Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसंगठित अपराध मुद्दामा फरार व्यक्ति पक्राउ

संगठित अपराध मुद्दामा फरार व्यक्ति पक्राउ


पर्सा । विष्फोटक पदार्थ, खरखजाना तथा संगठित अपराध मुद्दाका फरार व्यक्ति वीरगञ्ज महानगरपालिका–२४ बस्ने ३३ वर्षीय विवेक सिंह भन्ने फुलहसन अन्सारीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

२०७६ साउन २४ गते बेलुकी वीरगञ्ज महानगरपालिका–४ स्थित बिर्ता बजारमा तथा सोही महिनाको २८ गते बेलुकी सोही महानगरपालिका–८ घण्टाघरनजिक तरकारी बजारमा सुतली बम पड्काई भयत्रास फैलाएको तथा वीरगञ्जका उद्योगी व्यापारी र सर्वसाधारणलाई फोनबाट धम्क्याउने समेतका आपराधिक कार्यका उनी मुख्य योजनाकार थिए ।

सोही अपराधमा संलग्न वीरगञ्ज महानगरपालिका–२४ बस्ने इनुस अन्सारी, जौवाद अन्सारी, सद्दाम अन्सारीलाई २०७६ भदौ ४ गते ४ थान गोली र सुतली बमसहित पक्राउ भएकोमा जिल्ला अदालत पर्साबाट विष्फोटक पदार्थ, खरखजाना तथा संगठित अपराधअन्तर्गत कसुरमा जनही दुई वर्ष छ महिना कैद र २५ हजार जरिवाना फैसला भई कारागार कार्यालय पर्सामा कैद सजाय भोगिरहेको र फुलहसन अन्सारीको हकमा मुद्दा मुल्तबी रहेको थियो ।

उनी भारतको मुजफ्फरपुरमा पहिचान ढाँटी अंकित पटेलको नामबाट भारतीय आधार कार्ड बनाई बस्दै आएको, बेलाबखत रक्सौल आई वीरगञ्जका उद्योगी तथा व्यापारीहरूलाई फोनमार्फत धाकधम्की दिई रकम असुली गर्ने गरेको र वीरगञ्जमा घटना घटाउने योजना बनाएको भन्ने जानकारीको आधारमा भारतीय प्रहरी समेतको सहयोगमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगञ्ज रामगढवास्थित उनकै घरतर्फ आउँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

फुलहसन यसअघि २०६५ पुस ७ गते वीरगंज उपमहानगरपालिका–१३ बस्ने राजेश क्याललाई गोली हानी हत्या गरेको घटनामा पक्राउ परी अदालतबाट सर्वस्वसहित जन्मकैद ठहर भएकोमा २०७४ असोज ८ गते बाँकी कैद मिनाहा भई कारागार कार्यालय पर्साबाट कैद मुक्त भएका थिए । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया