउनका लागि सिङ्गै रुख काटेर भट्टीमा जोत्ने गर्दछन्’ बुङ्गल नगरपालिकाका दहबगरका जयधन धामीले चिन्ता गर्दै भने ‘एउटै ठाउँमा सयौँ भट्टी सल्काएका हुन्छन् । आज देखिएको घना जंगल हेर्दा हेर्दै दुई/चार दिनमै नाङ्गो भैसक्छ । यस्तै हो भने दुई/चार वर्षभित्रै लेकमा रुखै नभेटिन सक्छन् ।’

गत वर्ष र यो वर्ष मात्रै बझाङका उच्च हिमाली भेगमा पर्ने विभिन्न जंगलबाट एक लाख क्वीन्टलभन्दा बढी सेतक चिनी मात्र संकलन भएको व्यापारीहरू बताउँछन् । एक किलो सेतकचिनी पकाउन सरदर चार किलो दाउरा खर्च हुने गरेको लामो समयदेखि सेतकचिनीको कारोबार गर्दै आएका साइपालका स्थानीय जडीबुटी व्यापारी ढाक्पा लामाको भनाइ छ । उनकै भनाइलाई आधार मान्ने हो भने पनि बझाङमा दुई वर्षको अवधिमा सेतकचिनी पकाउनका लागि मात्रै चार करोड किलोभन्दा बढी दाउरा खर्च भैसकेको छ । यद्यपि यो विषयमा कुनै आधिकारीक अध्ययन भएको छैन । ईसीमोडको अध्ययनमा पनि यो पाटो समेटिएको छैन । पछिल्लो समय सुकेको दाउरा पाउन छोडेपछि आलै रुख बाल्ने गरेको उनले सुनाए ।

‘सुकेको दाउरा त पाउँदै पाउँदैन’ ढाक्पा भन्छन् ‘सुरुमा भट्टीमा आगो बाल्न मात्र समस्या हो । एक पटक आगो बलिसकेपछि आलै रुख पनि हुरुरु बल्छ ।’ लेकाली क्षेत्रमा पाइने रुख विरुवाहरूमा पानीको मात्रा कम हुने भएकोले आलै काठ पनि राम्रोसँग बल्ने गरेको उनले बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया