Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधनेपाल र बंगलादेशबीचको आर्थिक सम्बन्धलाई थप सुदृढ पार्नुपर्नेमा जोड

नेपाल र बंगलादेशबीचको आर्थिक सम्बन्धलाई थप सुदृढ पार्नुपर्नेमा जोड


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीबिच महासंघ सचिवालयमा भेटवार्ता भएको छ । भौगोलिक दूरीका हिसाबले जम्मा २७ किलोमिटर टाढा रहेको दुई मुलुकको व्यापारिक सम्बन्ध आशातित रुपमा बलियो हुन नसकेको विषयमा छलफल गर्दै आगामी दिनमा यसलाई सुदृढ बनाउन दुवै पक्ष प्रतिबद्ध रहेको सो अवसरमा बताइयो ।

नेपालको कुल व्यापारमा दक्षिण एसियामा बंगलादेश दोस्रो ठूलो व्यापार साझेदार रहेको तथ्यांकले देखाउँछ । तर पनि व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार पछिल्लो आर्थिक वर्षमा नेपालले जम्मा ५.७ मिलियन डलरबराबर निर्यात र बंगलादेशबाट ९०.६ मिलियन डलरबराबरको आयात गरेको थियो । यसरी हेर्दा दुवै मुलुक बीचको द्विपक्षीय व्यापारमा ठूलो व्यापारघाटा नेपालले व्यहोर्दै आएको छ ।

नेपालले हाल मुसुरो दाल, खाद्य प्रिपरेसन, गहुँको चोकर, रंगरोगनका सामग्री, वनस्पति तथा वनस्पतिजन्य वस्तुहरुलगायतका सामग्रीहरु निर्यात गर्दै आएको छ भने जुट, औषधि, विद्युतीय सामानहरु आयात गर्दछ । २०७८ असारसम्म नेपालमा कृषि तथा वनमा आधारित, ऊर्जा, आईटी, उत्पादनमूलक, खानी, सेवा र पर्यटन क्षेत्रमा गरी ७४ वटा संयुक्त लगानीका परियोजनाहरू रहेका छन् । व्यापारघाटा कम गर्न तथा आपसी आर्थिक सम्बन्धलाई थप विस्तार गर्न ऊर्जा, पर्यटनजस्ता क्षेत्रहरूमा सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा उनीहरूको जोड थियो ।

सो अवसरमा राजदूत सलाहुद्दिन नोमन चौधरीको महासंघ सचिवालयमा स्वागत गर्दै महासंघका अध्यक्ष गोल्छाले बंगलादेश कम विकसित मुलुकबाट स्तरोन्नतिको प्रक्रियामा रहेकोले सोसम्बन्धी अनुभव नेपालको लागि उपयोगी हुुने बताए । बंगलादेशले छोटो समयमा गरेको आर्थिक विकासको अध्ययन गर्न नेपाली व्यवसायीहरुको टोली स्थलमार्गबाटै भ्रमण गर्ने योजना रहेको बताउँदै अध्यक्ष गोल्छाले बंगलादेशसँग आर्थिक सम्बन्ध मजबुत बनाउन नेपाली निजी क्षेत्र लालायित रहेकाले आर्थिक कूटनीतिमार्फत सहयोग गर्न आग्रह गरे । साथै उनले व्यापारघाटालाई कम गर्न नेपालबाट ऊर्जा निर्यात बलियो स्रोत हुने बताए ।

भेटमा राजदूतले द्विपक्षीय व्यापार बढ्न नसकेकोले यसलाई गम्भीरतापूर्वक लिई सम्भावनाका पाटाहरु खोज्नुपर्ने बताए । उनले द्विपक्षीय लगानी सम्झौता हुनुपर्नेमा जोड दिए । स्थलमार्गका साथसाथै हवाइमार्गबाट पनि नेपालको विराटनगर विमानस्थल र बंगलादेशको विमानस्थलबीच सिधा हवाइसेवा सञ्चालन गर्न सकिने सम्भावना औँल्याए । साथै उनले आफ्नो तर्फबाट आपसी आर्थिक सम्बन्ध विस्तारका हरेक प्रयास र दुवै देशका निजी क्षेत्रबीचको आपसी सम्बन्धलाई थप सुदृढ बनाउने दिशामा राजदूतावासको सदैव सहयोग रहने विश्वास दिलाए । भेटवार्तामा महासंघका उपाध्यक्षद्वय अञ्जन श्रेष्ठ र रामचन्द्र संघाई तथा कार्यकारिणी समिति सदस्य एवं व्यापार समिति सभापति विजयसिंह वैद्यको उपस्थिति रहेको महासंघले जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया