Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधबढी भाडा लिनेलाई धमाधम कारबाही गर्दै ट्राफिक प्रहरी

बढी भाडा लिनेलाई धमाधम कारबाही गर्दै ट्राफिक प्रहरी


काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलक्षित विशेष अप्रेसन थालेको छ । चाडपर्व मनाउन उपत्यकाबाट बाहिर जाने यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिन खोजेको आरोपमा सात जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

चाडपर्वको समयमा यात्रुहरूसँग टिकट काउन्टरको कर्मचारी हुँ भनी पोसाक तथा परिचयपत्र साथमा नलिई अनधिकृत रूपमा भाडा उठाई बिचौलियाको काम गर्ने सात जनालाई सोमबार बिहानै नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए । सो आरोपमा कोटेश्वर एरियाको काउन्टरबाट खोटाङ ऐँसेलुखर्क–३ का भिम निरौला र रञ्जित श्रेष्ठ, बल्खु एरियाको काउन्टरबाट सिन्धुलीका हरि कार्की, चितवनका सुदर्शन पाण्डे, बारा कलैयाका एल एक्स चौधरी, मकवानपुर भिमफेदीका प्रेम घिमिरे र बारा जितपुरका विशाल लामा पक्राउ परेका हुन् ।

भट्टराईले दशैँ, तिहार मनाउन घर जानेहरूको अरु समयमा भन्दा यतिखेर बढी नै हुने हुँदा महाशाखाले विशेष निगरानी तथा अनुगमन टोली बनाएर सक्रियताका साथ काम गरिरहेको जानकारी दिए । उनले यात्रु ठगीका घटना रोक्न विशेष अभियान चलाएको तर प्रहरीको आँखा छलेर ठगीमा परिएको स्वयं यात्रुले गुनासो गरे ट्राफिक प्रहरी खटाई तुरून्तै कारबाही गर्ने पनि बताए । ठगी, बढी भाडा लिने, दोब्बर भाडामा टिकट काट्नेलगायतको काम हुनसक्ने भन्दै महाशाखाले पीडित सहायता कक्षबाट सादा पोसाकमा प्रहरी टोली परिचालन गरी आफैँ यात्रु बनेर कारबाही अभियान चलाइरहेको छ । पक्राउ पर्ने व्यक्तिहरूलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्तहरूमा बुझाएको ट्राफिक प्रहरीले जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया