Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसुनजस्तो देखिने पहेँलो धातुसहित पक्राउ तथा बरामद

सुनजस्तो देखिने पहेँलो धातुसहित पक्राउ तथा बरामद


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियाबाट एक सय ४९ दशमलव पाँच ग्राम सुनजस्तो देखिने पहेँलो रंगको धातुको बाला तीन थानसहित दुई जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भक्तपुर दुवाकोट बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–७ ठेगाना भएका ३३ वर्षीय समुन्द्र दंगाल र काठमाडौं बूढानिलकण्ठ नगरपालिका–१२ बस्ने संखुवासभा खाँदबारी नगरपालिका–११ ठेगाना भएका ४३ वर्षीय सन्त बिर राई रहेका छन् । समुन्द्रले सिंगापुर एयरलाइन्सको उडानद्वारा मलेसियाबाट सिंगापुर हुँदै काठमाडौं आएका यात्रुहरूलाई भन्सार छली गर्न उक्त परिमाणको धातु लुकाई छिपाई लैजान लागेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको थियो । थप सोधपुछको क्रममा उक्त कार्यमा राई समेतको संलग्नता रहेको भन्ने खुल्न आएपछि राईलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सात सय ५० ग्राम सुनजस्तो देखिने पहेँलो धातुको बाला १४ थान र सिक्री एक थान आइतबार प्रहरीले बरामद गरेको छ । सिंगापुर र मलेसियाबाट काठमाडौँ आएका यात्रुहरूलाई सुन बोकाई भन्सार छली गर्न लगाई काठमाडौं विमानस्थलमा संकलन गर्न लागेको भन्ने सूचनाको आधारमा अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले विमानस्थलको विभिन्न स्थानहरूबाट शंकास्पद १५ जना यात्रुहरूले सुनजस्तो देखिने पहेँलो धातुको बाला र सिक्री लिई आएको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको थियो ।

थप अनुसन्धानको क्रममा निजहरूलाई उक्त धातुका बाला तथा सिक्री आफूहरूको नभई मलेसियाको विमानस्थल र आसपासबाट नामथर स्पष्ट नखुलाएका व्यक्तिहरूले दिई पठाएको र उक्त सामान काठमाडौँ विमानस्थल आसपास तथा विभिन्न होटलहरूमा रिसिभ गर्न आउने व्यक्तिलाई दिनू भनेर ल्याएको खुल्न आएपछि प्रहरीले उनीहरूको साथबाट उक्त परिमाणको धातु बरामद गरेको हो ।

बरामद सुनजस्तो देखिने धातु तथा पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया